
११ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का नेकपा सांसद्हरूले आफ्नो १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
सरकारले खडा गरेको कोभिड–१९ विशेष कोषमार्फत संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा सांसद्हरुले १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाका क्रमशः १७४ र ५० सांसद् छन् ।
सचेतक चौधरीका अनुसार, यी सबै सांसद्को १५ दिनबराबरको पारिश्रमिक विशेष कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा जम्मा गरिनेछ ।
कोरोनाविरुद्ध लड्न सरकारले सोमबार ५० करोड रुपैयाँको कोरोना कोष स्थापना गरेको छ । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् ।
राष्ट्रपतिले दुई महिनाको र उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।
कोष स्थापनासँगै एनआरएनए र उद्योगपति वसन्त चौधरीले एक–एक करोड सहयोगको घोषणा गरेका छन् । अन्य विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त भइरहेको छ ।
प्रतिक्रिया 4