+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares
झापाको केस स्टडी :

‘ओलीले निष्पक्ष चुनाव गराउने विश्वास छैन’

युक्त भेटवालको प्रश्न– यस्तो कर्म गर्ने मान्छेले कसरी निष्पक्ष चुनाव गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते २०:०२

४ फागुन, झापा । मध्यावधि चुनावको घोषणा गरेर पनि पदबाट राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा जसरी पनि चुनाव गराउने र दुई तिहाई बहुमत ल्याउने बताएका छन् । ओलीको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष र धाँधलीरहित होला कि नहोला ? विगतको ‘ट्रयाक रेकर्ड’ हेर्दा ओलीले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंकै छ ।

केपी शर्मा ओली बहुमतको निर्णयलाई शीरोधार्य गर्ने लोकतान्त्रिक संस्कारका नेता होइनन् भन्ने कुरा उनको पछिल्लो व्यवहारले स्पष्ट पारिसकेको छ ।

यसै सन्दर्भमा यहाँ २०५६ सालको आम निर्वाचन र केपी शर्मा ओलीमाथि लागेको धाँधलीको आरोपबारे चर्चा गर्न खोजिएको छ । यो घटना अलि पुरानै भएता पनि अस्वस्थ चुनावी प्रतिस्पर्धाको एउटा तीतो इतिहासलाई स्मरण गर्नु असान्दर्भिक नहोला ।

०५६ सालको पृष्ठभूमि

विसं. २०५६ सालमा देशभरि भूमिगत माओवादीको जगजगी थियो । माओवादीले चुनाव बहिष्कारको घोषणा गरेको थियो । यस्तो बेलामा कांग्रेस–एमालेको संयुक्त सरकारले ०५६ वैशाख २० र जेठ २६ गते गरी दुई चरणमा आम निर्वाचन सम्पन्न गरेको थियो । ११ सदस्यीय चुनावी मन्त्रिपरिषदमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने गोविन्दराज जोशी गृहमन्त्री थिए । एमालेका भरतमोहन अधिकारी अर्थमन्त्री थिए ।

०५६ को चुनावमा नेकपा एमाले र माले विभाजित बनेको अवस्था थियो । सूर्य चिन्ह एमालेले पाएको थियो भने वामदेव गौतम र सीपी मैनाली नेतृत्वको नेकपा माले तारा चिन्हबाट चुनाव लडेको थियो ।

त्यसबेला नेकपा मालेले माधवकुमार नेपाल–केपी ओली लगायतको नेतृत्व रहेको एमालेलाई राष्ट्रघाती एवं भारतपरस्त भएको आरोप लगाएको थियो । किनभने, माधव–ओली पक्षले कांग्रेससँग मिलेर संसदबाट महाकाली सन्धि पारित गरेका थिए । र, त्यही महाकाली सन्धिका कारण एमाले फुटेर माले बनेको थियो ।

भारतलाई गाली गर्ने नीति लिएका कारण त्यसबेला नेकपा मालेलाई भारतीयहरुले हराउने भूमिका खेलेको नेताहरु बताउँछन् । अर्कोतर्फ महाकाली सन्धिको समर्थन गरेका कारण विशेष गरी केपी ओलीलाई भारतले चुनावमा सहयोग गरेको त्यसबेलाका ओली निकटस्थ नेताकै स्वीकारोक्ति छ ।

केपी ओलीसँग नजिक रहेका एक नेताको दाबीअनुसार ०५६ सालको चुनावमा गिरिजाप्रसाद कोइरालासँग केपी ओलीले केही भित्री समझदारी गरेका थिए । दुबै दलका ठूला नेताहरुलाई जिताउन र विद्रोही मालेका नेताहरुलाई हराउन एमाले र कांग्रेसवीच कतिपय चुनाव क्षेत्रमा अघोषित गठबन्धन गरिएको तत्कालीन एमाले नेता बताउँछन् ।

