
२५ पुस, हेटौंडा । प्रदेश ३ को नाम र राजधानीका विषयमा पार्टीभित्र सहमति जुटाएपछि नेकपाले अन्य पार्टीसँग पनि छलफल थालेको छ ।
नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार सर्वदलीय बैठक बोलाएर प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने आफूहरुको निर्णयलाई साथ दिन आग्रह गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाम र राजधानीको विषयमा सत्तारुढ नेकपालाई साथ दिने भएको छ । उसले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाउने बताएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले नाम र राजधानीको विषयमा सांसदहरुलाई ह्वीप लगाउने जानकारी दिएका हुन् ।
प्रदेशसभामा एक सिट रहेको राप्रपा र राप्रपा संयुक्तले पनि सत्तारुढ दललाई साथ दिएको छ । राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङले नाम वाग्मती र राजधानी हेटौंडाको पक्षमा मतदान दिने जानकारी दिए ।
नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्र गोसाईले निर्णय शनिबार जानकारी गराउने बताएका छन् ।
विवेकशील नेपाली दलका रमेश पौंडेलले राजधानी काभ्रेमा राख्ने पार्टीको निर्णय रहेको बताए । ‘काभ्रेमा नै पार्टीको निर्णय भइसकेको छ, नयाँ निर्णय भइनसकेकाले अहिलेलाई काभ्रेकै पक्षमा छौं’ उनले भने । नाम वाग्मती राख्ने विषयमा भने आफूहरु सहमत रहेको बताए ।
साझा पार्टीकी शोभा शाक्यले नाममा सहमत भए पनि राजधानीको विषयमा सहमत हुन नसकेको बताइन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानीमा सर्वसमत भएमा राम्रो सन्देश जाने भएकाले तयारी स्वरुप सर्वदलीय बैठक बाेलाएको बताए ।
प्रतिक्रिया 4