Comments Add Comment

सरिता हत्या प्रकरणः गाई दुहुन उठौं भन्दा हत्या ?

'रिह्याब'मा ६ महिना बसेर फर्किएका थिए श्रीमान

१७ वैशाख, काभ्रे । मण्डनदेउपुर–६ का सुदिप दुलाल बिहीबार श्रीमती सरितासँगै खाना खाएर सुतेका थिए । दिउँसो घरबाट सँगै निस्किएका उनीहरु एकसाथ फर्किँएका थिए । तर, शुक्रबार बिहान दुवैको चालचुल थिएन ।

एउटै घरमा बसे पनि छुट्टिसकेका दाजु केशव र भाउजु संगीताले पनि वास्ता गरेनन् । बुबा पिताम्बर र आमा गंगाले पनि उनीहरुलाई देखेनन् । करिब साढे ९ तिर छोराको कोठा छेउ गएर हेर्दा पिताम्बरले सोच्दै नसोचेको दृश्य देखे ।

आधा खुल्लै अवस्थामा रहेको ढोका ठेल्ने वित्तिकै घोप्टो परेको अवस्थामा बुहारी सरिता थिइन् । अफ्ठ्यारो अवस्थामा शरीर देख्ने वित्तिकै उनको मनमा चिसो पसिसकेको थियो, छेवैमा पुग्दा निलडाम पनि देखियो । त्यसपछि सबैलाई बोलाए । घरमा रहेका सरिताका जेठाजु केशव र जेठानी संगीता पनि त्यहाँ आए ।

श्रीमान् सुदिपको भने अत्तोपत्तो थिएन । परिवारका सबै सदस्य भेला हुने वित्तिकै नजिकै रहेको प्रहरी चौकी, मण्डनदेउपुरमा खबर भयो । त्यहाँबाट टोली पुगेको केहीवेरमै जिल्ला प्रहरी प्रमुख रविराज खड्कालाई घटनाबारे व्रिफिङ भयो ।

मुलुकभर हत्या, हिंसाका घटना बढिरहेका वेला उनले घटनामा विशेष प्राथमिकता दिएर ट्वाइसी दिपक गिरीको नेतृत्वमा प्रहरी निरीक्षकसहित अनुसन्धान टोली पठाए । घटनास्थलमा पुगेका डीएसपी गिरी नेतृत्वको अनुसन्धान टोलीले प्रारम्भिक जाँच मुचुल्का बनाएर विस्तृत अनुसन्धान थाल्यो ।

लागूऔषध गाँजा अत्यधिक सेवन गर्न थालेपछि श्रीमान सुदिपलाई ६ महिना भक्तपुरस्थित सुधार गृहमा राखिएको थियो

भागेर नगरकोट पुगे श्रीमान

घटनालगत्तै घरबाट श्रीमान गायब भएको देखिएपछि गिरी नेतृत्व टोलीको पहिलो शंका उनीतर्फै गयो । प्राविधिक पक्षबाट अनुसन्धान गर्दा उनी नगरकोटतिर देखिए । शनिबार दिउँसो नगरकोट जाने बाटो नाल्दुममा प्रहरी टोलीले उनलाई फेला पार्‍यो । त्यहाँ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, काभ्रेको हिरासतमा राखिएका उनले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् ।

तर, सरिताको माइती पक्ष भने उनको बयान स्वीकार्न तयार छैन । दाइ हिरामणि दाहालको दाबी छ, ‘विहान ५ बजेको घटना भए परिवारले किन ४ घन्टापछि मात्रै खबर गर्‍यो ?’