०५६ सालको चुनावमा एमालेबाट झापा क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका युक्तप्रसाद भेटवाल भन्छन्, ‘माले फुटेपछि झापामा केपी ओलीले जे चाह्यो त्यही हुन्थ्यो । त्यसबेला पूर्वबाट एमाले र कांग्रेसका ६/६ जनालाई जिताएर संसदमा ल्याउने गिरिजासँग ओलीको समझदारी भएको रहेछ । ती १२ जनाभित्र ओली, गिरिजा, चक्र बास्तोला आदि पर्ने नै भइहाले । यसका लागि ती क्षेत्रमा उनीहरुले आफ्ना मान्छेलाई निर्वाचन अधिकृत बनाएर लगेका थिए ।

ओलीमाथि धाँधलीको आरोप

वामदेव गौतम र सीपी मैनालीले विद्रोह गरेर नेकपा माले गठन गरिसकेपछि तत्कालीन एमालेभित्र केपी ओली निकै शक्तिशाली बनेका थिए । उनले खासगरी झापा जिल्लामा उम्मदेवारहरु तय गर्दा आफ्नै समूहबाट बढी छानेका थिए । ओली आफूचाहिँ झापा क्षेत्र नं २ र ६ समेत गरी दुईवटा क्षेत्रबाट चुनाव लडेका थिए ।

झापा क्षेत्र नम्बर २ मा ओलीसँग कांग्रेसका वैचारिक नेता सीके प्रसाईंकी पत्नी गिरिराजकुमारी प्रसाईंले चुनाव लडेकी थिइन् । सो चुनावमा ओलीले १७ मतले प्रसाईलाई पराजित गरे । चुनावमा ओलीले धाँधली गरेर जितेको भन्दै कांग्रेस नेतृ प्रसाईंले पुनः मतगणनाका लागि मुद्दा दायर गरिन् ।

‘अनारमनीजस्तो कांग्रेसको गढ भएको ठाउँमा १४० जनाको रुखमा परेको मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर थिएन’ तत्कालीन एमाले नेता युक्त भेटवाल भन्छन्, ‘मतदानमा पनि र गणनामा पनि गडबडी भएको भन्दै प्रसाईले मुद्दा हालेकी थिइन्, फैसला नै नआई विशेष अदालतको म्याद गुजारियो ।’

युक्त भेटवालको केस

विगतमा काठमाडौंमा रहेर मदन भण्डारीसँगै काम गरेका युक्त भेटवाल झापाको सुरुङ्गा निवासी हुन् । झापा क्षेत्र नम्बर ४ मा कांग्रेसका चक्र बास्तोलासित २६ मतले पराजित भएका भेटवाल केपी ओलीले गिरिजासँग गरेको मिलेमतोकै कारण आफूलाई हराइएको दाबी गर्छन् । ०५६ सालको चुनावका बेला भेटवाल नेकपा एमालेको झापा जिल्ला कमिटीका उपसचिव थिए । उनी झापामा एमालेका लोकप्रिय नेता मानिन्थे ।

नेकपा एमालेमा रहँदासम्म महासचिव माधवकुमार नेपालतर्फ नलागिकन केपी ओलीकै गुटमा रहेका भेटवालले ०५६ सालको चुनावमा आफू केपी ओलीबाट ठगिएको गुनासो गर्न छाडेका छैनन् ।

त्यसबेलाको चुनावी कथा भेटवालकै शब्दमा–

मसँग काठमाडौं क्षेत्र नम्बर १ मा मदन भण्डारी र पछि विद्या भण्डारीलाई जिताउने गरी चुनाव हाँकेको अनुभव थियो । ०५६ सालको चुनावमा झापा क्षेत्र नम्बर ४ बाट म चक्र बास्तोलासँग लडेको थिएँ । यस क्षेत्रमा मालेबाट राधाकृष्ण मैनाली उठेका थिए ।

