Comments Add Comment

लोकमानबारे संसदमा आलटाल, कार्यविधि पनि बनेन

mahendra-bahadur-shahi-in-parliament
संसद बैठकमा महाअभियोगका प्रस्तावक सांसद महेन्द्रबहादुर शाही । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर

२६ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा भइरहेको छलफल थप लम्बिने भएको छ ।

एमाले र माओवादीका १५७ सांसदले कात्तिक ३ गते कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसको चार दिनपछि संसदमा यो प्रस्ताव पेश भएको थियो । तर, तिहारअघि ९ गतेको बैठकमा झण्डै दुई घन्टा मात्रै छलफल गरेर स्थगित भएको संसद बैठक शुक्रबार बल्ल बसेको छ ।

तर, महाअभियोग प्रस्तावमा बोल्न चाहने सांसदहरुको सूची लामो बनाइएकाले शुक्रबारको बैठकमा छलफल सकिने सम्भावना छैन । साथै संसदको अर्काे बैठक कात्तिक २९ गते मात्रै बस्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

सभामुख रुस जाने तयारी

मंसिरको पहिलो साता सभामुख ओनसरी घर्तीमगर एक साताका लागि रसिया भ्रमणमा जाने कार्यक्रम छ ।

यसअघि सभामुखको टोली नर्वे भ्रमणको तयारीमा थियो । तर, संसदमा लोकमानविरुद्ध महाअभियोग दर्ता भएपछि उनको भ्रमण रद्द भएको थियो ।

यदि संसदमा प्रारम्भिक छलफल सकिएको भए महाअभियोग सिफारिस समितिमा छानविनका लागि जान्थ्यो । तर, संसदले छलफल लम्ब्याएपछि महाअभियोगबारे संसदले निर्णय लिन निकै समय लाग्ने देखिएको छ ।

कार्यविधि नै बनेन

संसदमा छलफल लम्बिँदै गर्दा महाअभियोग सिफारिस समितिले पनि अझै कार्यविधि पास गर्न सकेको छैन ।

शुक्रबार बसेको समितिको बैठकमा उपसिमितिले बनाएको प्रतिवेदनको मस्यौदामाथि छलफल भए पनि टुंगो लागेन । र, कार्यविधिको मस्यौदा अध्ययनका लागि समिति सदस्यलाई वितरण गरिएको छ । अब प्राप्त सुझावका आधारमा अन्तिम रुप दिइने समिति सदस्य अमनलाल मोदीले जानकारी दिए । समितिको अर्को बैठक मंसिर २ गतेका लागि बोलाइएको छ ।

कात्तिक ३ गते गठन भएको ११ सदस्यीय महाअभियोग सिफारिस समितिले अहिलेसम्म सभापति समेत छान्न सकेको छैन । हाल समितिकी जेष्ठ सदस्य कुमारी लक्ष्मी राईको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment