
१६ पुस, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणको समयमा अन्तरपार्टी अन्तर्क्रिया संचालन र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा व्यवहारिक सहकार्यलाई अगाडि बढाउने विषयमा छलफल भएको प्रतिक्रिया चीनले दिएको छ ।
चार दिने नेपाल भ्रमणको समयमा चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको थियो । तर, सो भ्रमणको बारेमा चिनियाँ पक्षले केही पनि बोलेको थिएन ।
चिनियाँ विदेश मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले विहीबार भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको अन्तर्राष्ट्रिय विभागको एक टोलीले हालै नेपाल भ्रमण गरेर सत्तारुढ र विपक्षी राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ ।’
उनले अगाडि भनेका छन्,‘उनीहरुले अन्तरपार्टी अन्तर्क्रिया संचालन, बीआरआईमा सहकार्य बढाउने र पारस्परिक सिकाई र अन्य पारस्परिक विषयहरुमा विचार आदान प्रदान गरेका छन् ।’
वेनबीनले नेपाली नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनको १०० औ वर्षको अवसरमा वधाई दिएको, परम्परागत सम्बन्धलाई अझ सुदढ बनाउन जोड दिएको र बीआरआई लगायतका विषयमा कुराकानी भएको बताएका छन् ।
प्रतिक्रिया 4