०५६ को चुनावमा मलाई पार्टीका तर्फबाट ५० हजार रुपैयाँ खर्च दिएका थिए । तर, ५ लाख खर्च भयो । ३ लाख व्यक्तिगत खर्च भयो । ९४ हजार काठमाडौंका साना व्यापारीहरुले उठाएर पठाएका थिए । तल, शुभ चिन्तकले केही सहयोग दिए । ओलीले भने ६ करोड सिध्याए । म पार्टीको उपसचिव थिएँ । मलाई हिसाब थाहा नहुने कुरै भएन ।

ओलीले मेरो चुनाव क्षेत्रमा मतदातालाई भड्काउने किसिमले भाषण गरे । यस क्षेत्रमा मालेतिर लागेकाहरु मैनाली, उप्रेती लगायतका कुमाई परिवारहरु धेरै थिए । उनीहरुको मतसमेत मलाई आउने सम्भावना थियो । तर, ओलीले भाषणमा भने, मैनबत्तीको उज्यालो राखिदियो भने बोकाहरु केही खान पाइन्छ कि भनेर आउँछन्, अनि बत्तीले मुख पोलेपछि बोकाहरु थु–थु गर्दै भाग्छन् । यी मालेहरु भनेका त्यस्तै बोकाहरु हुन् !

ओलीले यसको गर्नुका पछाडि गिरिजासँग भएको सहमतिअनुसार नै बास्तोलालाई जिताउनका लागि रहेछ । त्यसपछि आम सभामा मैले उनलाई बोलाइनँ ।

मतदानभन्दा अगाडि नै सत्तापक्ष गिरिजाबाट त्यहाँ ठूला–ठूला अभ्यासहरु भएका थिए । चक्र बास्तोलाले दक्षिण बेल्टमा कोचेमेचे, राजबंशी बस्तीहरु रहेका चार गाविसमा जिन्सी सामानहरु वितरण गरे । धरानबाट सुँगुरका पाठाहरु पनि लगेर बाँडियो । त्यसका बाबजुद पनि मैले २०० मतले चुनाव जितेको थिएँ, तर षड्यन्त्र गरेर मलाई २६ मतले हराइएको घोषणा गरियो ।

चक्र बास्तोलाले आफ्नो मान्छेलाई निर्वाचन अधिकृत बनाएर लगेका थिए । गुप्चतर विभागका एकजना इन्स्पेक्टर युक्त भेटवालका नातेदार पर्ने भएको भन्दै हेडक्वार्टरमा फिर्ता लगिए । मतदानको तीन दिनअघि उनलाई हेडक्वार्टर लगे ।

त्यसबेला एमाले पार्टी फुटेको अवस्था थियो । मतदानको तीन दिनअघि माले कार्यकर्ताको करिब ७ सय भोट कांग्रेसतिर डाइभर्ट भएको सुनियो ।

चुनाव सकिएपछि चन्द्रगढीमा मत गणना सुरु भयो । सुरुङ्गा र घैलाडुब्बाबाट गणना सुरु गर्दा मेरो र चक्र बास्तोलाको ५ हजारको मतान्तर थियो । दक्षिणतिर गन्दै जाँदा मतान्तर कम हुँदै गयो । त्यहीबेलामा मध्यरातमा गडबडी सुरु गरियो ।

उम्मेदवारहरुलाई बाहिर आउन भनियो । म पनि बाहिर निस्किएँ । अन्तिम बेलामा सिडियोको कार्यकक्षमा गुप्तचरका प्रमुख, प्रहरी प्रमुख कांग्रेसका चक्रप्रसाद बास्तोलासहित बसेर केही मानिसहरुसँग लेनदेन भए छ । मेरा एजेन्टलाई पनि भारु बाँडिएछ । म प्रतिकारमा भित्र जान खोज्दा रिभल्भर तेस्र्याइयो । नजिकै जिविस सभापति अर्जुन राईको क्वार्टरमा गएर गुहार माग्दा वास्तै गरिएन । राति साढे १२ बजेतिरको बेला थियो ।

चक्रप्रसादले मसँग हात मिलाएर तपाई नेपालको राजनीतिमा लक्की हुनुहुँदोरहेछ, पहिलोचोटि उठ्नुभो, मलाई पराजित गर्नुभो भनेर उनी मत गणनास्थलबाट हिँडे ।

