
११ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले प्रोत्साहन भत्ताको माग गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
त्यसअघि ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत भत्ता दिन सिफारिस गरेको थियो ।
स्वास्थ्यकर्मीलाई भत्ता दिने निर्णय भएलगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले पनि भत्ताको माग गरेको हो । स्रोतका अनुसार विपदको समयमा फ्रण्टलाइनमा बसेर खटिने प्रहरीलाई पनि प्रोत्साहन भत्ता हुनुपर्ने माग प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गृह मन्त्रालय समक्ष राखेका छन् ।
‘भत्ता कति हुने भन्ने विषय चाहिँ गृहमा राखिएको प्रस्तावमा बोलिएको छैन’, स्रोतले भन्यो । प्रहरी प्रधान कार्यालयको मागमा गृह सकारात्मक भए पनि कुनै निर्णय नभई सकेको एक अधिकृतले अनलाइनखबरलाई बताए ।
सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरिसकेको छ । जसको कार्यान्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सप्तरीमा सरकारी निर्णय कार्यान्वयन गराउन नेपाली सेना पनि खटिएको छ ।
प्रतिक्रिया 4