+
+

सेयर बजारमा गिरावट, विश्लेषक भन्छन् : आत्तिनुपर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १५:०६

१८ माघ, काठमाडौं । साताको पहिलाे दिन आइतबार सेयर बजार परिसूचक घटेको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूचक ५४.७५ अंकले  घटेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ भने नेप्सेमा कारोबार हुने सबैजसो सूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै फाइनान्स समूह ४ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ र बिमा समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ । सबै सबइन्डेक्सनहरु घटे पनि प्रभु लाइफलगायतका कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ ।

आइतबार दिनभर भएका ९६ हजार १ सय ५६ कारोबारबाट १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँको कारोबार भएको छ ।

बजार घट्दा यी कम्पनीले कमाए

बजारमा ५४ अंक भन्दा धेरैको गिरावट आउँदा केही कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ । सबैभन्दा धेरै प्रभु लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले वृद्धि भएको छ ।

एभरेष्ट इन्स्यारेन्सको संस्थापक सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

यी कम्पनीले धेरै गुमाए

आइतबार सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । रिलायन्स फाइनान्सको ८.३० प्रतिशत अर्थात २१ रुपैयाँले सेयर मूल्य घटेर २ सय ३२ रुपैयाँमा झरेको छ ।

धेरै गुमाउने दोस्रोमा भने गोर्खाज फाइनान्सका लगानीकर्ता देखिए । गोर्खाजको सेयर मूल्य ७.८३ प्रतिशत अर्थात ३६ रुपैयाँले घटेर ४२४ रुपैयाँमा झरेको छ ।

‘आत्तिनु पर्ने अवस्था छैन, बजार सुधार हुन्छ’

सेयर बजारका विश्लेषक विष्णु बस्यालले भने अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले आज बजारलाई करेक्सनको रुपमा मात्रै बुझ्नुपर्ने बताए । बजार लगातार बढ्यो र कुनै एक दिन घट्यो भने त्यसलाई करेक्सन भन्ने चलन छ ।

विश्लेषक बस्यालले पनि आइतबार बजार सामान्य करेक्सन भएको बताए । आइतबार बजार घट्नुको कुनै त्यस्तो खास कारण नरहेको बताएका उनले भोलि नै पनि सुधार हुन सक्ने बताए ।

‘बजार लगातार बढिरहेको थियो, करेक्सन हुने बेला नै हो’ उनले भने, ‘भोलि नै पनि बढ्ने सम्भावना छ, नभए पनि केही दिन करेक्सन भएर बजार बढ्छ नै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?