त्यसपछि दुई ठाउँमा गणना भइरहेकोमा तीन ठाउँमा काउन्ट गर्ने भनेर लगियो । चारजना अधिकृत, कांग्रेसका केही मान्छेहरु गएपछि बत्ती निभाइयो । सय–सयको बिटो पारेको मेरो मत काउन्टिङ भइसकेको बक्सामा हालियो र गनिसकेको कांग्रेसको अर्को बिटो बाहिर निकालियो । एजेन्टहरुले प्रतिवाद गरे । यसलाई रोकौं, कब्जा गरौं भनेर एकजना कार्यकर्ताले भन्दा नेताहरुले मानेनन् । अब जे भयो, परिणामलाई स्वीकार गरौं भने । मेरो २ सय मत गायव गरियो र २६ भोटले हारेको भनियो ।

उज्यालो हुनै लागेको थियो, सुरुङ्गा आएर पीसीओबाट गुप्तचर प्रमुख र सीडीयोलाई फोन गरेर भनें, यो के गरेको ? दिनदहाडै लुट्ने ? तिमीहरुलाई बाँच्ने मन छैन ? आयु छोट्याउने मन हो ? यसले उनीहरुको वीचमा ठूलो खैलाबैला भयो । पछि बुझ्दै जाँदा यो सबै माथिको प्लानमै भएको रहेछ ।

यसरी मत गणना भइसकेपछि एमालेको क्षेत्रीय कमिटीको बैठक बस्यो । पुनगणनाका लागि मुद्दा लड्दा एक्लो भइने भइयो । पार्टीका अगुवा साथीहरुले नै मुद्दामा जानुहुँदैन, फैसला ल्याउन सकिँदैन, दुःख पाइन्छ भने ।

त्यसपछि म कानको अप्रेसनका लागि काठमाडौं गएँ । र, टिचिङ अस्पतालमा भर्ना भएँ । म अस्पतालमै रहेका बेला क्षेत्र नम्बर २ मा ओलीसँग १७ भोटले पराजित गिरिराजकुमारीले मुद्दा हालेको खबर आयो ।

गिरिराजकुमारीको मुद्दा परेपछि ३५ दिन हदम्याद पुग्न लागेको भन्दै अस्पतालबाटै साथीहरुले मलाई खाली कागजमा सही गरेर लगे र मुद्दा दायर गरे । उपचार गरेर झापा जाँदा दुईवटा जति पेशी कटेछन् । पछि थाहै नदिई वारेस पेशीमा गएन छन् । भेटवाललाई थाहा नदिने र तारेख छाडिदिने ओली गुटले निर्णय गरेछ र टंक उप्रेतीले तारेख छाडेछन् ।

त्यसपछि उल्टै चक्र बास्तोलासँग पैसा खाएर युक्त भेटवालले तारेख छाड्यो भनेर पार्टीभित्रैबाट प्रचार गरियो । मैले तत्कालीन पार्टी सचिव (हाल राष्ट्रियसभाका सांसद) देवेन्द्र दाहाल र वारेश टंक उप्रेतीलाई राखेर प्रश्न गरें, यो अपराध कसले गरेको ? यस्तो तारेख किन छाडेको ? अब कार्यकर्ताका वीचमा तिमीलाई लगेर उभ्याइदिन्छु ।’

टंकले सचिव (देवेन्द्र)लाई जानकारी दिएको भने । उनीहरुवीच बाझबाझ भयो । देवेन्द्रले जानी–जानी गरेको होइन, भुलवस भयो, माफी दिनोस् भने । त्यसपछि म १४ पटक अदालत गएँ । साक्षी बकाउने काम भयो । मुद्दा लड्दा थप खर्च भयो । साथ सहयोग दिने कोही थिएनन् ।

