४ असोज, काठमाडौं । उपप्रधानमन्त्री एबं गृहमन्त्री बामदेव गौतमले आफ्नो ऐतिहासिक अभिभारा पूरा भएको भन्दै सरकार छाड्न आतुर रहेको बताएका छन् ।
गृहमन्त्री र सभासदको हैसियतमा संविधान जारी गर्ने ऐतिहासिक दायित्व आफूले निर्वाह गरेको भन्दै गौतमले अब संविधानबमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताए ।
अनलाइनखबरसँग कुरा गर्दै एमाले उपाध्यक्ष समेत रहेका मन्त्री गौतमले भने-‘मेरो ऐतिहासिक अभिभारा पूरा भएकाले अब म जतिसक्यो छिटो सरकारबाट बिदा हुन चाहान्छु ।’
गौतमले संविधान जारी गर्ने अभिभारा बोकाएर पार्टीले आफ्नो नेतृत्वमा सरकारमा पठाएका मन्त्रीहरुलाई पनि सहयोगका लागि धन्यवाद दिएका छन् ।
गौतमले भने-पार्टीले दिएको जिम्मेवारी हामीले पूरा गरेका छौं, अब संविधानबमोजिम र दलहरुको सहमतिबमोजिम चाँडो राष्ट्रिय सहमतिको सरकार गठनतर्फ अघि बढ्नुपर्छ ।
गौतमले एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सरकारले संविधानको रक्षा, कार्यान्वयन र प्रवर्द्धनमा सिंगो मुलुकलाई एक ढिक्का बनाएर लैजाने विश्वाससमेत व्यक्त गरे ।
प्रतिक्रिया 4