+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार २० गते ११:२०

२० असार, बुटवल । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

आत्महत्या गर्नेहरूमा गाउँका २६६ जना तथा सहरका ११४ रहेका छन् । प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेहरूमा ग्रामीण क्षेत्रका किसान, विपन्न परिवारका गृहिणी, दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने र बेरोजगार बढी छन् ।

लकडाउन सुरु भएयता १७८ जना कृषक, ७४ जना गृहिणी, ३७ जना ज्याला मजदुरी गर्ने श्रमिक तथा ३६ जना बेरोजगारले आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

यसैगरी, लकडाउन अवधिमा २९ जना विद्यार्थी र अन्यले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरूमा पुरुषभन्दा महिलाको संख्या केही बढी छ । एक सय दिनको अवधिमा १९८ महिला र १८२ जना पुरुषले आत्महत्या गरेका छन् ।

चैत, वैशाख र जेठमा भन्दा असार महिनामा आत्महत्या गर्ने दर झन् बढेको प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले बताए । ‘चैतमा ५२ जना, वैशाखमा एक सय जना र जेठमा १०२ जनाले आत्महत्या गरेका छन्,’ बैदवारले भने, ‘जबकि असार महिनाको १८ दिनमा मात्रै १२६ जनाले आत्महत्या गरेका छन् ।’

आत्महत्याको मुख्य कारणमा एक्कासी आवेशमा आउनु देखिएको प्रवक्ता बैदवारले खुलाए । एक्कासी आवेशमा आएर १४६ जनाले आत्महत्या गरेको उनले बताए । यस्तै, घर झगडाका कारण आत्महत्या गर्नेको संख्या ७२ जना पुगेको छ।

उमेर समूहका आधारमा आत्महत्या गर्नेहरूमा युवाहरूको संख्या बढी देखिएको बैदवारले बताए । लकडाउन अवधिमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका ११६ जना, २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका ११० जना, ३६ वर्षदेखि ४५ वर्ष उमेर समूहका ५८ जना, ४६ देखि ६० वर्षसम्म उमेर समूहका ५२ तथा ६० वर्षदेखि माथिका २८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा २० जना बालबालिका समेत छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ६६ जना दीर्घरोग, २४ जना गरिबी र २२ जना माया प्रेमका कारण आत्महत्या गरेका छन् । व्यावसायिक असफलताका कारण ६ जना र प्रेममा असफल भएका कारण ६ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लामो समयको लकडाउनले आम्दानी बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको र मान्छेहरू चाहेको बेला चाहेको ठाउँमा जान नपाउँदा आत्महत्याका घटनामा वृद्धि भएको समाजशास्त्रका विद्यार्थी एवं अधिवक्ता खुमाकान्त पौडेलले बताए । ‘लकडाउन अझै लम्बिंदै गए यसको असरले यस्ता घटना अझै बढ्ने सम्भावना छ, सम्बन्धित निकायले समुदायमा मनोपरामर्शका प्रशिक्षणहरू चलाउन जरुरी भइसकेको छ,’ उनले भने ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?