Comments Add Comment

सेनाको कुटाइबाट मृत्यु भएका राजकुमारको शव पोस्टमार्टम गर्न काठमाडौं पठाइयो

१२ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका युवक राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव यहाँ पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतवार साँझ पठाइएको हो ।

‘हामीकहाँ फरेन्सिक विशेषज्ञ नभएको र विवादित घटनासमेत भएकाले विज्ञलाई नै देखाउने भन्ने उद्देश्यले काठमाडौं पठाएका हौं,’ भरतपुर अस्पतालको पोस्टमार्टम गर्ने चिकित्सक डा. सुजन अधिकारीले भने, ‘पोस्टमार्टम नै विवादित हुँदा घटना गिजोलिने डर हुने भएकाले सहजगता अपनाएर शिक्षण अस्पताल पठाइएको हो ।’

चार जना चेपाङ अगुवासहित प्रहरीको टोली शव लिएर काठमाडौं पुगेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि शव पोष्टमार्टम गर्न परिवारका सदस्यहरु सहमत भएका थिए । वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको राजगारी दिने सहमति भएको परिवारजनको भनाइ छ ।

गत साउन १ गते राप्ती नदी आसपास क्षेत्रमा घोँगी टिप्न गएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरी छाडेको र त्यसको केही दिनमै मृत्यु भएको दाबी परिवारले गर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–२ का घर भएका राजकुमारको साउन ८ गते उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो ।

राजकुमारका बाबु विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गर्दै लास नबुझ्ने अडान लिँदै आएका छन् । सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको बाबु विष्णुलालको भनाइ छ ।

सेनाले भने कुटपिटबाट मृत्यु भएको भन्ने परिवारको दाबीलाई इन्कार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment