News Summary
Generated by OK AI. Editorially reviewed.- सन्तुलित खानपान, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव कम गर्ने बानीले रक्तचाप नियन्त्रणमा मद्दत गर्न सक्छ।
अहिले उच्च रक्तचापको समस्याबाट ठूलो संख्यामा मानिसहरू प्रभावित छन् । धेरैले औषधिको सहायताले आफ्नो रक्तचाप नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यो समस्या सामान्य लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । लामो समयसम्म रक्तचाप बढिरहँदा मुटुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यसले हृदयाघातजस्ता समस्याको जोखिमसमेत बढाउँछ ।
पहिले उच्च रक्तचापको समस्या विशेषगरी वृद्धवृद्धामा बढी देखिन्थ्यो । तर अहिले युवाहरू पनि यसको जोखिमबाट सुरक्षित छैनन् । त्यसैले सबैले समयमै आफ्नो जीवनशैलीमा सुधार गर्नु आवश्यक छ । यसो गर्दा रक्तचाप नियन्त्रणमा राख्न र स्वस्थ रहन मद्दत मिल्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्न अपनाउनु पर्ने यी स्वस्थ जीवनशैली:
यदि तपाईंको रक्तचाप बारम्बार बढिरहन्छ भने जीवनशैलीमा केही परिवर्तन गर्नु आवश्यक हुन्छ । नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युट (एनएचएलबीआई) का अनुसार, सन्तुलित खानपान, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव कम गर्ने बानीले रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्न सक्छ।
१. स्वस्थ खाना खाने
आफ्नो खानामा मुटुलाई स्वस्थ राख्न र रक्तचाप कम गर्न मद्दत गर्ने खानेकुरा समावेश गर्ने । यसका लागि ड्यास डाइट योजना अपनाउन सकिन्छ । यसमा फलफूल, सागसब्जी, साबुत अन्न र कम चिल्लोयुक्त दुग्धजन्य पदार्थ समावेश हुन्छन् ।खानामा नुनको मात्रा कम गर्नुपर्छ किनकि धेरै नुन खानाले रक्तचाप बढ्न सक्छ।
२. मदिरा सेवन नगर्ने
यदि तपाईंलाई उच्च रक्तचापको समस्या छ भने मदिरा सेवन नगर्नु वा यसको मात्रा घटाउनु राम्रो हुन्छ । अत्यधिक मदिरा सेवनले रक्तचाप बढाउन सक्छ । यदि मदिरा सेवन गर्ने बानी छाड्न गाह्रो छ भने यो बानी छोड्न चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
३. धूम्रपान छाड्ने
चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन अहिले सामान्यजस्तै बनेको छ। तर यी स्वास्थ्यका लागि निकै हानिकारक छन्। धूम्रपानले मुटु र रक्तनलीमा क्षति पुर्याउन सक्छ। यसले रक्तचाप बढाउनुका साथै मुटुसम्बन्धी रोगको जोखिम पनि बढाउँछ।
यदि तपाईं धूम्रपान गर्नुहुन्छ भने यो बानी छोड्ने प्रयास गर्नुहोस्। सुरुमा गाह्रो हुन सक्छ, तर विशेषज्ञको सहयोग लिएर यो बानी त्याग्न सकिन्छ।
४. तौल नियन्त्रणमा राख्ने
यदि शरीरको तौल बढी छ भने बिस्तारै घटाउने । बढी तौल हुँदा उच्च रक्तचापको जोखिम बढ्न सक्छ । शरीरको कुल तौलको ३ देखि ५ प्रतिशतसम्म घटाउँदा पनि रक्तचापमा सुधार आउन सक्छ ।
५. दैनिक व्यायाम गर्ने
रक्तचाप नियन्त्रणमा राख्न शरीरलाई दैनिक सक्रिय बनाउनु आवश्यक छ । यसका लागि हिँड्ने, साइकल चलाउने वा हल्का व्यायाम गर्न सकिन्छ । सुरुमा दैनिक १० मिनेट हिँड्नु पनि फाइदाजनक हुन सक्छ । लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्ने बानीबाट बच्नुपर्छ । कुनै नयाँ व्यायाम सुरु गर्नुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।म
६. तनाव व्यवस्थापन गर्नुहोस्
लगातार तनावमा रहँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। त्यसैले आफूलाई शान्त र खुसी राख्ने प्रयास गर्नुहोस् ।
यसका लागि दैनिक ध्यान गर्ने, योग अभ्यास गर्ने र गहिरो सास फेर्ने अभ्यास गर्न सकिन्छ। यदि तनाव धेरै छ भने परामर्शदातासँग कुरा गर्नुहोस्। आफूलाई बुझ्ने र साथ दिने व्यक्तिहरूसँग समय बिताउनु पनि उपयोगी हुन सक्छ।
७. पर्याप्त र गुणस्तरीय निद्रा लिने
उच्च रक्तचाप नियन्त्रणमा राख्न दैनिक ७ देखि ९ घण्टा राम्रो निद्रा लिनु आवश्यक हुन्छ । यसका लागि हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस्। सुत्नुअघि मोबाइल र टेलिभिजनबाट टाढा रहनुहोस् । किनकि यस्ता उपकरणको प्रयोगले निद्रामा असर पार्न सक्छ।
ध्यान दिनुपर्ने कुरा
जीवनशैलीमा सुधार गर्नु उच्च रक्तचाप नियन्त्रणको महत्त्वपूर्ण उपाय हो । तर चिकित्सकले दिएको औषधि आफैँले बन्द गर्नु हुँदैन । नियमित रूपमा रक्तचाप जाँच गराएर चिकित्सकको परामर्श लिइरहनुपर्छ ।
प्रतिक्रिया 4