+
+

राजु अधिकारीको ‘आखिर रोज्ने के ?’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १८:३०

८ वैशाख, काठमाडौं । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के ?’ लोकार्पण गरिएको छ ।

कोभिड–१९ को बढ्दो दोस्रो लहरका कारण पुस्तक टेलिभिजन प्रसारणमार्फत लोकार्पण गरिएको हो । उद्यमी एवम् गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो र लेखकले मंगलबार संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

टेलिभिजनमा पुस्तक लोकार्पणका अवसरमा जीवन, जगत, मानिसका इच्छा आकांक्षा, योग, ध्यान अनि यसको प्रभाव आदिका विषयमा साहित्यकार अमर न्यौपानेले लेखक अधिकारी र उद्यमी महतोसँग अन्तर्संवादसमेत गरे ।

उक्त अवसरमा लेखक अधिकारीले मानिसको जीवनमा सम्भावना र अवसर प्रशस्त हुँदा जीवनको बाटो रोजाइ र निर्णय ठीक भएन भने त्यो अन्यन्तै दुःखद या परिणामहीन हुने बताए । यसले मानिसलाई दुःखद अवस्थामा पुर्‍याउने उनको भनाइ छ ।

‘आन्तरिक जीवन र बाह्य जीवनबीचको लडाइँ पनि मानिसको सबभन्दा ठूलो लडाइँ हो । त्यसलाई थोरै भए पनि समाधान दिने जमर्काे पुस्तकले गरेको छ,’ अधिकारीले भने ।

धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा पनि उनले पुस्तकमा उल्लेख गरेका छन् । ‘मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न,’ उनी भन्छन्, ‘धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न । यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पनि पुस्तकमा महत्वका साथ सिकाउन खोजेको लेखक अधिकारीले बताए ।

साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । ‘मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ । तर जीवनमा साधनालाई छुटाउनुहुँदैन’ अधिकारी थप्छन्, ‘जीवनको भूमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकमार्फत गर्न खोजेको छु ।’

मानव जीवनमा निर्णयशक्ति अभिवृद्धि गर्ने पुस्तक ‘आखिर रोज्ने के ?’ रहेको उद्यमी महतोले बताए । यसअघि डा. अधिकारीका ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौं, भोग पनि गरौं’, ‘तपाईंका लागि योग’, ‘यस्तो होस् जीवनशैली’ र ‘जिन्दगी, रिल्याक्स प्लिज !’ प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?