
१८ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।
सधैं खुल्ला रहने बग्गीखानाको मुख्य गेट पूरै बन्द गरिएको छ । पैदलयात्रु प्रवेश गर्ने अर्को सानो गेटमा ट्राफिक प्रहरीहरु फेस सिल्ड र मास्क लगाएर ड्युटीमा खटिएका छन् । बग्गीखानामा आउनेहरुलाई उनीहरुले सम्झाइ बुझाइ गरी फर्काउने गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले अनलाइनखबरसँग भने, ‘मसमेत ३७५ जना ब्यारेक-ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’
उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ-जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।
महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका छौं ।’
तस्वीर : आर्यन धिमाल





प्रतिक्रिया 4