+
+

सेलिब्रेटी फेसनः निर्णयको हिपहप, नविनको क्याप

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते ९:०१

केही यस्ता सेलिब्रेटी छन्, जसलाई उनीहरुको फेसन स्टाइलले पनि चिनिन्छन् । जस्तो, निर्णय श्रेष्ठ । ‘हाम्रो गाउँले जीवन’ फेम गायक निर्णय भाङ्ग्रे पाइन्ट, लुज टिसर्ट लगाउँछन् ।

त्यसैगरी उनी टाउकोमा सेतो स्कार्फ बाँध्छन् । त्यसमाथि रातो क्याप लगाउँछन् । पाइन्टको पछाडि खल्तीमा स्कार्फ झुन्ड्याउँछन् । एकातिर नाडीमा सेतो ब्यान्ड बाँध्छन् । गलामा लामो सिक्री झुन्ड्याउँछन् । आँखामा कालो चस्मा ।

उनले आफ्नो करियर सुरु गरेदेखि अहिलेसम्म यस्तै गेटअपमा आफुलाई पेश गरिरहेका छन् । निर्णयले किन यस्तो फेसन गर्छन् ? उनीसँग यसको घतलाग्दो जवाफ पनि छ ।

निणर्यले गर्ने यो गेटअप उनको आफ्नै मौलिक भने होइन । सन् १९८० को दशकमा सुरु भएको हिपहप संस्कृतिको प्रभाव उनको पहिरनमा झल्किन्छ ।

‘हिपहप भनेको स्वच्छन्दता र विद्रोहको प्रतिक हो’ एक प्रसंगमा निर्णयले अनलाइनखबरसँग भनेका थिए । अमेरिकामा किशोरवय गुजारेका निर्णयले त्यही बेलादेखि यस्तो फेसन शैली अपनाएका थिए । भर्खरै गीत/संगीतमा रमाउन थालेका निर्णयलाई र्‍याप संगीतले तान्यो । र, त्यसपछि हिपहप फेसनले ।

आफ्नो फेसनबारे निर्णय भन्छन्, ‘अफ्रिकन मुलका अमेरिकीहरुले गीतमार्फत दुःख, पीडा, अपहेलना पोख्थे । पछि उनीहरुले फेसनबाट पनि यस्तै भडास निकाले ।’ उनीहरुको पहिरन कुनै सूत्र, परिधि, नियमभन्दा बाहिरको हुन्थ्यो । आफ्नै शैलीको । आफ्नै ढर्राको । यही शैलीले पछि विश्व फेसनमा एउटा पहिचान बनायो, हिपहप फेसन ।

निर्णयले जसरी हिपहप फेसन गर्छन्, ति सबै अर्थपूर्ण रहेको उनको बुझाई छ । उनले अनलाइनखबरसँग भनेका थिए, ‘म रातो क्याप लगाउँछु । यो रगतको प्रतिक हो । यसले गरिब, धनी, कथित तल्लो बर्ग, माथिल्लो बर्ग सबैको रगत एउटै हुन्छ भन्ने हो ।’ रातो क्याप पहिरिनुअघि उनले टाउकोमा सेतो स्कार्फ बाँध्छन् । नाडीमा सेतो बेन्ड बाँध्छन् । सेतो, जो शान्तिको प्रतिक ।

गलामा झुन्ड्याएको लकेट नियाल्ने हो भने, त्यसमा चील र चीताको कम्बिनेसन छ । चील जतिसुकै माथि पुगेपनि उसले आफ्नो धरातल बिर्सदैन ।  ‘यसबाट चाहि म के रिप्रेजेन्ट गर्न चाहन्छु भने हामी जतिसुकै माथि पुगेपनि आफ्नो धरातल भुल्नु हुँदैन’ उनले सुनाए, ‘साथै हाम्रो गति सधै एकसमान हुनुपर्छ ।’

हिपहप फेसनमा आफ्नो ज्यानभन्दा खुकुलो, लामो लुगा लगाउनुको पनि अर्थ रहेछ । निर्णयका अनुसार यस्तो फेसन सहज हुन्छ । यसमा कुनै सर्त र परिधी हुन्न । यसका साथै उनीहरुको पाइन्ट कम्मरमा टिपिक्क कसिएको हुँदैन । अलि तल झरेको हुन्छ ।

निर्णयको अनुसार यस्तो शैलीले पाइन्ट लगाउनुको रहस्य चाहि के रहेछ भने त्यसबेला जेलमा बस्दा काला जातिहरु दुब्लाउँदै जान्थे । त्यसकारण उनीहरुको शरीरभन्दा लुगाको आकार ठूलो हुन्थ्यो । पाइन्ट, कम्मरभन्दा तल हुन्थ्यो । पछि त्यही फेसन बन्यो ।

नविनको क्याप किस्सा

‘साँझ पख एकान्तमा’, ‘तिमी हौ लाखौंको धड्कन’ जस्ता युवा ढुकढुकीका गीत गाएर चर्चा बटुलेका नविन के भट्टराईलाई चिनाउने अर्को कुरा हो, क्याप ।

नविन अक्सर क्यापमै ठाँटिएका हुन्छन् । उनी किन क्याप लगाउँछन् ?

अनलाइनखबरसँग एक साक्षतकारमा नविनले सुनाएका थिए, यो एक किसिमको लत जस्तै हुँदोरहेछ । लगाएपछि फुकाल्नै मन नलाग्ने । आफैलाई कस्तो कस्तो लागिहाल्ने ।’

उनी क्यापका सौखिन हुन् । नविनलाई थरीथरीको क्याप मनपर्छ । उनलाई कसैले ल्याइदिने पि्रय उपहार क्याप नै हो । उनले कसैलाई दिने राम्रो उपहार पनि क्याप नै । आफ्ना फ्यानलाई समेत उनी क्याप दिने गर्छन् ।

पत्याउन गाह्रो पर्छ, कुनैबेला नविनसँग १७ सय क्याप थियो नविनको घरमा । यीमध्ये धेरैजसो त उनका साथीभाईले दिएका उपहार थिए । झ्यालको माथितिर लस्करै क्याप टाँगेका थिए । पछि उनले आफ्ना प्रशंसकलाई पनि क्याप उपहार दिन थाले । यस क्रममा सैयौं क्याप उनले प्रशंसकलाई दिए ।

त्यसो त अहिले पनि उनको घरमा क्याप रित्तिएको छैन । दर्जनौ क्याप अझै सुरक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?