+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८५ बलमा १३८ रन आवश्यक
चितवन राइनोज 2025
32/3 (5.5)
Shares

वीपी कोइराला र अहिलेको कांग्रेस

रमेश बस्ताकोटी रमेश बस्ताकोटी
२०७७ साउन ६ गते १७:५५

नेपालमा मात्र नभई सारा विश्वमा नै उच्च छवि बनाएका एक महान् राजनीतिज्ञ हुन्, वीपी कोइराला । नेपाली कांग्रेस पार्टीका संस्थापक नेता कोइराला आफ्नो जीवनभर प्रजातन्त्रका लागि लडिरहे । दूरदर्शी नेता कोइरालाको आदर्श, विचार र सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
आज अर्थात् साउन ६ गते कोइरालाको स्मृति दिवस । यही लेखमार्फत वीपीको राजनीतिक जीवन र उनका प्रेरणादायी कुरालाई प्रकाश पार्ने प्रयास गरेको छु ।

सानोमा वीपीका बारेमा प्रशस्त किस्सा सुनिन्थे । हामी स्कुल पढ्ने हुँदा नेपालमा प्रजातनत्र आइसकेको थियो । त्यसैले पनि वीपी सँगसँगै हिँडेको, नजिकबाट चिनेको र वीपी विचारबाट अत्यन्त प्रभावित शिक्षकले हामीलाई पढाउँदा वीपी र उनका विचारबारे भनिररहन्थे । त्यसकारण उनीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लिँदै गर्दा वीपीबारे पढ्ने मौका मिल्यो । वीपीका राजनीतिक जीवन, सिद्धान्त र विचारबारे अध्ययन गर्न थालियो । स्कुले जीवनमा नै वीपीलाई प्रशस्त पढियो ।

वीपीलाई प्रधानमन्त्री भएपछि मोहन शमशेरले सोधेका थिए, ‘वीपी अब तपाईं प्रधानमन्त्री हुनुभयो, तपाईंको उद्देश्य के छ ?’ वीपीले सरल उत्तर दिएका थिए, ‘एउटा मध्यम वर्गीय परिवारको मान्छे हुँ, बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीँबाट गुजारा चल्छ, मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पु¥याउने हो ।’

वीपीको यस्तो विचार सानैमा पढेको थिएँ, जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । वीपीका बारेमा यस्ता अनेकौं कुराहरू पढिन्थ्यो, सुनिन्थ्यो र अग्रजहरूबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेला मेरो बाल मस्तिष्कबाट नै वीपी विचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । त्यसकारण पनि सानैबाट (स्कुले जीवनदेखि नै) वीपी विचारप्रति झुकाव बढ्न थाल्यो । अहिले पनि वीपीको त्यो विचारप्रति झुकाव मरेको छैन । वीपीकै आर्दश र सिद्धान्तलाई आत्मसात् गरिएको छ ।

हामीले आत्मकथामा वीपीलाई पढ्यौं, सुन्दरीजलमा पढ्यौं, वीपीका अन्तर्वार्ताहरू पढ्यौं, लेखहरू पढ्यौं, वीपीका बारेमा विचार गोष्ठीहरूमा सहभागी भएर कुरा पनि सुन्यौं । मेरो बा, हजुर’बाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होइन । वीपीलाई पढेर बुझेर वीपीका आर्दश सिद्धान्त र विचार मन परेर रुखलाई भोट हाल्ने भएको हुँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन ।

नेपाल र नेपालीका लागि वीपीले थुप्रै विचार, नीति तथा सिद्धान्त छाडेर जानुभएको छ । जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । ती नीतिहरू अहिले लागू गर्न सकियो भने मात्र देशको कायापलट हुन्छ ।

राष्ट्रियताको सवालमा वीपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टिकोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउँदैन’थे, तत्काल प्रतिक्रिया जनाइहाल्थे । तत्कालीन भारतीय र चीनका शासक वीपीसँग यसकारण डराउँथे कि वीपीले बिस्तारै आफ्नो छवि अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त राजनेताको रूपमा विकास गर्दै लगेका थिए ।

