२१ कात्तिक, काठमाडौ । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले चीनको माध्यमबाट समुन्द्री सतहसम्म व्यापार पहुँच विस्तार गर्नेगरी चीनसँग सहमति गर्ने तयारी भइरहेको बताएका छन् ।
नेकपा एमाले राजधानी पेशागत विशेष पर्यटन इलाकाको छैठौं संयुक्त शाखा अधिवेशनको उद्घाटन गर्दै सचिव ज्ञवालीले दीर्घकालीनरुपमा तेस्रो मुलुकसम्म व्यापार गर्ने कार्यको थालनीस्वरुप उक्त सम्झौता हुनलागेको बताएका हुन् ।
भारतले गरेको अघोषित नाकाबन्दीबारे विश्वको ध्यानाकर्षण भएको भन्दै उनले भारतसँग पनि कुटनीतिक तवरबाट समस्या समाधान गराउन सरकार लागिपरेको बताए ।
‘भारतसँग कुनैपनि सम्झौता हुँदा नेपालको सार्वभौमिकतामा आँच आउन दिनेछैनौं तर कुटनीतिकस्तरबाट हालको समस्या समाधान गर्ने पहल भइरहेको छ ।’ उनले भने ।
प्रधानमन्त्री केपी ओलीले अबको ३/४ दिनमा राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने र त्यसले नेपाललाई आत्मनिर्भरता तर्फ लैजाने बाटो तय गर्ने उनले जानकारी दिए । अहिलको संकटलाई पार गरेर अगाडि बढ्ने पनि नेपाल सक्षम हुने उनले बताए ।
‘चुल्हो नबल्दा गाह्रो छ, तरपनि अहिले लागेका कालो बादल हट्छन्, स्वाधिनताको सूर्यपनि झल्कन्छन् । त्यसमा हामी प्रतिबद्ध छौं ।’ सचिव ज्ञावालीले भने ।
कार्यक्रममा पर्यटन प्रवर्द्धन विभागका इन्चार्ज सूर्य थापाले पर्यटन क्षेत्रका माध्यमबाट कसरी व्यवसायिक र राष्ट्रको हितमा योगदान गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन पर्यटन व्यवसायीलाई आग्रह गरे ।
प्रतिक्रिया 4