५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण जुलाईको दोस्रो साताबाट सुरु गर्ने तयारी गरेको छ । एन्फाले शुक्रबार खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक निर्देशकसँग घरेलु मैदानमा हुने विश्वकप छनोट खेलको तयारीबारे छलफल गरेको हो ।
एन्फाले प्रशिक्षणका लागि पहिला सरकारबाट स्वीकृति पाउनुपर्ने र त्यसपछि सबै नियम पालना गरेर प्रशिक्षण अगाडि बढाउने जनाएको छ । सरकारबाट अनुमति पाएपछि खेलाडीको कोरोना संक्रमण परीक्षण गरेर होस्टलमा राखी स्वास्थ्य र सुरक्षा सतर्कता अपनाएर प्रशिक्षण गर्ने एन्फाको योजना छ ।
विश्वकप छनोट अन्तर्गत गत चैतमा नै काठमाडौंमा हुने तय भएको नेपाल र चाइनिज ताइपेई तथा नेपाल र अष्ट्रेलियाबीचको खेल कोरोना महामारीका कारण स्थगित भएको थियो ।
छनोटको समूह बी मा रहेको नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसंग घरेलु मैदानमा खेल्न बाँकी छ । अहिलेसम्म पाँच खेल खेल्दा एक खेल मात्र जितेको नेपाल ३ अंकसहित समूहमा चौथो स्थानमा छ ।
शुक्रबार भएको छलफलमा खेलाडीहरुले लामो समय प्रशिक्षण र अभ्यास नगरी बसेका कारण एक्कासी खेलमा फर्किन समस्या हुने बताएका थिए । उनीहरुले सुरक्षित रुपमा अभ्यास र प्रशिक्षण सुरु गर्न सुझाव दिएका थिए ।
यस्तै स्वीडेनमा रहेका नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक योहान कालिन र अष्ट्रेलियामा रहेका प्राविधिक निर्देशक ग्यारी फिलिप्सले सरकारको अनुमति लिएर फिफा र डब्लुएचओको निर्देशिकाअनुसार प्रशिक्षण सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया 4