७ फागुन, काठमाडौं । विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिगमा अपराजित रहँदै उपाधि जित्यो । एपीएफले अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गर्दै सबै १२ खेल जित्यो ।
च्याम्पियन एपीएफकी सरु लिम्बु लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र स्कुटर प्राप्त गरिन् । यस्तै एपीएफकै सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड र भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।
नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र अमृता जैसी उत्कृष्ट डिफेण्डर तथा आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर घोषित भइन् । उत्कृष्टहरुले नगद ५०-५० हजार प्राप्त गरे ।
उषा नाथ : उत्कृष्ट गोलकिपर
सोचेको भन्दा राम्रो प्रदर्शन भयो । यस अवार्डले अझै राम्रो गर्न हौसला दिएको छ । बेस्ट किपर नै हुन्छु भन्ने थिएन । आफ्नो प्रदर्शन राम्रो दिएँ भन्ने लाग्छ । टिमले पनि राम्रो खेल्यो ।
अमृता जैसी : उत्कृष्ट डिफेन्डर
लिगमा राम्रै प्रदर्शन गरेँ । हाम्रो टिमले पहिलो चरणमा धेरै गोल गर्न सकेन । दोस्रो चरणमा त्यसमा सुधार भयो । टिमले पनि राम्रो खेलेको हो । यस अवार्डले अझै राम्रो गर्न हौसला मिलेको छ । बेस्ट डिफेण्डरको अवार्ड पाउँछु कि भन्ने आश थियो तर कन्फिडेन्ट थिएन ।
विमला चौधरी : उत्कृष्ट मिडफिल्डर
समग्रमा प्रदर्शन राम्रो भयो । मेरो प्रदर्शन पनि राम्रै भयो । मैले बेस्ट मिडफिल्डर पाउँछु भन्ने सोचेको थिइनँ । अन्तिम खेल जित्छौँ भनेर आएको थियौँ । तर आफ्नै गल्तीले गोल खान पुग्यौं ।
सावित्रा भण्डारी : उत्कृष्ट फरवार्ड
विगतमा भन्दा यस पटक लिग अलि फरक रह्यो । यसअघि गोल गर्दा गन्द्रयाङ गुन्द्रुङमा गोल गरेको थिएँ । यस पटक क्लियर गोल गरे ।
टिमका अरु साथीहरुको सहयोगले गर्दा नै मैले यतिसम्म प्रदर्शन गरेँ टिमलाई धन्यवाद । म नहुँदा पनि टिमले राम्रो खेलेर मलाई खुशी दिएको छ ।
भगवती थापा : उत्कृष्ट प्रशिक्षक
हामीले १२ वटै म्याच जितेर उपाधि जित्यौँ त्यसमा सन्तुष्ट छौँ । तर उपाधि अली खल्लो पनि भयो । हामीले साम्बालाई चोटका कारण गुमायौँ ।
सरु लिम्बु : सर्वोत्कृष्ट खेलाडी
धेरै समयपछि हामी फुटबलमा ब्याक भयौँ । हामीले लिग अघि ट्रेनिङ गर्दा खासै राम्रो भएको थिएन । लिगमा कसरी राम्रो गर्ने भन्ने चिन्ता थियो । तर लिगको खेलहरुमा राम्रो प्रदर्शन भयो ।
मेरो प्रदर्शन पनि राम्रो भयो । बेस्ट मिडफिल्डर पाउँछु होला जस्तो लागेको थियो । बेस्ट प्लेअर पाउँछु भन्ने सोचेको थिइनँ ।
यो मेरो लागि अनपेक्षित कुरा भयो । यसले जीवनमा अझै राम्रो गर्ने हौसला मिलेको छ । मलाई धेरै मोटिभेट पनि भएको छ । केही गर्नुपर्छ भन्ने थियो त्यसलाई प्रमाणित गरेका छौँ ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर