Comments Add Comment

०७५ सालमा नयाँशक्ति सरकारमा पुग्छ

Rameshower khanal
पूर्वअर्थसचिव एवं नयाँ शक्ति पार्टीका अन्तरिम केन्द्रीय सदस्य रामेश्वर खनालले आगामी ०७५ साल मंसिरभित्र हुने आम निर्वाचनमा आफ्नो दल सरकारमा पुग्ने दाबी गरेका छन् ।

खनाल डा. बाबुराम भट्टराईको नेतृत्वमा आइतबार घोषणा गरिएको नयाँ शक्तिका ३५ अभियन्ता मध्येका एक नेता हुन् । उनले अब आफ्नो पार्टी नेपाली कांगे्रस, एमालेसँग माग पेश गर्दै रत्नपार्कमा ढुंगा हानेर नबस्ने बताए । आगामी चुनावबाटै सरकारमा उपस्थिति जनाउने उनले बताए ।

पार्टीको नाम वा सिद्धान्तमा ‘वाद’ झुण्ड्याएका पुराना पार्टीहरु अब संकटमा पर्ने पूर्वसचिव खनालले बताए । नेपाली कांग्रेस परित्याग गरेर नयाँ शक्ति पार्टीमा लागेका खनालसँग अनलाइनखबरका लागि पुष्प दुलाल र नविन अर्यालले गरेको कुराकानी:

अर्थसचिवबाट राजिनामा दिएपछि तपाई ०७० भदौ १० गते नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । अहिले औपचारिकरुपमै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्तिमा लाग्नुभयो । नयाँ शक्तिमा तपाईलाई केले लोभ्यायो ?

लोभ्यायो र नयाँ शक्तिको सदस्य बनेको भन्ने महत्वपूर्ण विषय होइन । नयाँ विचारधारा नेपालको आवश्यकता हो भन्ने पहिलेदेखि नै महशुस भएको थियो । त्यही महसुस गरेर नै अहिले भइरहेका राजनीतिक दलहरुमा रुपान्तरण गरेर राजनीतिक दलहरु जनतालाई सेवा प्रवाह गर्न सक्ने सामथ्र्य विकास गर्न भनेर त्योबेला म नेपाली कांग्रेसमा प्रवेश गरेको थिएँ ।

अहिले भइरहेका सबै राजनीतिक दलहरुको संरचना, नीतिगत आधार, विचारधारा सबै आन्दोलनकारीको जस्तो छ । केही कुरा पूरा गर्नका निमित्त आन्दोलन अथवा युद्ध गर्ने ढाँचामा छ । नेपाली कांग्रेस पनि लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलन गरेर आएको हुनाले अहिलेसम्म त्यही संरचनाबाट मुक्त हुन सकेको छैन ।

त्यसैगरी, नेकपा एमाले, एनेकपा माओवादी र त्यसपछि खडा भएका अन्य सबै राजनीतिक दलहरुको संरचना उस्तै छ । कुनै पनि राजनीतिक दलको धारणा सरकारमा गइसकेपछि जनतालाई सेवा गरेर प्रभाव पार्नुपर्छ भन्ने छैन । जनतासँग सीधै उपस्थित हुनुभन्दा विभिन्न किसिमका भातृ संगठन, दलालहरु खडा गरेर तिनको माध्यमबाट गतिविधि अगाडि बढाउने भूमिगतकालीन शैली दलहरुमा अझै विद्यमान छ ।

अर्को कुरा, कुनै पनि राजनीतिक दलमा नीति निर्माणमा गर्नुपर्ने अध्ययन, अनुसन्धान र विचार बिमर्श पर्याप्त हुँदैन । नेताले फ्याट्ट बोलिदिने, त्यसपछि बोलिहालियो क्यारे, यही त हो नि हाम्रो पार्टीको नीति भन्ने प्रवृत्ति छ ।

उच्चस्तरमा छ भनिएको भारतसँगको सम्बन्धमा अहिले एकाएक गिरावट आयो । शून्यको लेभलमा पुग्न गयो । चीन र भारतका बीचमा विकास हुँदै गरेको आर्थिक र राजनीतिक सम्बन्ध र अन्तराष्ट्रिय परिदृश्यमा चीन र भारतले एक किसिमको उदीयमान शक्तिका रुपमा संयुक्तरुपमा लैजानु पर्छ भनेर सहकार्य गरिरहेको कुरालाई हामीले पूर्णरुपमा नजरअन्दाज गरेर भारततिरबाट संकट आउँदा चीनबाट राहत आउँछ कि भन्ने धारणा अहिले पनि राजनीतिक वृत्तमा छ । यस्तो किन भयो भन्दाखेरि राजनीतिक दलहरुले आफ्नो नीति निमार्णका निमित्त अध्ययन, अनुसन्धान र बिचार बिमर्श गर्दै गरेनन् ।