त्यसबेलाको विशेष अदालत इलाममा मैले मुद्दा जितें । पुनमतगणना गरी पाउँ भन्ने मेरो माग सदर थियो । न्यायाधीश रमेश झाले पुनः मतगणनाको आदेश गरे ।

हुन त त्यसबेला चक्र बास्तोलाका मानिसहरुले न्यायाधीलाई प्रभाव पार्ने प्रयास पनि गरेका थिए । केही बरिष्ठ वकिलहरु काठमाडौंबाट इलाम गएर न्यायाधीशलाई प्रभाव पार्ने प्रयास गरे । न्यायाधीशले अदालतमै खुलासा गरिदिए, उहाँहरु मेरो दुःख हेर्न आउनुभएको थियो ।

अन्ततः न्यायाधीशले पुनः मतगणनाको आदेश दिए । त्यसपछि बास्तोलाले सर्वोच्च अदालतमा मुद्दा हाले । मैले प्रतिवादी खापें । तर, यो मुद्दा चारपटकसम्म पेन्डिङमा हालियो ।

मैले तत्कालीन महासचिव माधवकुमार नेपाललाई भेटें र ‘केपी ओलीका अपराधहरु’ सुनाउँदै भनें, मलाई न्याय दिलाउनुपर्‍यो । तपाईं महासचिव हो, कार्यकर्ताको रक्षा गर्नोस् ।

तर, महासचिव माधव नेपाल गुटले यति ग्रस्त भएका थिए कि मचाहिँ केपी ओलीकै गुटको मान्छे हुँ भन्ने उनको बुझाइ थियो । त्यही बुझाइले गर्दा उनले न्याय माग्न केपी ओलीसँगै जानोस् भने ।

त्यसपछि म सिधै प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको च्याम्बरमा गएँ र भनें, मैले न्याया पाइनँ, मेरो मुद्दा पेशीमा चढाइदिनुपर्‍यो श्रीमान् । विशेष अदालतको आदेशविरुद्ध यहाँ मुद्दा हालिएको छ ।

उपाध्यायले मेरा कुरा गम्भीरतापूर्वक सुने । रजिष्ट्रारलाई त्यहीँ बोलाएर चार दिनपछि मुद्दा पेशीमा चढाउन भने ।

चार दिनपछि सर्वोच्चले मेरै पक्षमा निर्णय सुनायो । विशेष अदालतको आदेश सदर भयो । अब चक्र बास्तोलाको मुद्दा हाल्ने ठाउँ सकियो ।

तर, विशेष अदालतको म्याद एक वर्ष सकिइसकेको थियो । सरकारले म्याद थप्दै आएको थियो । न्यायाधीश रमेश झा पुनः मतगणनाका लागि तयारी अवस्थामा थिए । तर, नेपाल सरकारले म्याद थप गरेन । पुनःमतगणना नै भएन ।

मेरो त अदालतले पुनः मतगणनाको आदेशसम्म दिएको थियो, ओलीविरुद्ध गिरिराजकुमारीले दायर गरेको मुद्दामा फैसला नै गर्न नपाई विशेष अदालतको म्याद सकियो । गिरिराजकुमारीको मुद्दा फैसला हुन बाँकी छँदै म्याद सिद्धिएपछि अदालतले कामै गर्न पाएन ।

अदालतको म्याद थपको माग लिएर म तत्कालीन कानूनमन्त्री महन्थ ठाकुर कहाँ गएँ । चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बनिसकेको थियो । महन्थ ठाकुरसँग मेरो बडो रोचक सम्वाद भयो ।

म्याद थपिदिनुपर्‍यो, अदालतको आदेश कार्यान्वयनमा जानुपर्‍यो भन्दा मन्त्री ठाकुरले म सक्दिनँ भने । के कारणले भनेर सोध्दा सक्दिनँ मात्र भने । के कारणले सक्नुहुन्न ? राजा वीरेन्द्रले नगर्नु भनेको छ ? तपाईको प्रधानमन्त्री गिरिजाले भनेको छ ? कि मेरो पार्टीका महासचिव माधव नेपालले भनेको छ ? जनताको मतको गाँठो फुकाउनोस् भन्दा ठाकुरले सक्दिनँ भने ।

