+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गाडी एसेम्बल गर्ने उद्योग दर्ताको लहर, एक वर्षमै १२ वटा थपिए

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ साउन २४ गते ८:३९

२४ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा स्वदेशी र विदेशी कम्पनीले गाडी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न निकै चासो दिन थालेका छन् ।

बितेको १ वर्षभित्र मात्रै १२ वटा नयाँ कम्पनी यो क्षेत्रमा थपिएको उद्योग विभाग बताउँछ । यससँगै नेपालमा सवारीको एसेम्बल गर्ने उद्योगको कागजी संख्या २४ पुगेको छ ।

धेरैले विद्युतीय मोटरसकाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् । तर काम भने थालेका छैनन् ।

गत वर्ष एक कोरियन कम्पनीले नेपालमा एसेम्बल प्लान्ट खोल्ने लगानी बोर्डबाट अनुमति मागेपछि अन्य लगानीकर्ताहरु पनि आकर्षित भएका हुन् । कोरियन कम्पनीले निश्चित वर्षसम्म आफ्नो मात्रै एसेम्बल उद्योग नेपालमा रहने ग्यारेन्टी मागेको थियो ।

उसले एकलौटी बजार कब्जा गर्ने देखेपछि नेपालमै एसेम्बल प्लान्ट खोल्ने सोच बनाएका लगानीकर्ता हतार–हतार दर्ता हुन पुगेका विभागका एक अधिकारीले बताए । ‘नयाँ कम्पनी खोल्न दिन नहुने कोरियन कम्पनीको सर्तका कारण त्रसित उद्योगी तथा व्यवसायीले भविष्यको सम्भावना हेरेर उद्योग दर्ता गरेको देखिन्छ,’ ती अधिकारी भन्छन्, ‘तत्कालै कसैले उद्योग खोलेर काम थालिहाल्ने अवस्था छैन ।’

नेपालमा सवारी उत्पादन नै नभएको भने होइन ।

केही वर्ष अघिसम्म हुलास ग्रुपले नेपालमै गाडीहरु ‘एसेम्बल’ गर्थ्यो । डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेला चढेको ‘मुस्ताङ’ म्याक्स नेपालकै उत्पादन थियो । ‘कस्मिक’ ब्रान्डको बाइकको पनि उत्पादन नेपालमा भएको थियो । तर विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसेकपछि सवारी एसेम्बलिङ प्लान्टहरु बन्द हुन पुगे । अहिले नेपालमा गाडीको उत्पादन लगभग बन्द जस्तै छ ।

गोल्छा अर्गनाइजेशनअन्तरगतको कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गर्छ । हुलासले नेपालमै कार उत्पादनको लागि प्रयास गरिरहेको छ ।

केही चिनियाँ प्रविधिका इलेक्ट्रिक बाइक र स्कुटर पनि नेपालमै एसेम्बल हुन्छन् ।

एएच बजाजले ‘बजाज’ ब्रान्डका केही सेगमेन्टका बाइकहरु नेपालमै एसेम्बल गर्छ । त्यसबाहेक नेपालमा सवारी एसेम्बल गर्ने कम्पनी सञ्चालनमा छैन ।

कुन–कुन कम्पनी आए ?

उद्योग विभागको तथ्यांकअनुसार एसेम्बल कम्पनीमा सबैभन्दा पुरानो होङ्फा मोटरसाइकल कम्पनी हो । जुन पूर्णतया नेपाली लगानीको कम्पनी हो । ०६५ असारमा दर्ता भएको यो कम्पनीको कुल पुँजी २५ करोड छ । त्यसपछि पनि ‘एसेम्बल प्लान्ट’ खोल्न कम्पनीहरू दर्ता भएका छन् ।

कञ्चनपुरमा उद्योग रहने गरी हिरोइन इलेक्ट्रिक इन्डस्ट्री गत भदौमा दर्ता भयो । १० करोड पुँजीको यो उद्योगमा ९० प्रतिशत विदेशी लगानी प्रस्ताव गरिएको छ । यो कम्पनीले तीन तथा चारपांग्रे भ्यान र मिनिट्रक एसेम्बल गर्ने भनेको छ ।

गत असोजमा काठमाडौंमा बेन्लिङ मोटर टेक्नोलोजी कम्पनी दर्ता भएको छ । ४० करोड कुल पुँजी रहेका यो कम्पनीमा शत प्रतिशत विदेशी लगानी रहने छ । यसले इलेक्ट्रिक मोटरसाइकल स्कुटर र भ्यान बनाउनेछ ।

त्यसैगरी, धनुषामा उद्योग रहनेगरी २४ करोड पुँजीको मिथिला अटो क्राफ्ट दर्ता भएको छ । यो कम्पनीले तीनपांग्रे टेम्पो र क्यारियर सवारी उत्पादन गर्नेछ ।