नेपाली कांग्रेसमा यस्तो छैन । त्यहाँबाट परिवर्तन गर्न सकिन्छ भनेर म कांग्रेसमा गएको थिएँ । तर, कांग्रेसमा त्यो संस्कार हुन सकेन । दलहरुमा नयाँपन भित्र्याउने, नयाँ ज्ञान भएका मान्छेहरुलाई लिएर आउने र उनीहरुलाई दलको अंग बनाउने प्रवृत्ति पनि देखिएन । दलभित्र लडेका, ढुंगा हानेका, प्रहरीबाट कुटाइ खाएको खत देखाउन सक्ने मान्छेलाई त्यही आधारमा दलभित्र अवसर दिने संस्कार रहेछ ।

बाहिरबाट दलमा प्रवेश गर्न चाहने व्यक्ति पार्टीमा प्रवेश गर्न चाहन्छ भने त्यहाँ प्रवेशिका परीक्षा पास नगरेकोसँग समानरुपमा त्यो उच्च ज्ञान भएको दक्ष व्यक्तिले प्रतिस्पर्धा गर्नुपर्ने रहेछ । म त कांग्रेसको ढोकाबाट भित्रै छिर्न पाइँन ।

अहिलेको राजनीतिक संस्कारबाट देशले निकास पाउँदैन, त्यसका लागि नयाँ राजनीतिक विकास गर्नुपर्छ भन्ने कुरा मैले मात्रै होइन कि पुराना राजनीतिक दलका शीर्षस्थ नेताहरु नै भन्नुहुन्छ । त्यो सन्दर्भमा म नयाँ शक्तिको शुभेच्छुक हो । जहाँसम्म सक्रिय सहभागिताको कुरा छ, त्यसका बारेमा अहिले केही पनि व्याख्या नगरुँ ।

नयाँ शक्तिको घोषणासभामा तपाईको ‘सिटिङ लेभल’ हेर्दा तपाई सेकेन्ड म्यानजस्तै देखिनुहुन्छ । तर, तपाईचाहिँ अहिले पनि शुभेच्छुकमात्रै भन्दै हुनुहुन्छ । तपाई शुभेच्छुकमात्रै हो भनेर कसरी पत्याउने ?

कुनै पनि किसिमको संगठन निर्माण गर्ने क्रममा संगठनका केही अभियन्ताहरु हुन्छन् । यो संगठनको प्रारम्भिक चरणको अभियन्ता पनि म होइन, अभियन्ताहरुले संगठन निर्माण गर्नका लागि समाजमा रहेका सबै किसिमको क्षमता भएका अभियानमा सामेल गराएका हुन् ।

तपाई कांग्रेसमा लागेर अवसर नपाएपछि नयाँ शक्तिमा लागेको भन्ने आरोप छ नि ?

म कांग्रेसमा अवसर खोजेर गएकै थिइँन । राजनीतिमार्फत नीति निर्माणको सुपि्रम लेभलमा पुगेर गतिलो नीतिहरु बनाएर देशको विकासमा काम गर्न सकिन्छ कि भन्ने मेरो धारणा थियो । यसका लागि मैले सभासद हुने अवसर दिनुस, टेष्ट हुनका लागि टिकट पाउँ भनेको मात्रै भनेको हुँ । त्योबाहेक मैले केही अवसर खोजिँन । महेश आचार्यले कर गरेर चुरेको नेतृत्व लिनुपर्‍यो भनेपछि त्यहाँ नियुक्ति लिनुपर्‍यो ।

म विवेकशील नेपाली अभियानको शुभचिन्तक पनि हो । रविन्द्र मिश्रले सुरु गर्न खोज्नुभएको थियो, अझै पनि उहाँसँग सम्वादमै छु । उहाँले फ्लोर गर्न सक्नुभएन, बाबुराम जीहरुले फ्लोर गर्नुभयो । उहाँहरुले तपाई आउनुपर्‍यो भनेपछि यसतर्फ लागेको हुँ । नयाँ शक्ति आवश्यक छ भन्ने मलाईमात्र नभई धेरैलाई लागेको छ । देशको विकास गर्ने, डेलिभर गर्ने खालको शक्ति आवश्यक थियो ।

तर, नयाँ शक्ति भने पनि अनुहार त सबै पुरानै देखिन्छन् । यो शक्तिले नीतिगत र व्यवहारिकरुपमा के कस्ता नयाँ काम गर्ला ?

