काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) सँग लड्नका लागि अहिले विश्वव्यापी नेतृत्वको कमी रहेको बताएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसुसले एक भर्चुअल हेल्थ फोरमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘विश्वलाई यो समयमा सबैभन्दा ठूलो आवश्यकता राष्ट्रिय एकता र वैश्विक एकजुटताको हो । यो महामारीको राजनीतिकरणले अवस्था झनै बिगारेको छ ।’
‘यो समय हामीले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती कोरोना भाइरस मात्र होइन, विश्वव्यापी एकजुटताको हो’, उनले थपे ।
डब्ल्यूएचओले कोरोना भाइरसको महामारी अझै पनि बढ्दो क्रममा रहेको र यसको आर्थिक तथा अन्य प्रभाव एक दशकसम्म पनि रहनसक्ने चेतावनी दिएको छ ।
अहिलेसम्म कोरोना भाइरसको कारण करिब ९० लाख मानिस संक्रमित भइसकेका छन् । साथै यसबाट करिब चार लाख ७० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
स्रोत : बीबीसी