चितवनमा उद्योग रहनेगरी ग्रेटवाल इलेक्ट्रिक कम्पनी दर्ता छ । ३५ करोड चुक्ता पुँजीको यो उद्योगले इलेक्ट्रिक बाइक र स्कुटर उत्पादन गर्ने योजना बनाएको छ । यो पूर्ण रुपमा विदेशी लगानीको उद्योग हो ।

सुनसरीमा २० करोड पुँजीको सार्प भिजन इन्टरप्राइजेज उद्योग दर्ता छ । आधा–आधा स्वदशी र विदेशी लगानीमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्न यो कम्पनी दर्ता भएको हो ।

२०७६ साल लागेपछि यो वर्ष ५ अर्ब १० करोड कुल पुँजीको उद्योग दर्ता भएको छ । यो उद्योग नेपालको चर्चित लक्ष्मी ग्रुपले दर्ता गरेको हो । हाल हुन्डाई गाडीको आधिकारिक बिक्रेताका रुपमा रहेको लक्ष्मी ग्रुपले नवलपरासीमा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसन दर्ता गरेको हो । कम्पनीले वर्षमा ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । यो उद्योग पूर्ण रूपमा स्वदेशी लगानीमा हुने भनिएको छ ।

गत वर्ष नै काठमाडौंमा उद्योग रहने गरी सीएनडी ग्रुप अफ कम्पनी पनि दर्ता भएको छ । १० करोड लगानीको यो उद्योगले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्ने बताएको छ ।

त्यसैगरी चितवनमा उद्योग रहने गरी ७ करोड पुँजीको बेल्ला इलेक्ट्रिक कम्पनी दर्ता छ । यो पूर्ण रुपमा विदेशी लगानीको उद्योग हो । यो इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने कम्पनी हो ।

बारामा उद्योग राख्ने गरी नेपाल जियान्ट कार इन्डस्ट्री दर्ता गरिएको छ । ४९ करोड पुँजीको यो कम्पनीले पनि इलेक्ट्रिक स्कुटरर कार उत्पादनको लक्ष्य राखेको छ ।

ललितपुरमा उद्योग रहने गरी बेल्ला मोटर्स कम्पनी दर्ता छ । २ अर्ब पुँजीको यो उद्योगले विद्युतीय सवारी उत्पादन गर्ने भनिएको छ ।

यसअघि नै नवलपरासीमा इभर स्टार मोटर्स, ललितपुरमा नेपाल ईभी कम्पनी, हे डोङ न्यू इलेक्ट्रिक तथा सीईसी भेहिकल र मकवानपुरमा नेन्जोङ इन्डस्ट्री पनि सवारी एसेम्बलकै लागि दर्ता भएका उद्योग हुन् ।

काठमाडौंमा होङ्फा मोटरसाइकल एसेम्बल कम्पनी, ट्रस्ट इलेक्ट्रिकल बाइक तथा चोङ्ली इन्टरनेशनल ट्रेकिङ, नवलपरासीमा हुलास अटो क्राफ्ट, मोरङमा ग्लोबल अटो मोबाइल र नवलपरासीमा हिमालयन रबर कर्पोरेशन पनि नेपालमा सवारी उत्पादनकै लागि दर्ता भएका उद्योग हुन् ।

यसमध्ये हुलास अटो क्राफ्ट अहिले नेपालकै एक मात्रै सक्रिय अटोमोबाइल एसेम्बल कम्पनी हो ।

ठूला कम्पनी पनि इच्छुक

हाल विभिन्न स्थापित बिदेशी कम्पनी पनि नेपालमा एसेम्बल प्लान्ट राख्ने योजना छन् । विशेषगरी नेपालमा अटो बजारको अवस्था हेरेर मात्रै लगानी ल्याउने उनीहरुको योजना छ ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ एसेम्बल प्लान्ट नेपालभित्रै खुल्नु सुखद् भएको बताउँछन् । ‘हामी देशको आर्थिक वृद्धिका लागि उद्योगहरु खुल्नुपर्छ भन्ने मान्यता राख्छौं,’ राजनबाबु भन्छन्, ‘तर त्यसका लागि राज्यले सहज खालको नीति ल्याउनुपर्छ । ठूला उद्योग नेपाल आउनसक्ने वातावरणका लागि एउटा ठोस नीति आएको छैन । त्यो नभई उद्योग आउन सम्भव नै छैन ।’

उचित वातावरण बने नेपालमै प्लान्ट राख्न टाटा पनि इच्छुक रहेको बताउँछन् राजनबाबु । बंगलादेश, श्रीलंका र अफ्रिका कामा टाटाले प्लान्ट राखिसकेको छ ।

‘उद्योग प्रवद्र्धन गर्न विद्युत् र जमीनको सहज उपलधता चाहिन्छ । अनि कर संरचना र श्रम नीतिलगायतका विषय लगानीमैत्री हुनुपर्छ,’ राजनबाबु भन्छन्, ‘टाटा त सधैं नेपाल आउन सकारात्मक छ । हामी अहिले पनि अध्ययन गरिरहेका छौं । हामी नाडामार्फत लगानीमैत्री वातावरण बनाउन भनिरहेका छौं ।’

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?