नेपाल र नेपालीका लागि वीपीले थुप्रै विचार, नीति तथा सिद्धान्त छाडेर जानुभएको छ । जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । ती नीतिहरू अहिले लागू गर्न सकियो भने मात्र देशको कायापलट हुन्छ । तर विडम्बना आज सान्दाजुको पुण्य स्मृति दिवसमा यो भन्न करै लाग्छ कि उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली कांग्रेसले समेत सान्दाजुका कुरा लागू गर्न सकेन वा चाहेन ।

आज कांग्रेस वीपीलाई बेच्छ तर वीपीका आर्दश, सिद्धान्त र विचारहरूलाई व्यवहारमा लागू गर्दैन । यसले वीपीका अनुयायीहरूलाई ठूलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो, त्यतिबेला उसले न वीपी सम्झियो न त वीपीका विचार सिद्धान्त र आर्दशहरू नै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमशः घट्दै गयो र कांग्रेस आजको हालतमा पुगेको छ ।

वीपीका आफ्नै भाइ–भतिजा पटक पटक प्रधानमन्त्री भए । उनकै शिष्य शेरबहादुर पटक पटक प्रधानमन्त्री भए, अहिले कांग्रेसको सभापति छन् । वीपीकै कान्छा छोरा डा. शशांक अहिले कांग्रेसका महामन्त्री छन् । तर पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता सञ्चालनमा वीपी विचार र नीति लागू गर्न सकेन । यसले वीपीका अनुयायीलाई त चोट परेको छ नै स्वयं सान्दाजुको आत्मासमेत पक्कै पनि खुसी भएको छैन होला ।

वर्षको एक दुई दिन वीपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिँड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्ति नै समस्याको मूल जड हो ।
कांग्रेसले अब पनि बोलीमा मात्र होइन व्यवहारमा नै वीपीको सिद्धान्त अङ्गीकार गर्न सकेन भने कांग्रेस फेरि पनि वामपुड्के हुँदै जानेमा दुईमत छैन । यही सन्दर्भमा स्वयं वीपीले भनेको एउटा भनाइ स्मरणीय छ–

एकदिन एउटा कार्यकर्ताले वीपीलाई सोधेछन्, ‘सान्दाजु प्रजातन्त्र आएपछि हामीजस्ता कार्यकर्तालाई के हुन्छ ?’ वीपीले भनेछन्, ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टीभित्र सुकिला मुकिलाहरू हाबी हुनेछन्, तिनले आदर्श बिर्सनेछन्, त्यस्ताकाविरुद्ध पार्टीभित्रै फेरि तिमीजस्ता कार्यकर्ताहरूले संघर्ष गर्नुपर्र्छ । वीपी कति दूरदर्शी थिए भन्ने यही कुराले पुष्टि गर्छ ।

नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो, वीपीका आर्दश र सिद्धान्तहरू बिर्सिन थालियो र सुकिलामुकिला पार्टीमा हाबी हुँदै गए । तर इमान्दार कार्यकर्ताहरूले अझै तिनीहरूविरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एकदिन त्यो पनि अवश्य हुनेछ ।

त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । वीपी व्यक्ति मात्र नभएर विचार र सिद्धान्त हो, तसर्थ वीपीलाई अब कांग्रेसले व्यवहारमा नै अवलम्बन गर्नु आवश्यक छ ।

आफू पनि केही नयाँ दिन नसक्ने अनि ७० वर्ष पहिले वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यवहारमा अवलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्यूहमा फसेको छ । चक्रव्यूहबाट निस्कने एकमात्र सूत्र वीपीकै आर्दश, नीति र सिद्धान्त हो । यसलाई आजैदेखि व्यवहारमा नै अवलम्बन गर्न एकपटक सबै इमान्दार कांग्रेसीहरूले नेतृत्वलाई दबाब दिनु आवश्यक छ ।

(लेखक बस्ताकोटी नेपाल प्रेस युनियनमा आवद्ध छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?