+
+

कम्युनिस्ट नेताको टिप्पणी : एमसीसी पाडो हो, इन्डो प्यासिफिक माउ भैंसी हो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते २०:१४

२१ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्व अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट जतिसक्दो छिटो पास गर्नुपर्ने पक्षमा छन् ।

तर, नेकपा नेतृत्वको सरकारले आफ्नै पार्टीभित्रका केही नेताहरु र पार्टी बाहिरका कम्युनिस्ट नेताको साथ पाएको छैन । एमसीसी सम्झौता जस्ताको तस्तै पास हुनुहुन्न भन्ने बिभिन्न पार्टीका नेताहरु मंगलबार राजधानीमा एक अन्तर्क्रियात्मक कार्यक्रममा जम्मा भएका थिए ।

जहाँ, सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, नेकपा माओवादीका महासचिव मोहन वैद्य (किरण), देशभक्त जनणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, राजनीतिक विश्लेषक श्याम श्रेठ, सोनाम साथी, सीमाविद बुद्धिनारायण श्रेष्ठ, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, बरिष्ठ पत्रकार भैरव रिसाललगायत थिए ।

पूर्वमाओवादीका नेता तथा हाल कुनै पार्टीमा नरहेका सोनाम साथीले एमसीसी र इण्डोप्यासिफक रणनीतिलाई पाडो र भैंसीको रुपमा चित्रण गरे । ‘पाडो ल्याउँदा माउ भैँसी आफैँ आउँछ, भैँसी पनि ल्याउने भनिरहनुपर्दैन । एमसीसी पाडो हो । पाडो ल्याउँदा माउ भैंसी इन्डो प्यासिफिक आफैं आउँछ,’ उनले भने ।

वरिष्ठ पत्रकार भैरव रिसालले एमसीसीलाई विषले भरिएको अमृत भने । ‘बाहिर गुलियो लेपन गरिएको अमृत जस्तो देखिन्छ तर, यसभित्र विषै विष छ,’ उनले भने ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले पूर्वएमालेलाई अमेरिकाले नै चलाउने गरेको र त्यसैको पछिल्लो रुप एमसीसी भएको आरोप लगाए । ‘पूर्वएमालेले छैठौं महाधिवेशनबाट सम्राज्यवाद हटाएर स्वीकार गरेको थियो । एनजीओ आइएनजीओमार्फत पैसा पठाएर सम्राज्यवादले नै एमाले चलाएको थियो । नेकपा माओवादी केन्द्र मिसिन गए पनि नेकपा एमालेकै रुप हो,’ कट्टेलले भने ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक गजुरेलले संसदबाट ‘एमसीसी पारित भएको दिनबाट नेपालको असंलग्न परराष्ट्र नीति पनि अन्त्य हुने’ जिकिर गरे ।

नेताहरुले अमेरिकाले नेपाललाई सहयोग गर्न चाहेको खण्डमा नेपालको कानुनअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए । एमसीसीमा भनिएको जस्तो विद्युत र सडकमा सहयोग गर्नका लागि नेपालकै विद्युत प्राधिकरण र सडक विभाग रहेका कारण यिनै निकायमार्फत सहयोग रकम खर्च हुने, परियोजना सञ्चालन हुने वातावरणमा सहयोग स्वीकार गर्नुपर्ने बताए ।

भारतीय नयाँ नक्सा महाकाली सन्धिको गलत परिणाम

नेकपाका अध्यक्ष ऋषि कट्टेलले भारतले लिपुलेक, लिम्पयाधुरालाई समेटेर तयार पारेको नक्साको पृष्ठभूमि महाकाली सन्धि रहेको जिकिर गरे ।

‘महाकाली सन्धि गर्दा हामीले गल्ती गर्‍यौं । सीमा विन्दु छुट्याएनौं । भारतले महाकाली सन्धिले लिम्पियाधुरा आफ्नो भएको भारतले बुझ्दै आएको थियो । अहिले नक्सा नै जारी गर्‍यो,’ कट्टेलको भनाइ थियो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले लिम्पियाधुरा कब्जा नभई आफ्नै भूमि बनाउन चाहेको र सोहीअनुसार नयाँ नक्सा सार्वजनिक गरेको बताए ।

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले लिम्पियाधुरा नेपालकै भूभाग भएको भनेर नेपाल सरकार र आफ्नो पार्टीले भनिसकेको उल्लेख गरे । कुटनीतिक माध्यमबाट नेपालले आफ्नो भूमि फिर्ता ल्याउनका लागि अझै धेरै पहल गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालले लिम्पियाधुरालाई समेटेर तत्काल नयाँ नक्सा जारी गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?