१६ पुस , दाङ । कविता जोशीले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ५ विकेट लिएपछि सुदूरपश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
समूह ‘बी’ मा रहेको सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा बिहीबार दिनको पहिलो खेलमा बागमती प्रदेशलाई २८ रनले पराजित गर्यो ।
खेलमा सुदूरपश्चिमले दिएको ७७ रनको विजयी लक्ष्यलाई पछ्याएको बागमती निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ४८ रनमा सीमित हुन् पुग्दा सुदूरपश्चिमलाई सेमिफाइनल पुग्न पर्याप्त बन्यो ।
ब्याटिङमा बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमकी कविता जोशीले सानदार बलिङ प्रस्तुत गरिन् । उनले जारी प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ५ विकेट हात पारिन् ।आफ्नो स्पेलको २ ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर उक्त विकेट हात पारेकी थिइन् ।
यस्तै टोलीका लागि कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले पनि १-१ विकेट लिएका थिए ।
त्यसअघि खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित पूरै ओभर खेल्दै ४ विकेट गुमाएर ७६ रन बनाएको थियो ।
टिमले उक्त योगफल बनाउने क्रममा डली भट्टले आक्रमक ब्याटिङ गरिन् । अविजित रहेकी उनले मात्र १४ बलको सामना गर्दै २ चौका र २ छ्क्कासहित २८ रनको योगदान गरिन् ।
यस्तै टोलीका लागि कविता कुवँरले पनि अविजित रहँदै १९ रन बनाएकी थिइन् । ३० बलको सामना गरेकी उनले १ चौकासहित उक्त रन बनाएकी थिइन् ।
यी दुई बाहेक टोलीका लागि कविता जोशीले १२ रन, मन्जु बोगटीले ५ रन र रेवती धामीले २ रन बनाएकी थिइन् ।
बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट हात पारिन् भने निशा तामाङले पनि १ विकेट लिएकी थिइन् ।
सेमिफाइनल पुग्ने क्रममा सुदूरपश्चिमले समूह चरणमा ३ खेल मध्य २ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता सुदूरपश्चिमसँग पराजित भएको बागमती समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि गण्डकी प्रदेश बाहिरिएको थियो । यस समूहबाट सुदुरपश्चिमसँगै प्रदेश १ ले सेमिफाइनल पक्का गरेको छ ।
यस्तै समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल पुस १८ गते हुनेछ भने फाइनल खेल पुस १९ गते हुनेछ ।
प्रतिक्रिया 4