पत्रकार सम्मेलनमा वितरण गरिने प्रेस विज्ञप्ति तयार गरिसकेपछि सम्पादन गर्ने जिम्मेवारी मलाई पनि दिइएको थियो । नयाँ र युनिक हुनुपर्छ, अरु दलमा भएकै कुराहरुलाई दोहोर्‍याएर गर्ने हो भने नयाँपन हुँदैन भन्ने हाम्रो सोच हो ।

नयाँ शक्तिले समावेशी र सहभागितामूलक लोकतन्त्र भनेको छ, जुन अरु दलहरुले भनेका छैनन् । र, यो समावेशी निगाहको समावेशी होइन । निगाहको समावेशी त पञ्चायतकालमा पनि थियो । बालाराम घर्ती मगर, हिरालाल विश्वकर्मा, मृगेन्द्र सिंहलगायत राज्यसत्तामा थिए त । तर, यो अभियानको समावेशिता भनेको स्वतस्फूर्तरुपमा हुन्छ । अन्य राजनीतिक दलहरुमा टिकट दिँदा माथिबाट तल जान्छ । तर, नयाँ शक्तिमा तलबाट माथि हुँदै आउँछ । अभियानका सदस्यहरुले नै चुन्छन् ।

अर्को महत्वपूर्ण कुरा के छ भने कांग्रेसले समाजवाद, एमालेले मार्क्सवाद, माओवादीले साम्यवाद भन्छन् । नयाँ शक्तिले कुनै वाद भनेको छैन । नयाँ शक्तिको बाद भनेको जनताको सम्मृद्धि र आर्थिक विकास हो । १८औं शताब्दीमा विकास भएको वादले अहिले काम गर्दैन । तपाईलाई संकट पर्दा सरकार तपाईको साथमा छ, तपाई बिरामी पर्दा औषधि खान नपाएर मर्नुपर्दैन, तपाई गरिब भएकै कारण तपाईका बालबच्चा शिक्षाबाट बञ्चित हुनुपर्दैन, यो नै नयाँ शक्तिको विषेशता हो ।

भनेपछि नयाँ शक्ति राजनीतिक मुद्दाभन्दा बढी आर्थिक, सामाजिक र जनताको जनजीवनसँग जोडिएका मुद्दाहरुमा केन्द्रित हुन्छ ?

अहिलेको पृष्ठभूमिमा हेर्दाखेरि जनता धेरै हदसम्म सार्वभौम भइसके । अहिले राज्यसत्ता पैत्रिक, पारिवारिक र खानदानी परिवारमा र जनतामा विभाजित छैन । पहिला राजा र जनतामा विभाजन थियो । कतिपय समुदाय, वर्ग र तप्का विषेशले जातिगत वा लैंगिक आधारमा साशनसत्ता र आर्थिक अधिकारमा पहुँच थिएन । ०४८ सालको आर्थिक उदारीकरणको नीतिले आर्थिक पहुँच पनि विस्तार गरिदिएको छ । धेरै मान्छेहरुले पहिला ऋण पाउँदैन थिए, अहिले ऋण लिएर व्यवसाय गर्न पाएका छन् ।

राजनीतिक मुद्दा पनि गाँसिएर आउँछन् । अझै पनि कतिपय ठाउँमा समावेशी चरित्र हुन सकेको छैन । तर, राजनीतिक मुद्दा उठाउँदा आन्दोलनकारी ढंगबाट जाँदैन । शान्तिपूर्ण किसिमबाट उठाइनेछ । कुनै मागलाई विचार सिर्जना गरेर आम मानिसको जनमत सिर्जना गर्न सकिन्छ । सञ्चारमाध्यम र सामाजिक सञ्जाल सबैतिरबाट यो बिचार ठीक छ है, सरकारले गलत गर्‍यो भन्दाखेरि नेपालमा अहिले कतिपय नीतिहरु रद्द भएका छन् । कतिपय सरकारी निर्णयहरु उल्टिएका छन् । गोविन्द केसीको आन्दोलन कुनै ढुंगा हानेर, प्रहरीलाई पिटेर, आगो लगाएर वा नाकाबन्दी गरेर सफल भएको त होइन नि । गोविन्द केसीको समर्थनमा देखिएको जनमतले सरकारलाई घुँडा टेकाएको हो नि ।

नयाँ नारा लिएर राजनीति गर्ने तर सत्तामा पुगेपछि स्वाथ्र्यमै लिप्त हुने राजनीतिक प्रवृत्ति ००७ सालदेखि नै देखिँदै आएको छ । जनता राजनीतिक दलहरुप्रति वाक्क भएका छन् । यसै परिवेशमा गठन भएको नयाँ शक्तिलाई जनताले पत्याउलान् र ?

