Comments Add Comment

माधव नेपाल पराजित हुनुका पाँच कारण

अरुण बराल

नेकपा एमालेको अध्यक्ष पदमा माधव नेपाल पराजित हुनुका कारणहरु के-के हुन सक्छन् ? पक्कै पनि पराजित हुने नेताहरुले यसबारे समीक्षा गर्ने छन् । बाहिरबाट विश्लेषण गर्दा माधव नेपाल पराजित हुनुका पछाडि मूलतः पाँचवटा कारणहरु देखिन्छन् । Madhav-Nepal-

पहिलो कारण : प्राकृतिक हार

माधव नेपालको पराजय अस्वाभाविक थिएन । नेकपा एमालेमा केपी ओलीको गुट निकै पुरानो मानिन्थ्यो । १५ वर्ष पार्टीको नेतृत्व तहमा बसे पनि माधव नेपालको कुनै औपचारिक गुट थिएन । केपी ओली संगठनमा जति बलिया थिए, माधव नेपालको त्यो स्थिति थिएन ।

महाधिवशेनको मुखमा झलनाथ खनाल र वामदेव गौतम समूहमा रहेका युवा नेताले उचालेर उनलाई अध्यक्षको उम्मेद्वार बनाएका थिए । त्यसैले माधव नेपालले हार्नु अचम्मको विषय होइन, उनले ओलीलाई जितेको भए त्यो चाँहि आश्चर्य हुने थियो ।

माधव नेपालले महाधिवशेनमा जसरी केपी ओलीकै हाहाहारीमा मत प्राप्त गरे, त्यो नै उनको सबैभन्दा ठूलो सफलता हो । ओली पक्षले माधव नेपाल प्रतिस्पर्धामै आउन नसक्ने र ३/४ सय मतले पछि पर्ने अनुमान गरेको थियो । तर, महाधिवेशन प्रतिनिधि छनोटकै बेलादेखि माधव नेपाललाई जुन सफलता मिल्यो त्यसले उनको पराजयलाई लज्जाजनक बनाएन ।

तैपनि संस्थागत र बलियो ओली गुटसँग उनको पराजय प्राकृतिक पराजय नै हो । भ्यागुतो जति उफ्रिए पनि कान्लोमाथि उक्लन नसकेजस्तै भयो ।

दोस्रो कारण  : झलनाथको भूमिका

माधव नेपालको पराजय प्राकृतिक नै भए पनि उनी जब ४४ मतले मात्रै हारे, यसले के संकत गर्दछ भने उनको जित्ने सम्भावना पनि थियो । तर, यसमा पार्टी अध्यक्ष झलनाथ खनालका पक्षका केही मानिसले उनलाई धोका दिए । ३४ जना प्रतिनिधिले झलनाथ खनालको नाम लेखेर माधव नेपाललाई मतदान नगर्नु पराजयको महत्वपूर्ण प्राविधिक कारण बन्न पुग्यो ।

त्यस्तै मतदानमा सहभागी नभएका ४४ प्रतिनिधिमा समेत माधव नेपालमा मान्छे परेका थिए । उनीहरुको मत पनि परेको भए माधव नेपालले केही मतान्तरले ओलीलाई जित्न सक्ने थिए । मनोनित हुनुपर्ने १११ प्रतिनिधि विवादका कारण चयन हुन सकेनन् । तर, त्यो मनोनयन भागबण्डा अनुसार नै हुने भएकाले त्योविनै मतदानमा जाँदा यसले दुबै पक्षलाई खासै असर पारेन ।

झलनाथका कार्यकर्ताले माधव नेपाललाई मत नदिनु नै नेपालको पराजयको प्राविधिक कारण बन्न पुग्यो । बाख्रो पनि हराउनु स्याल पनि कराउनु भनेजस्तै झलनाथ खनालसँग सम्बन्ध बिगि्रएका सुरेन्द्र पाण्डे महासचिवमा ईश्वर पोखरेलसँग पराजित भए भने झलनाथसँग राम्रो सम्बन्ध रहेका भीम आचार्य हारेनन् । हुन सक्छ, खनालले आफूलाई राष्ट्रपतिमा सुनिश्चित गर्न ओलीमाथि गुन लगाए । दुबै पूर्वेली भएकाले उनीहरुवीच क्षेत्रीय भावनाले पनि साइनो जोड्यो ।

पाण्डे र आचार्य दुबै खनालका नातेदार भए पनि फरक यत्ति थियो कि पाण्डे र खनालको सम्बन्ध बिग्रिएको थियो, आचार्यले पछिसम्म खनाललाई साथ दिएका थिए । यसले के देखाउँछ भने झलनाथसँग साथ पाएको भए सुरेन्द्र महासचिवमा पाण्डेले जित्ने थिए । माधव नेपालको सन्दर्भमा पनि यही कुरा सत्य हो । अन्तिम घडीमा झलनाथले केपी अोलीलार्इ बल पास नगरेको भए महासचिव अोली पक्षमा जाने थिएन ।