महन्थजी, उसोभए मैले लडेर ल्याएको प्रजातन्त्र, संविधान र त्यस अन्तरगत बनेको अदालतको फैसला अब कार्यान्वयन हुँदैन भने मलाई के भन्न खोज्या हो ? संविधानलाई अस्वीकार गरेर जा भनेको हो ? हतियार बोक्न जा भनेको हो ? राज्यले मलाई विद्रोही बनाएको हो ? यति भनेर म निस्कें ।

विद्या भण्डारीको त्यो प्रस्ताव

यहीवीचमा मलाई एकदिन विद्या भण्डारीले बोलाउनुभयो । उहाँ चाबहिलमा बस्नुहुन्थ्यो, डेरा थियो ।

चुनावमा हराइनु अनि अदालतको म्याद नथपिनुका पछाडिका कारणहरुका बारेमा छलफल भयो । उहाँले भन्नुभयो, विगतका कुरा बिर्सनोस् । तपाईले मदन भण्डारीलाई बुझ्नुभएको छ । मलाई त सिकाउनुभयो, मेरो अभिभावक हो । तपाई पार्टीको स्थायी समितिमा आइदिनुपर्‍यो । केही समयपछि पार्टी नेतृत्वमा जाने ढोका खुल्छ । विगतमा भएका केही कुराहरुलाई बिर्सिदिन सक्नुहुन्छ भने बिर्सिदिनोस् भन्नुभयो ।

मैले उहाँलाई भनें, विद्याजी तपाई के भन्दै हुनुहुन्छ ? मदन भण्डारीसँग मेरो के कुरा हुन्थ्यो ? काठमाडौं एक नम्बर क्षेत्रमा उहाँलाई कसरी प्रस्ताव गरिएको थियो ? उहाँको जीत कसरी भएको थियो ? तपाईलाई जिताउनका लागि मैले कस्तो भूमिका खेलेको हो ? यो विरोधाभाषपूर्ण अवस्थामा म काम गर्न सक्दिनँ । मलाई तपाईले यस्तो प्रस्ताव गर्ने ? पैसामा, पदमा म बिक्री हुने ?

विद्याले म केही पनि बोल्न सक्दिनँ भन्नुभयो ।

यहीवीचमा न्यायाधीश झाले फोन गरेर मलाई भने, ‘मैले मेरो इथिक्सिलाई तोडेर तपाईलाई फोन गर्दैछु । मैले तपाईजस्तो व्यक्तिलाई न्याय दिन सकिनँ ।’ मैले उहाँलाई भनें, मलाई अब सांसद हुनु छैन । मलाई घृणा लाग्यो । म अब जान्नँ ।

केपी ओलीसँग सम्बन्धविच्छेद

एकदिन मलाई केपी ओलीले फोन गरेर दमकस्थित घरमा भेट्न बोलाए । मैले एमाले पार्टी छोड्नुभन्दा एक महिना अगाडि ०५७ सालको असोजतिरको कुरा हो । हामी दुई जनावीच करिब तीन घण्टा छलफल भयो ।

मुद्दा चलिरहँदा चक्र बास्तोलाले पनि मलाई प्रलोभनका लागि खबर पठाइरहेका थिए । चुनाव सकिएको केही समयपछि उनी मन्त्री बनेका थिए ।

मैले काठमाडौंमै हुँदा केपीलाई भनेको थिएँ अब उपनिर्वाचनका लागि झापा क्षेत्र नं ६ छाड्ने हो भने २ मा तिमी मुद्दा हार्छौं । माधव नेपालले ओलीलाई ६ नम्बरबाट छोडाउँदै थिए । र, मुद्दा हराएर २ नम्बरबाट पनि उताबाट पनि किकआउट गर्न खोजिँदै थियो । त्यसबेला माधव पक्षले ओलीलाई संसदबाटै बाहिर निकाल्न खोजेका थिए ।

