Comments Add Comment

गुल्मीमा भत्किएको पुल हेरेर फर्किए श्रम मन्त्री, अब विज्ञ टोली आउने

पुल भत्किँदा घाइते ५ मध्ये १ को अवस्था गम्भीर

४ वैशाख, गुल्मी । गुल्मीको बडिगाड खोलामा भत्किएको पुलबारे विज्ञ टोलीले अनुसन्धान गर्ने भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका– ७ र ३ जोड्न झेंदीस्थित बडीगाड खोलाको निर्माणाधीन पुल गत आइतबार ढलान गर्ने क्रममा भत्किएको थियो । जसमा घाइते ५ मध्ये  १ जनाको अवस्था गम्भीर छ ।

कुल पाँच करोड १७ लाख ८४ हजार रुपैयाँमा लागतमा निर्माण हुन लागेको ५८ मिटर लम्बाइको पुल भत्किएकोबारे अनुसन्धान गर्न विज्ञसहितको टोली गुल्मी आउन लागेको पूर्वाधार विकास कार्यालय, गुल्मीका प्रमुख इञ्जिनियर विनोद चौधरीले जानकारी दिए ।

पुल ढलान गर्ने क्रममा पर्याप्त मात्रामा टेकाहरु नभएको र खोलामा पानीको मात्रा बढेका कारण पुल भात्किएको हुनसक्ने अनुमान गरिएको पूर्वाधार विकास कार्यालय, गुल्मीका प्रमुख इन्जिनियर चौधरीले बताए ।
अब यसबारे विज्ञ टोलीले विस्तृतमा अध्ययन गर्ने उनले जानकारी दिए ।

निर्माणाधीन पुल भत्किएपछि जनप्रतिनिधिहरु रुष्ट बनेका छन् । मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले डिजाइन गर्ने प्राविधिकहरूकै कमजारीले पुल भत्किएको दाबी गरे । पुल निर्माणको चरणदेखि नै डिजाइनबारे ध्यानाकर्षण गराए पनि सम्बन्धित पक्षले चासो नदिएकाले यस्तो परिणाम आएको उनको भनाइ छ । ‘डिजाइन परिवर्तन, बीच भागमा पिल्लर नराख्नुलगायत कमजोरीले पुल भत्किएको हो’, नगर प्रमुख सापकोटाले भने ।

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)अन्तर्गत पुल निर्माण अघि बढेको थियो । जसको म्यादसमेत सकिइसकेको छ । पूर्वाधार विकास कार्यालय, गुल्मीका अनुसार निर्माणको अवधि सकिए पनि म्याद थप गरिएको छैन ।

पुल बन्छ : ढुक्क हुनुस्

निर्माणाधीन पुल भत्किएको विषयको चर्को आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले त्यसको स्थलगत अवलोकन गरेका छन् । अवलोकनपछि उनले पुल भत्कनुमा निर्माण पक्षकै कमजोरी रहेको प्रतिक्रिया दिए ।

‘निर्माणा कम्पनकीकै कमजोरीले पुल भत्किएकाले यही पक्ष यसमा जिम्मेवार हुनुपर्छ’, श्रममन्त्री विष्टले भने ।
उनले भत्किएकै स्थानमा पुल बन्ने भन्दै स्थानीयलाई आश्वस्त पारे । ‘पुल भत्किएपछि अब बन्दैन कि भन्ने चिन्ता तपाईंहरुमा पलालएको हुन सक्छ’, मन्त्री विष्टले भने, ‘पुल भत्किएकै स्थानमा बन्छ । ढुक्कु हुनुहोस् ।

घाइतेमध्ये १ को अवस्था गम्भीर

निर्माणाधीन पुल भत्किँदा गत आइतबार ५ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाका अनुसार निर्माण व्यवसायी ५२ वर्षीय ऋषिराम इटनीको अवस्था गम्भीर छ ।

अन्य ४ घाइते मसिकोट नगरपालिका–३ का २३ वर्षीय रामबहादुर कुमाल, सोही वडाकै ३३ वर्षीय गणेश कुमाल, ५१ वर्षीय रुद्रबहादुर कार्की, बाग्लुङ जिल्ला बढिगाड गाउँपालिका वडा ७ का २७ वर्षीय तुलबहादुर रानाको अवस्था भने सुधारोन्मुख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment