१ असोज, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा सभासदहरुले हस्ताक्षर गर्ने क्रम जारी रहेको छ ।
संविधानसभा भवनको ल्होत्से हलमा सभासदहरु क्रमैसँग हस्ताक्षर गरिरहेका छन् । बिहान ९ बजेबाट शुरु भएको हस्ताक्षर अपरान्ह ३ बजे सकिने र त्यसपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानमा प्रमाणिकरण गर्ने कार्यक्रम छ ।
विहान ठिक ९ बजे सबैभन्दा पहिला काठमाडौं क्षेत्र नम्बर ३ का एमाले भसासद रामेश्वर फुयालले संविधानमा हस्ताक्षर गरेका थिए । उनीसँगै एमालेका अर्का सभासद गंगालाल तुलाधरले हस्ताक्षर गरेपछि सभासदहरुको हस्ताक्षर अघि बढेको थियो ।
ल्होत्से हलका मन्चमा संविधानसभा अध्यक्ष नेम्वाङ र उपाध्यक्ष ओनसरी घर्ती बसेका छन् भने तल लहरै संविधानसभा सचिवालयका कर्मचारीहरु सभासदलाई हस्ताक्षर गराउने संविधानको प्रति सहित बसेका छन् ।
नेपाली कागजमा छापिएको ५ प्रति मूल संविधानमा सभासदहरुले हस्ताक्षर गरेका छन् । एकजना सभासदलाई हस्ताक्षर गर्न कम्तिमा एक मिनेट समय लागेको छ । सभासदहरुले हस्ताक्षर गरिरहे पनि शीर्ष नेताहरु भने हस्ताक्षर गर्न पुगेका छैनन् । सभासदका नाम वर्णानुक्रम अनुसार राखिए पनि जो पहिले जान्छ उसले आफ्नो नाम भएको कोठामा हस्ताक्षर गरेर फर्किने व्यवस्था गरिएको छ । वर्णानुक्रम अनुसार सबैभन्दा पहिला अइन्द्रसुन्दर नेम्वाङको नाम छ ।
सभासदहरु हस्ताक्षर स्थल ल्होत्से हलमा हस्ताक्षरको फोटो खिच्ने र सामुहिक फोटो सेसन गराउन व्यस्त छन् । संविधानसभा सदस्यको हैसियत अब संविधानमा हस्ताक्षर गरेपछि लगभग काम सकिएने भएको भन्दै उनीहरु सामुहिक फोटो सेसन गरिरहेका छन् ।
संविधानसभा अध्यक्ष र उपाध्यक्षसँग बसेर सभासदहरु पालैपालो फोटो खिचिरहेका छन् । सभासदहरुले संविधानमा हस्ताक्षर गरेपछि त्यो संविधानलाई सभाध्यक्षले प्रमाणिकरण गर्नेछन् । प्रमाणिकरण गरिएको संविधानका पाँच कपी मध्ये राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,संविधानसभा सचिवालयको अभिलेख शाखा र कानुन मन्त्रालयमा पठाइनेछ ।
प्रतिक्रिया 4