स्थायी कमिटीले ६ नम्बर छोडाउन लागेका बेलामा मैले ओलीलाई दुबै क्षेत्रबाट तिमी किकआउट हुँदैछौ, बरु मलाई खुल्लारुपमा भन, म मुद्दा छाडिदिन्छु भनेको थिएँ । नेतृत्वलाई बचाउनुपर्छ भन्ने आदर्शका लागि मैले त्यसो भनेको थिएँ । तर, ओलीले म रिङआउट हुन सक्छु, तर तपाईका बारेमा तल–माथि गर्दिनँ भनेका थिए ।

यही सिलसिलामा मुद्दाको फैसला आइसकेपछि म उनलाई भेट्न दमक गएँ । उनले मदन भण्डारीदेखिका कुराहरु ल्याए । उनको कुरा मैले धैर्यतापूर्वक सुन्नुपर्छ भन्ने थियो । सोचेजस्तो, चाहेजस्तो हुँदोरहेन छ राजनीति । मलाई यताबाट किक हानिसके, उताबाट पनि हार्नुपर्‍यो भने त भएन । तपाई भोलि पार्टीको नेतृत्वमा आउने सम्भावना भएको, पार्टीको स्थायी कमिटी र सरकारमा जाँदा प्रधानमन्त्री बाहेकको पद पाउन सक्नुहुन्छ । यसका लागि रि–काउन्टिङका लागि प्रयास नगर्नुपर्ने उनको आशय थियो । तर, उनले त्यस्तै शब्दचाहिँ बोलेनन् ।

मैले सोधेंं, ‘तपाईलाई चारपटक आएर चक्र बास्तोलाले भेटेका छन् । म मुद्दा लडिरहेको छु, तपाईले यो यो मितिमा भेट्नुभयो, ऊ किन आयो ?’ ओलीको जवाफ थियो, ‘तपाईसँग कुराकानी गर्न र सम्पर्क सूत्र बनाउन धेरै प्रयत्न गरें सकिनँ’ भने ।

‘चक्र र गिरिजाले राखेको प्रस्तावचाहिँ ३ करोड, ४ करोड कति भारु चाहिन्छ, दिने । उता गिरिराजकुमारीलाई पनि जति चाहिन्छ दिने । यही भन्न आएको थियो’ मेरो मन बुझ्न ओलीले यस्सो घुरेर हेरे ।

मैले ओलीलाई भनें, तिमी यति निच र यति अपराधी भइसकेका थियौं भन्ने मलाई लागेको थिएन । जनताले यति विश्वास दिएर हामीलाई जिम्मेवारी दिएका थिए, तर तिमीहरु यति निच काम गर्न पनि तयार भएका रहेछौ । तिम्रो र मेरो सम्बन्ध अब यहीँनेर सिद्धियो । तिमीहरुले बढीमा के गर्छौ भन्दा मलाई मारिदिन सक्छौ । तर, तिमीहरु धुलामा टक्टकिएको हेर्ने मेरो चाहना छ ।

यत्ति भनेर म निस्किएँ ।

ओलीले भने, ‘मलाई चप्रामारी जानु छ, तपाईलाई घर.(सुरुङ्गा) मा छाडिदिन्छु ।’ मैले भनें, म हिँडेर जान्छु । केपी, तिमीसँग सक्कियो । अब मैले मेरो यात्रा सुरु गरें ।

पछि पार्टीले निर्णय गरेर केपी ओलीले ६ नम्बरमा छाडे । तर, उपचुनावमा एमाले सचिव देवेन्द्र दाहाल गोपाल कोइरालासँग चुनाव हारे । यस क्षेत्रमा ओलीले करिब २ हजारको मतान्तरले जितेका थिए, तर एमालेले उपनिर्वाचन जित्न सकेन ।