तेस्रो कारण : लामो समय सत्तामा रहनु

माधव नेपाल लामो समय पार्टीको सत्तामा रहेका नेता हुन् । साथै उनी विभिन्न मन्त्री, उपप्रधानमन्त्रीका साथै प्रधानमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । यसरी सत्तामा रहेपछि कोही न कोही कार्यकर्ताप्रति असन्तुष्टि बढेकै हुन्छ । कसैलाई चित्त बुझाउन सकिएको हुँदैन र ऊ रिसाइरहेको हुन्छ । यो परिस्थितिजन्य वाध्यताका कारण देशभरिका ३० /४० जना कार्यकर्ताहरु माधव नेपालसँग नरिसाएका भए उनको जित्ने सम्भावना थियो । अन्तिम घडीमा कृष्णगोपाल श्रेष्ठलाई मात्रै आफूसँग टिकाउन सकेको भए माधव नेपालको पक्षमा नतिजा आउन सक्थ्यो कि ?

चौथो कारण : आफ्नै स्वभाव

माधव नेपालको व्यक्तिगत स्वभावजन्य कमजोरीले पनि उनलाई हारको नजिक पुर्‍याएको विश्लेषण गर्नै सकिन्छ । कार्यकर्ताहरुसँग झडङ्ग रिसाउने, अनावश्यक आशंका गर्ने, बोल्दाखेरि पनि विचार नपुर्‍याई बोल्ने, डनवाद र धनवाद भन्दै युवाहरुलाई बेखुस पार्नेखालका अभिव्यक्ति दिने इत्यादि स्वाभावजन्य कारणहरुले पनि कतिपय प्रतिनिधिहरु भड्किए ।

एमालेका कयौं भुक्तभोगीहरु भन्छन्, माधव नेपाल सरल, सादगी एवं कम खर्चिलो नेता भएता पनि उनी आलोचना कम सहन्छन् र आफ्ना आलोचकहरुप्रति रुखो व्यवहार गर्छन् । नेपालको यस्तो व्यवहारले कति कार्यकर्तालाई चिढ्यायो र कति भोट घटायो, यो उनैले विश्लेषण गर्ने कुरा हो ।

पाँचौं कारण : ओलीप्रतिको सहानुभूति र आकर्षण

माधव नेपालको पराजयको अर्को कारण केपी ओलीप्रतिको सहानुभूति र आकर्षण पनि हो । ४० वर्षको संघर्षशील राजनीतिमा एकपटक पनि अध्यक्षमा पुग्न नसकेका ओलीलाई एकपटक अध्यक्ष बनाउनुु स्वाभाविक हुन्छ भन्ने कार्यकर्तामा देखियो । साथै उनी बिरामीसमेत भएकाले जीवनमा एकपटक किन सम्मान नगर्ने भन्ने मानवीय सम्वेदनाले पनि काम गरेको देखियो । ओली बिरामी छन् भनेर नेपाल पक्षले जति प्रचार गर्‍यो, त्यसको फाइदा ओलीलाई पुग्यो ।

अध्यक्षमा हारे पनि माधवको नैतिक विजय

माधवकुमार नेपालले अध्यक्षमा चुनाव हारे पनि उनको नैतिक विजय भएको छ । पार्टीमा आफू केपी ओलीजत्तिकै पावरफूल छु है भन्ने सन्देश उनले देखाइदिएका छन् । अझ झलनाथ खनालले ओलीलाई भित्री साथ दिएको हा भने त झनै माधव नेपालले आफूलाई पार्टीमा पावरफूल प्रतिपक्षमा उभ्याएका छन् ।

वामदेव गौतम, ईश्वर पोखरेल र केपी ओली एकठिक्का भएर चुनाव लड्दा पनि माधव नेपाल ४४ मतले मात्रै हार्नु भनेको माधव नेपालको चानचुने नैतिक विजय होइन । आठौं महाधिवेशनले बनाएको खनाल गुट र ओली गुट बदलिएर अब माधव नेपालको बलियो गुट स्थापना भएको छ । यसअछि उनी उपगुटमा मात्रै सीमित थिए ।

तर, अब माधव नेपाल कसरी अगाडि बढ्लान् ? केपीले जित्नासाथ उनले कार्यकर्ताको मतलाई उच्च सम्मान गर्ने भन्दै सकारात्मक अभिव्यक्ति दिएका छन् । अब एमालेको बरिष्ठ नेताको स्थानमा रहने नेपालको हैसियत झलनाथ खनालकै हारहारीमा देखिएको छ । खनाल र नेपाललाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारीचाँहि केपी ओलीको काँधमा गएको छ । ओलीका लागि सकारात्मक कुरो के छन् भने पदाधिकारीमा दुबै पक्षले जितेका कारण एमाले गुटको मात्रै नभएर समग्र पार्टीजस्तो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment