३ वैशाख, पोखरा । विनाअक्सिजन भूमि समाधिमा बसेका सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराजलाई शुक्रबार सकुशल बाहिर निकालिएको छ ।
चैत २६ गते साँझ ६ः३० बजेबाट पोखरा रामघाटस्थित मन्दिरमा भूमि समाधिमा बसेका उनी ९ दिनपछि शुक्रबार पूर्वान्ह १० बजेर २० मिनेटमा बाहिर निस्केका हुन् ।
भूमि समाधिबाट सिद्धबाबालाई निकाल्न पूर्वान्ह ९ बजेर ३५ मिनेटबाटै शुरु गरिएको थियो । समाधिलाई पूर्ण रुपमा माटोले पुरेका कारण निकाल्न झण्डै ४५ मिनेट लागेको थियो ।
समाधिबाट निकाल्दा सिद्धबाबा पूर्णरुपमा पसीनाले भिजेका थिए । उनलाई शुरुमा सिद्धबाबाको समाधिस्थ हुनुअघिको आज्ञाअनुसार नै उनका प्रथम चेला गोविन्द बाबा शर्माले जलार्पण गरेर तिलक लगाउनुका साथै कुम, कानको दुवैतिर र शीरमा पञ्चामृत छर्किए । त्यसपछि सिद्धबाबा कसैसँग नबोली आफैं उठे र पञ्चामृत ग्रहण गरे ।
लगत्तै डा.कालु शर्मा, डा.नारायण गौतमलगायतको चिकित्सकको विशेषज्ञ टोलीले सिद्धबाबाको स्वास्थ्य परीक्षण गरे । स्वास्थ्य परीक्षणमा सिद्धबाबाको सम्पूर्ण स्वास्थ्य सामान्य रहेको चिकित्सकको टोलीले निश्कर्ष निकाल्यो ।
त्यसपछि मात्रै सिद्धबाबाले समाधिबाहिर निस्केको हेर्न पुगेका हजारौं दर्शकलाई समाधि बसेकै घरको पहिलो तल्लाको कौशीबाट दर्शन दिए । उनले हात हल्लाएर सबैलाई अभिनन्दन गरे । तर, उनी कसैसँग बोलेनन् ।
उपस्थित भक्तजनलाई स्वास्थ्य परीक्षणको नेतृत्व गरेका डा.कालु शर्माले सिद्धबाबाको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । उनले भने,-‘समाधिमा वस्नुअघि पनि हामीले उहाँको स्वास्थ्य परीक्षण गरेका थियौं, अहिले समाधि सकिएपछि पनि स्वास्थ्य परीक्षण गर्यौं, उहाँको स्वास्थ्य समाधिमा बस्नुअघि जस्तो थियो अहिले पनि त्यस्तै छ, अर्थात नर्मल ।’
अक्सिजनबिना भूमि समाधिमा बसेर सिद्धबाबाले आश्चर्यमा पारेको शर्माले बताए । उनले अहिलेसम्म असम्भव रहेको कुरा सम्भवमा परिणत गरेको बताए ।
यसअघि चैत २६ गते साँझ साढे ६ बजेदेखि भूमिसमाधिमा बस्नुअघि सिद्धबाबाले राष्ट्र र मानव कल्याणका लागि आफू भूमिसमाधिमा बस्न लागेको बताएका थिए । उनले आफूलाई ९ दिनपछि मात्रै भूमिसमाधिबाट निकाल्न आग्रह गर्दै भनेका थिए-‘मलाई वैशाख ३ गते बिहान १०ः१५ बजेभित्र निकालिसक्नुपर्नेछ, अन्यथा मलाई जे पनि हुन सक्छ ।’
सिद्धबाबालाई समाधिमा बस्नका लागि ५ फिट लम्बाइ र ३ फिट चौडाइको काठको बाकस बनाइएको थियो, जहाँ उनी अचेत अवस्थामा सुतेका थिए । जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसमा ४ वटा साँचो लगाइएको थियो ।
बाकसको माथिल्लो भागमा बालुवा माटोले पुरिएको थियो । त्यसमाथि जमरा लगाइएको थियो । उनी समाधिमा बस्ने स्थानमा पुग्न ३ वटा कोठाको ताला खोलेर पुग्नुपर्ने थियो । जसलाई प्रहरीले २४ सै घण्टा सुरक्षा दिएको थियो ।
‘भित्र पसेर हेर, माथि उठेर सोच’ भन्ने आहृवानका साथ राष्ट्रको सम्पन्नताका लागि भन्दै सिद्धबाबाले भूसमाधि लिएका हुन् ।
सिद्धबाबाले हरेक वर्ष चैते दसैं तथा वडादसैंमा विशेष साधना गर्दै आएका छन् । उनी पहिलोपटक ०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधि बसेका थिए ।
यसैबीच, सिद्धबाबालाई रथारोहणसहित शनिबार अभिनन्दन गरिने भएको छ । समाधि बसेको ठाउँ रामघाटबाट नारायणस्थान मन्दिर नदीपुरसम्म ध्वजासहितको रथारोहण गरिने र नारायणस्थान मन्दिरमा अभिनन्दन गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4