५ मंसिर, दुहवी । सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् ।
विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् ।
धेरै संख्यामा आएका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् ।
स्थानीयले हुसेनको शवलाई गाडीमा राखेर सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ ।
दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजरसमेत रहेका हुसेनको बुधबार विहान साढे ६ बजे गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए । हुसेनलार्इ उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’
मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् ।
स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ ।
मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समुदायका अगुवाले चिन्ता व्यक्त गरेका छन् ।
यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया 4