जनमोर्चा हुँदै माओवादी, त्यसपछि स्वतन्त्र

त्यसबेला देशमा माओवादीको चहल–पहल बढिरहेको थियो । माओवादीले मलाई पार्टीमा प्रवेश गराउने प्रयासहरु गर्न थाले । मैले संविधानसभा र गणतन्त्रको मुद्दा ठीक छ भनेको थिएँ । तर, अरु कुरामा मेरो मतभेद थियो ।

यहीवीचमा सेनाले मलाई माओवादीको आरोपमा गिरफ्तार गरेर चारआली ब्यारेकमा ३२ दिनसम्म राख्यो । त्यसबेला ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिइसकेका थिए ।

पार्टी फुटको कठिन बेलामा पनि एक हातले टिकट दिएर चुनावमा हाल्दिने, अर्को हातले काखमा राखेर आफ्नै मान्छेलाई छुरा घोप्ने ? चुनावमा यस्तो कर्म गर्ने मान्छेले कसरी भन्न सकिन्छ कि निष्पक्ष चुनाव गर्छ ?

म माओवादी र जनमोर्चासँग सम्वादमा थिएँ । ०५९ सालमा नरबहादुर कर्माचार्यको घरमा नारायणकाजी, गिरिराजमणि पोखरेलहरुसँग छलफल भयो । ०६४ सालमा लीलामणि, अमिक शेरचन, नारायणकाजी, गिरिराजमणिहरुले आग्रह गरेपछि म ०६३ को मंसिरतिर जनमोर्चामा प्रवेश गरें ।

मलाई ०६४ को पहिलो संविधानसभा चुनावमा केपीविरुद्ध लड्न झापा पठाए । ४ नम्बरमा चक्र बास्तोलाकै क्षेत्रमा र केपी ओलीको क्षेत्र ७ मा पनि म जनमोर्चाका तर्फबाट उम्मेदवार भएँ । अन्ततः मैले दुबैमा माओवादीलाई छाडें । र, दुबै क्षेत्रबाट केपी ओली र चक्र बास्तोलाले हारे । मैले चक्र बास्तोलालाई पनि हराएँ र ओलीलाई हराएर लामो शान्तिको सास फेरें ।

पछि जनमोर्चा (एकताकेन्द्र) र माओवादीवीच एकीकरण भयो । मैले ११ वर्षअघि नै पार्टी सदस्य पनि नरहने गरी माओवादी छाडेर हिँडेको हुँ । अहिले कुनै पार्टीमा पनि आवद्ध छैन ।

‘ओलीले निष्पक्ष चुनाव गराउँछन् भन्ने विश्वास छैन’

२०५१ सालमै केपी ओलीले ८० लाख रुपैयाँ चारवटा गाविसमा बाँडेर चुनाव जितेका हुन् । ०५६ मा जब उनी ६ नम्बर क्षेत्रबाट आउट भए, उपचुनावमा देवेन्द्र दाहाल गएका बेला दक्षिण बेल्टका ७ गाविसको म कमाण्डर भएर बसेको थिएँ ।

ए तपाईंलाई मत किन्न सवा करोड चाहियो ? यसो भन्दै पार्टी कमिटीले पैसा बाँड्ने कुरा अस्वीकार गर्‍यो । ओलीले जितेको ठाउँमा दाहाल हारे ।दाहालले त्यसबेला मत किन्नुपर्छ भन्ने प्रस्ताव राखे । उनले यसका लागि सवा करोड रुपैयाँ आवश्यक पर्ने बताएका थिए । उनले त्यसबेला मसँग भनेका थिए, मत नकिनिकन कहिले चुनाव जितिएको छ ? ०४८ सालको मात्रै त हो नि । ०५१ सालमा चारवटा गाविसमा ८० लाख खर्च गरेर ४ हजार मत किनेको हो ।

पार्टी फुटेको कठिन बेलामा पनि एक हातले टिकट दिएर चुनावमा हाल्दिने, अर्को हातले काखमा राखेर आफ्नै मान्छेलाई छुरा घोप्ने ? चुनावमा यस्तो कर्म गर्ने मान्छेले कसरी भन्न सकिन्छ कि निष्पक्ष चुनाव गर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?