Comments Add Comment

बार्सिलोनाको उस्तै हविगत, कमजोरी के ?

भालभर्देको कमजोर सोच या मेस्सी निर्भरता !

२४ वैशाख, काठमाडौं । बार्सिलोनामा यतिबेला हरेक कुरा शान्त छ । क्लब, खेलाडी, समर्थक सबै कुरा नै स्थिर । विश्वको उत्कृष्ट खेलाडीको समूह र उत्कृष्ट डिफेन्सका लागि चिनिने बार्सिलोनाको इतिहासकै खराब हारपछिको यो शून्यताले प्रश्नहरु धेरै उब्जाएका छन् ।

च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग ४–० ले हारेर स्पेनिस क्लब बार्सिलोना पहिलो लेगको ३–० को जितका बावजुद पनि निराश बन्यो ।

गएको सिजन च्याम्पियन्स लिग क्वाटरफाइनलमा ४–१ ले पहिलो लेग जितेपछि इटालियन क्लब रोमासँग दोस्रो लेग ३–० ले हारेर निराश बनेको बार्सिलोनाको हविगत यो वर्ष पनि उस्तै बन्यो ।

मोहम्मद सलाह र रोबर्टो फर्मिनो घाइते रहेको लिभरपुलमा अग्रता जोगाउन नसक्दा बार्सिलोना पूर्ण रुपमा असफल देखियो । गएको वर्षको हारबाट पाठ सिकेको भनिएको बार्सिलोनाको उस्तै हविगत हुनुमा कमजोरी कहाँनेर छ त ?

ला लिगामा राम्रो उपस्थितिसहित उपाधि जितिरहँदा पनि प्रशिक्षक एर्नेस्टो भालभर्देको शैलीमा समर्थकले नै हरेक पटक प्रश्न उठाइरहेका हुन्थे । उनले अपनाउने शैली बार्सिलोनाको फुटबल शैलीभन्दा भिन्न रहेको आरोप फुटबल पण्डितहरुको पनि रहन्थ्यो । जितको बेला तारिफ गर्ने र हारको बेला आलोचना गर्ने बानी भालभर्देमा लागु हुँदैन । जो जितकै खेलमा पनि आलोचित भइरहेका हुन्छन् ।

बुधबार राति लिभरपुलसँगको खेलमा पनि भालभर्दे योजनाविहीन देखिएका थिए । समय लिएर बल नियन्त्रणमा लिन भन्दा उनले बल बचाउनमा मात्रै ध्यान दिने योजना अपनाए, जसको असर आक्रामक लिभरपुलसामु टिक्न मुस्किल प¥यो ।

बेलामौका लियोनल मेस्सीले केही उत्कृष्ट संयोजन गरेको भए पनि लुइस स्वारेज र फिलिप कोउटिन्हो पूर्णतः असफल देखिए । मेस्सीले पनि पाएका अवसरमा क्याम्प नाउको जस्तो जादु देखाउन सकेनन् । सिजनभर मेस्सीले जस्ता गोलहरु गरेका थिए, एन्फिल्डमा त्यस्तै गोलमा उनी चुक्न पुगे ।

लिभरपुलको पहिलो गोलपछि त टिम नियन्त्रण नै गुमाउन पुग्यो । डिफेन्समा जोडी अल्बाको भूमिका इतिहासकै खराब रह्यो । मिडफिल्डमा इभान ¥याकिटिक पनि कतै हराइरहेका जस्ता देखिन्थे । यसैले बार्सिलोनाको ऐतिहासिक हार धेरैका लागि पाठ हुन सक्छ । विशेष त भालभर्देका लागि ।

बार्सिलोनाले डिफेन्सदेखि नै बलमा नियन्त्रण बनाएर अगाडि बढाउने जुन शैली वर्षौंदेखि अपनाइरहेको थियो, त्यो एन्फिल्डमा देखिएन । लामो बल फाल्ने र छिटो नियन्त्रण गुमाउनाले नै लिभरपुलले लगातार आक्रमण बनाइराख्न सक्यो ।

पहिलो हाफमा नियन्त्रण गुमाए पनि खेल आफ्नो पक्षमा नै रहने आशमा रहेको बार्सिलोना दोस्रो हाफमा त अझ कमजोर बन्न पुग्यो । लिभरपुलको चौथो चलाखिपूर्ण कर्नर किकमार्फत गरिएको गोल बार्सिलोनाको गिरेको आत्मबलकै परिणाम थियो । गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पोजिसन मिलाउने तयारी गरिरहेकै बेला भएको उक्त गोलपछि खेलमा फर्कने समय नै रहेन ।