यति मात्र होइन, उनले सरिताको परिवारमा सम्पत्तिसम्बन्धी विवाद रहेको पनि दाबी गरेका छन् ।

सम्पत्ति विवादकै कारण परिवारका सबै सदस्यको मिलेमतोमा घटना गराइएको उनको भनाइ छ । ‘प्लाइले बारेको कोठामा रहेका मान्छेले कसरी त्यत्रो ठूलो घटना भएको थाहा पाउँदैनन् ?’, उनको प्रश्न छ । यिनै दाबीसहित उनी लगायत माइती पक्षले दुलाल परिवारविरुद्ध नै किटानी जोहरी दिएको छ ।

जाहेरीका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको काभ्रेका एसपी खड्का बताउँछन् । ‘जिल्ला अदालत, काभ्रेबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप भइसकेको छ’, उनले अनलाइनखबरसँग भने ।

श्रीमान–श्रीमतीको सम्बन्ध राम्रो थिएन

सुदिपले प्रहरीसँगको प्रारम्भिक सोधपुछमा गुलेलीको रवरले घाँटी थिचेर श्रीमतीको हत्या गरेको बयान दिएका छन् ।

उनको बयानलाई उदृत गर्दै काभ्रेका एक प्रहरी अधिकारीले भने, ‘श्रीमतीले गाई दुहुन उठौं भनेर किचकिच गरेपछि हत्या गरेको उनले बताएका छन् ।’

उनकाअनुसार सुदिप दोस्रो प्रयासमा श्रीमतीको ज्यान लिएको देखिएको छ । ‘पहिले हातैले घाँटी थिच्दा उनी वेहोस मात्र भएकी थिइन्’, अनुसन्धान अधिकारी भन्छन्, ‘त्यसपछि पुनः गुलेलीको रवरले घाँटी थिचेको उसको भनाइ छ ।’

क्षणिक आवेगमा मात्र नभई सरिताविरुद्ध कुण्ठा पालेर बसेको हुनसक्ने अनुसन्धान अधिकारीको आशंका छ । ९ वैशाख ०७२ मा मागी विवाह गरेका दुलाल दम्पत्तिको हालसम्म विवाह दर्ता नभएको छिमेकी सरस्वती सिम्खडा बताउँछिन् । ‘नागरिकता र विवाह दर्तालाई लिएर पनि दुईबीच विवाद थियो’, उनले भनिन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार सुदिपलाई लागूऔषध गाँजा सेवन गर्ने लत लागेको थियो । उनलाई ६ महिना भक्तपुरस्थित सुधार गृहमा पनि राखिएको थियो । तर, उनी पूर्ण रुपमा कुलतबाट मुक्त नभएको स्थानीय बताउँछन् ।

उनले श्रीमतीमाथि पनि अनेक शंका गर्ने गरेका कारण बेलाबला झगडा हुने गरेको थियो । घटना भएको दिन चाहिँ उनले लागूऔषध सेवन गरेका थिए/थिएनन् भन्ने खुल्न सकेको छैन । ‘यदि उनी त्यही दिन पक्राउ परेको भए खुल्न सक्थ्यो । तर, अब त्यो सम्भावना न्यून छ’, अनुसन्धान टोली स्रोत भन्छ ।

यो पनि पढ्नुहोस आफ्नै घरमा मृत भेटिइन् सरिता

पोष्टमार्टम रिपोर्टको पर्खाइ

सुदिपले विहान ५ बजेतिर घटना भएको बताएपनि प्राविधिक परिक्षणबाट मात्रै प्रहरी निष्कर्षमा पुग्नेछ । त्यसका लागि अनुसन्धान टोली पोष्टमार्टम रिपोर्टको पर्खाइमा छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले रिपोर्ट दिएपछि उनको मृत्युको कारणबारे खुल्नेछ । ‘सतही रुपमा हेर्दा शरीरमा निल डाम देखिएका छन्’, एक प्रहरी अधिकारीले भने, ‘घाँटीमा पनि दाग छ । विस्तृत विवरण पोष्टमार्टम रिपोर्टले देखाउँला ।’

चिकित्सकले परीक्षणका लागि आवश्यक नमूना संकलन गरेपछि सरिताको सोमबार अन्त्येष्टि गरिएको छ ।

सरिताको न्यायका लागि भन्दै जिल्लाका सामाजिक अगुवा, जनप्रतिनिधि, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका छन् । प्रदर्शनमा मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवा, उपमेयर निर्मला शाही, धुलिखेलकी उपमेयर विमला शर्मा, बनेपाकी उपमेयर रेखा दाहाल, नेकपा सांसद् गोमा भुर्तेल लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment