+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
१०३ बलमा ११८ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
12/2 (2.5)
Shares

कविता-मेरी आमा

मेरी आमा गुनगुनाउँदा
वनमा सल्लाका रुखहरु सुसाउँथे रे
सुस्तरी बतास चल्दा डाँँडापाखाबाट
बुकीफूलको हरर बास्ना डुलिआउँथ्यो रे
पहराहरु पनि राष्ट्रिय गीत गाउँथे रे
मेरी आमा सुसेल्दा
वन, जङ्गल, खोला, पहरा सबै रमाउँथे रे १
मेरी आमा नाच्दा
खोलानाला बग्न बिर्सिएर रमिते हुन्थे रे
आमासँगै हरेक बिहानी झरनाहरु
इन्द्रेणीको सप्तरङ्गी माला उनिबस्थे रे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २१ गते १२:४३

जानु काम्बाङ लिङ्देन

Sibirma-Isworमेरी आमा गुनगुनाउँदा
वनमा सल्लाका रुखहरु सुसाउँथे रे
सुस्तरी बतास चल्दा डाँँडापाखाबाट
बुकीफूलको हरर बास्ना डुलिआउँथ्यो रे
पहराहरु पनि राष्ट्रिय गीत गाउँथे रे
मेरी आमा सुसेल्दा
वन, जङ्गल, खोला, पहरा सबै रमाउँथे रे १
मेरी आमा नाच्दा
खोलानाला बग्न बिर्सिएर रमिते हुन्थे रे
आमासँगै हरेक बिहानी झरनाहरु
इन्द्रेणीको सप्तरङ्गी माला उनिबस्थे रे ।

झुल्के घामको पहिलो किरणसँगै आमा
मयुरसँग कत्थक सिक्थिन् रे
डाँफेसँग कञ्चन माया गाँस्थिन् रे
मुनालसँग लोकभाकामा बोल्थिन् रे
उनेर थुप्रै-थुप्रै लोकगीत
लोकलयमै नाच्थिन् रे/गाउँथिन् रे
आमाको सुन्दर गीत सुनेर प्रकृतिको काखमा
साना-साना बाख्रा पाठापाठीहरु खेल्न आउँथे रे
मेरी आमाले मलाई जस्तै
तिनीहरुलाई पनि माया बाँड्थिन् रे
खेलाउँथिन् रे/सुम्सुम्याउँथिन् रे
ममताले चुम्दै म्वाइँ खान्थिन् रे
किरा फट्याङ्ग्राले सङ्गीत गरेका गीतहरुमा
मिठो भाका भर्थिन् रे
ओढारको कापमा झुन्डिएर
लार्भा कोरल्दै गरेको
सुत्केरी पुतलीको प्रसव पीडा भुलाउन
आमा वरिपरि आएर
भाले पुतलीहरु रमाई रमाई नाच्थे रे ।

मेरी आमा
घरि तल्लो गरा, घरि माथ्लो गरामा
कम्मर मर्काई मर्काई नाच्थिन् रे
अम्बक, सुन्तला
र भोगटेका बोटहरु दर्शक बन्थे रे
भर्लाका पात, काभ्रा र लाकुरीका बोटहरु
विशाल पहराको छातीमा
झुन्डिएर सुस्तरी ताली बजाउँथे रे
प्रकृतिकी चेली मेरी आमा
हरेक कदममा सफल हुन्थिन् रे
मेरो जस्तो आमाको सपना
कहिल्यै अधुरो हुन्न थियो रे ।

मेरी आमाले
धर्ती बनेर आकाशसँग प्रेम गर्ने
रहर कहिल्यै गरिनन् रे
उनलाई थाहा थियो रे
ती आकाश र तारा हुन्
र उनीहरु त्यहीँ ठीक छन्
नबुझेरै छाडिदिइन् रे
कतिपय आधुनिक कुराहरु ।

मोबाइल कुन चराको नाम हो
मेरी आमालाई कहिल्यै थाहा भएन रे
अनि केको खिच्नु सेल्फी
केको गर्नु फेसबुक च्याट
र, माया लाउनु अञ्जान सोल्टीसित ।
आमाको ‘ब्लाक एण्ड हृवाइट’ जमाना
उसै-उसै सुन्दर थियो रे
मधुमालतीकोे जीवन र चलचित्र जस्तै ।

मेरी आमा
बरु ठूलठूला रुख चढथिइन् रे
छिमलेर भारीका भारी
डालेघाँसका हाँगाहरु झार्थिन् रे
आदिवासी किरातीकी छोरी मेरी आमा
पूजा गर्दै प्रकृतिको माङको आँगनमा
सहर्ष आराधना नाच्थिन् रे
पालाम र ख्याली गाउँदै
च्याब्रुङको तालमा ताल मिलाई
धरतीसित माया लाउँदै
धाननाच नाच्थिन् रे अनि छुट्ने बेला
दस औँला जोडी गर्थिन् रे
आसेवारो ! सेवा !! माङ सेवारो !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?