‘उनीहरु राम्रो टिम हुन् । यो कुरा हामीले स्वीकार गर्न सक्नुपर्छ । उनीहरुको दोस्रो गोलले हामीले नियन्त्रण गुमायौँ, तेस्रो गोल त्यसैले लगत्तै भयो । उनीहरुलाई फाइनल पुगेकोमा हामीले बधाई दिनुपर्छ’ भालभर्देले भनेका छन् ।

शनिबार ला लिगामा सेल्टाभिगोसँग हारेको खेलमा महत्वपूर्ण ११ खेलाडीलाई आराम दिएका भालभर्देले लिभरपुलकै मैदानमा आफूहरुलाई कठीन हुने बुझेकै थिए । तर मैदानमा खेलाडीको उपस्थिति भालभर्देले बुझेअनुरुप भने भएन ।

बार्सिलोनाको डिएनएमै रहेको भनिने ‘पोसेसन फुटबल’ लाई वेवास्ता गर्नु नै भालभर्देको मुख्य कमजोरी हुन पुग्यो । भालभर्देको योजनामा रहेको बार्सिलोना भालभर्दे जस्तै गोल नहुँदासम्म अनावश्यक ढुक्क रह्यो जहाँ गोल हुन थालेपछि अतालियो ।

लियोनल मेस्सीको अट्याकमा मात्रै निर्भर हुनुपर्ने बार्सिलोनामा ३–० को अग्रता हुँदा पनि भालभर्देले ४–३–३ कै फर्मेसन रोजे । मिडफिल्डमा राम्रो उपस्थिति जनाउने कोउटिन्होलाई बलजफति अट्याकमा राख्नुले नै टिममा एक खेलाडीको अभाव हुन पुग्यो । जहाँ फुटबल पण्डितहरु भालभर्देले ४–४–२ मा पोसेसन बनाएरै अगाडि बढ्नुपर्ने बताउँछन् ।

यसैले एन्फिल्डमा भालभर्देको योजना बेतुकको थियो । ३–० ले पछि रहेको लिभरपुल घरेलु मैदानमा आक्रामक हुने सामान्य समर्थकले पनि बुझ्ने कुरामा भालभर्दे किन योजनाविहीन भए त ?

न त लिभरपुलको आक्रामणमा रक्षात्मक हुने शैली अपनाइएको थियो, न त बार्सिलोना आफै आक्रमणमा बढ्ने शैली नै थियो । यस्तो लाग्थ्यो, तीन गोलको अग्रताले ढुक्क रहेका भालभर्दे ९० मिनेट समय बिताउन मात्रै चाहन्थे ।

त्यही योजनाविहीन शैलीले नै जोडी अल्बाले पछाडि हानेको हेड पासमा लिभरपुलको पहिलो गोलको मौका पाएको थियो । १–० ले पछि परेपछिको मध्यान्तरमा पनि भालभर्देले योजना बनाउन चुके । जुन १५ मिनेट प्रशिक्षकका लागि सुनौलो अवसर हुन्छ, त्यही १५ मिनेट भालभर्देले ट्वाइलेट जान मात्रै प्रयोग गरे । त्यसैले दोस्रो हाफको पहिलो १० मिनेटमा नै बार्सिलोना २ गोल खान पुग्यो ।

यसैले लगातार दुई वर्षको उस्तै हारबाट भालभर्देको शैलीमा बार्सिलोना बोर्डले विकल्प खोज्छ या अझै विश्वास गरिरहन्छ भन्ने प्रश्न उठेको छ ।

सर्जियो बुस्केट्स अझै उही स्वरुपमा खेलिरहन सक्लान् ? तीब्रता गुमाएका लुइस स्वारेजमा अझै भर पर्न सकिएला ? इभान र्‍याकिटिक मिडफिल्डमा लगातार खेलिरहन योग्य छन् ? फिलिप कोउटिन्होलाई विश्वास गर्न सक्ने ठाउँ अझै छ ?

सिजनभर उत्कृष्ट देखिएका खेलाडी पनि आवश्यक समयका कमजोर देखिएका बेला यी प्रश्नको उत्तरको खोजीमा नयाँ सिजन सुरु हुनुअघि नै बार्सिलोना लाग्ने नै छ । तर योभन्दा जटिल योजनाविहीन प्रशिक्षण र गोलका कारण अतालिने मनस्थितिको उपचारमा भने भालभर्देको छाप छाड्न अझै केही समय लाग्ने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment