४ वैशाख, काठमाडौं । मंसिर अन्तिममा कोलकत्तामा बरामद भएको ३३ किलो सुन नेपालबाट गएको दाबी गलत सावित भएको छ ।
भारतीय भारतको राजश्व अनुसन्धान विभाग (डीआरआई), कोलकताले उक्त सुन भुटानबाट आएको प्रतिवेदन तयार पारेको छ । विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुसार कान्ती विश्वासद्वारा हस्ताक्षरित विवरणमा सुन भुटानबाट आएको भनिएको हो ।
भारतको कोलकता जाने क्रममा २१ मंसिरमा धन्कुनी टोल प्लाजामा डब्लुबी ७४ एडी ६८२० नम्बरको मारूती भ्यानमा ३३ किलो सुन बरामद भएको थियो । भ्यानमा सवार हेमप्रसाद शर्मा र राकेश प्रसाद पक्राउ परेका थिए ।
त्यसबारे खबर सार्वजनिक हुनासाथ नेपालमा साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गरेको समितिले चासो देखाएको थियो । समितिको म्याद सकिएको चार महिना भइसकेको अवस्थामा समितिका अधिकारीले नेपालमा हराएको सुन भेटिएको हुनसक्ने बताएका थिए । भारतमा पक्राउ परेका दुई व्यक्तिको नाम आफ्नो अनुसन्धानको दायरामा आएका व्यक्तिसँग मिलेको उनीहरुको दाबी थियो ।
चुडामणि उप्रेती ‘गारे’ समूहले यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन हराएको थियो । सुन हराएपछि गोरे समूहले दिएको यातनाका क्रममा सनम शाक्य मृत्यु भएपछि सुनकाण्डबारे छानविन भएको थियो ।
त्यसक्रममा चार वर्षमा साढे ३८ क्विन्टल सुन विमानस्थलबाट तस्करी भएको खुले पनि हराएको भनिएको साढे ३३ किलो सुन भने भेटिएको थिएन । जुन कारण समिति आलोचित भइरहेको थियो । त्यसैले भारतमा भेटिएको सुन नेपालबाट हराएको हुनसक्ने समितिको दाबी थियो ।
तर, डीआरआईको अनुसन्धानबाट हेमप्रसाद, विहारको अररिया एसके रोड निवासी रहेको देखिएको छ भने राकेशको ठेगाना दार्जिलिङको चन्दमरी मित्र रोड खुलेको छ । जबकी, सुरुमा राकेशले आफू नेपाली मुलको भएको बयान दिएका थिए ।

जब दुई जनाले आफू असुरक्षित रहेको बताए..
डीआरआईको रिपोर्टअनुसार सिलगुढीबाट रोकेश र नेपाली नागरिकले ठूलो परिणाममा भुटानबाट अवैध सुन ल्याउँदै गरेको सूचना प्राप्त भएपछि अपरेशन थालिएको थियो । कसैलाई शंका नलागोस् भनेर भ्यानको अगाडि–पछाडिको सिसामा डाक्टरको संकेत राखिएको सूचना थियो, जसको आधारमा धन्कुनी रोडमा बसेको टोलीले साँझ साढे ७ बजे शंकास्पद गाडी भेटेको थियो ।
प्रहरी–शंकास्पद भ्यान आमनेसामने हुने वित्तिकै दुई जना व्यक्ति गाडीभित्र अस्वभाविक देखिए । सोधपुछ गर्दा उनीहरुको विवरण डीआरआईका अधिकारीले पाएको सूचनासँग मेल खान्थ्यो ।
‘सूचना अनुसार सबै विवरण मिलेपछि हामीले केही अवैध सामान बोकेका छौं भनेर सोधेका थियौं’, रिपोर्टमा भनिएको छ, ‘प्रारम्भमा दुवैले इन्कारी जवाफ दिएका थिए ।’ तर, उनले ३३ किलो सुन बोकेको कुरा लामो समयसम्म लुकाउन सकेनन् । अन्ततः अनुसन्धानमा सघाउन दुवै राजी त भए तर, एउटा सर्त तेस्र्याए । हेमप्रसाद र राकेशले सुरक्षाको कारण देखाउँदै डीआरआईका उच्च अधिकारीको उपस्थितिमा अन्यत्रै खनतलासी लिन आग्रह गरे ।
अपरेशनमा खटिएका अधिकारीले उनीहरुको सर्त माने र राति करिब ९ः२० बजे कोलकतास्थित डीआईआईको कार्यालयमा उनीहरुको खनतलासी लिइएको जनाइएको छ ।
दुवैलाई डीआरआईका अधिकारीले आफूसँग भएको सबै चिज निकाल्न भने तर, दुवैले अस्वीकार गरे । त्यसपछि डीआरआईका अधिकारीले दुई जना स्वतन्त्र व्यक्तिलाई साक्षी राखेर खनतालासी लिए । त्यसक्रममा गाडीको गियर बक्स मुनि सुन ओसार्नका लागि बनाइएको बाकसमा ३३ वटा सुनको ढिक्का भेटियो ।
हेनुस् भिडियो
विमानस्थलबाट सुन आउन छाडेको दाबी
कोलकता सुनमा समातिएको समाचार भारतीय सञ्चारमाध्यममा आएलगत्तै नेपालमा हराएको सुन हुनसक्ने दाबी गरेको समिति अहिले मौन छ ।
त्यसवेला समितिका अधिकारीले कूटनीतिक पहल गरेर सुन र व्यक्ति दुवैलाई नेपाल ल्याउन पहल गरिने दाबी गरेका थिए । हाल अनलाइनखबरको सम्पर्कमा आएका सुन समितिका एक अधिकारीले भने कुनै आधार नभई भारतमा समातिएको सुन नेपालबाट गएको दाबी नगरिएको बताए ।
शाक्यको डायरीमा उनीहरुको नाम भेटिएको स्मरण गराउँदै ती अधिकारीले अन्य थुप्रै सहयोगी प्रमाण रहेको दाबी गरे । तर, डीआरआईको रिपोर्टबारे सोध्दा उनले अनविज्ञता प्रकट गरे । ‘हामी कहाँ कुनै रिपोर्ट वा जानकारी आएको छैन’, समितिका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले कूटनीतिक बाटोबाट पक्राउ परेकामाथि अनुसन्धानका लागि पहल गरिरहेका छौं ।’
उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने सुन तस्करीको सेटिङ ध्वस्त भएको दाबी गरे । ‘हाम्रो अनुसन्धानपछि अहिलेको मितिसम्म विमानस्थलमा संगठित गिरोहले सुन तस्करीको लाइन खोल्न सकेको छैन’, उनले भने, ‘तर, अनुसन्धान र निगरानी निरन्तर जारी राखिनुपर्छ । कुनै पनि बेला तस्करले मौका उठाउन सक्छन् ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4