सामान्यतः जेल भन्नेबित्तिकै ठूलो पर्खालको भित्रपट्टी कुचुक्क परेको सानो स्थान, फोहोर र गनाउँने ठाउँ भन्ने हाम्रो दिमागमा आउँछ । तर दुनियाँमा यस्तो जेल पनि छ कि जहाँ कन्फ्रेन्स रुम, प्लाज्मा स्क्रिन टेलिभिजन, लाइब्रेरी र किचजस्ता सुविधा उपलब्ध छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार पाराग्वेको जेलमा एक कैदीको तीन कोठाको कक्षमा पुलिसले छापा मार्दा यस्तो सुख सुविधाको बारेमा पत्तो लागेको हो ।
यसमा ब्राजिलको ड्रग्स माफिया जर्विस चिमेनेस पवाओ आफ्नो सजायँ काटिरहेका थिए । पुलिसको छापापछि कैदीको यस शानदार कक्षलाई नष्ट गरिएको छ ।
ड्रग्स ओसारपसारमा दोषी पाइएपछि जेल सजायँ काटिरहेका पवाओले जेलको मूख्य द्वारमा बारुदले उडाएर भाग्ने योजना बनाइरहेको सूचना प्रहरीलाई आएपछि उनको कक्षमा छापा मारेको थियो ।
ड्रग्स ओसारपसारको आरोपमा जेलमा परेका पवाओको सजायँ आगामी बर्ष सकिँदै थियो । त्यसपछि उनलाई ब्राजिल सुपुर्दगी गर्ने बारेमा सुनुवाइ हुँदै थियो ।
ताकुम्बुको जेलको आलिसान कक्षबाट टाढा अव उनलाई राजधानी आसुनसियानको नजिकै पर्ने एक बिशेष युनिटमा राखिएको छ ।
अदालतबाट प्रमाणित भएर जेलमा बसेको अपराधीलाई यस्तो सुविधा पाराग्वेका कुन अधिकारीले उपलब्ध गराए भन्नेबारे अनुसन्धान भइरहेको छ ।
ताकुम्बु जेलका अन्य कैदीहरुका अनुसार जेलभित्र भएको यस आलिसान कक्षमा रहनका लागि अन्य कैदीले पवाओलाई सयौं डलर भाडा बुझाउनुपर्थ्यो । जेलका एक कैदी एन्टोनियो गोन्जालेजले भने, ‘जेलभित्र सबैजना उनलाई मायाँ गर्थे ।’
जेलमा पवाओको कक्षमा एयर कण्डिसन, आरामदायी सोफा, छुट्टै बाथरुम र डिभिडी कलेक्सनजस्ता सुविधा उपलब्ध थियो ।