निर्वाचन आयोगमा दर्ता भएका १ सय २५ को संख्यामा रहेका र दर्ता नभएका राजनीतिक दलहरु र यो नयाँ विचारधाराको अन्तरवस्तुमा फरक के हो भने पुराना दलहरुको सोच, संरचना र नीति केही माग पूरा गराउने, त्यसको निमित्त लड्नेमा आधारित छ । माग पूरा गराउने, लड्ने, भित्तामा लेखेर फलानो ठाउँको खारेज गर, फलानो ठाउँको बहाली गर, जनवादी शिक्षा लागू गर भनेर अर्कासँग माग गर्ने  त्यो संस्कार पूर्णरुपमा अलग भएर नयाँ शक्तिले सेवा प्रवाहमुखी संरचनाको किास गर्नुपर्छ भन्ने हो ।

अब हामीले माग गर्ने होइन, माग पूरा गर्ने हो भन्ने नयाँ शक्तिको सोच हो । यो काम बाहिर बसेर होइन, भित्रै गएर गर्नुपर्छ । भित्र जान चुनाबै लड्नुपर्छ, त्यहाँ बहुमत ल्याउनु पर्छ ।

तपाईहरुको आर्थिक नीति पुँजीवाद हो कि समाजवाद ?

आर्थिक कुरामा समाजवाद पनि भनिएको छैन, पुँजीवाद पनि भनिएको छैन । उद्यमशीलतामा आधारित पुँजीवाद भनिएको छ । यसको अर्थ के हो भने सम्पत्ति केही पनि नभएको तर दिमागमा नयाँ सोच भएको, हातमा सीप भएको व्यक्ति पनि सम्मृद्ध हुने खालको आर्थिक संरचनाको विकास गर्नेछौं ।

सबै राजनीतिक दलहरुको दस्तावेज हेर्ने हो भने हामी भूपरिवेष्ठित राष्ट्र हौं भन्ने छ । यसले हामी संकीर्णतामा छौं भन्ने जनाउँछ ।  नयाँ शक्तिले नेपाल भूपरिवेष्ठित राष्ट्र होइन, यो त दुई ठूला अर्थव्यवस्था भएका राष्ट्रको बीचमा भएको सम्भावनायुक्त राष्ट्र हो भनेर परिभाषा गरेको छ । भारत र चीनबीचको गतिशील पुल भनेर नेपालले अधिकतम आर्थिक लाभ लिनुपर्छ । नयाँ शक्तिका नीति पनि त्यस्तै हुनेछन् । हामी हाम्रा मागहरु एमाले वा कांग्रेसको सरकारले पूरा गर्देला भनेर कुरेर बस्दैनौं ।

आफ्ना एजेन्डा लागू गर्न त शासन सत्तामा आफ्नो पहुँच पुर्‍याउनु पर्‍यो नि । कहिलेसम्म नयाँ शक्तिले नेपालको राज्यसत्तामा पहुँच पुर्‍याउला ?
आगामी ०७३ साल बैशाख १ गते नयाँ शक्तिले राजनीतिक दलको संरचना सार्वजनिक गर्छ । ०७५ मंसिर सम्म निर्वाचन हुनुपर्ने नयाँ संविधानले व्यवस्था गरेको छ । त्यो निर्वाचनमा नयाँ शक्ति सरकारमा पुग्नेगरी वा सरकारको नीतिलाई प्रभावमा राख्न सक्ने गरीको उपस्थितिमा पुग्ने लक्ष्य छ ।

निर्वाचनभन्दा अगाडि हामी के गछौर्ं भन्ने अर्को महत्वपूर्ण पाटो हो । अहिलेका राजनीतिक दलहरु आफ्ना माग पूरा गराउन रत्नपार्कमा धर्ना बस्ने, रेलिङ तोडफोड गर्ने गर्छन् । तर, हामी सेवामुखी भएर अघि बढ्छौं । नेपाली समाजको ग्रामीण क्षेत्रमा उत्पादकत्व कम छ । हाम्रा घरहरु नै उत्पादकत्वमुखी नभएकाले उत्पादकत्व कमी भएको हो ।

पाँचजना सदस्य भएको परिवार छ भने बिहान उठ्ने वित्तिकै शौचालयमा बस्न लुई घण्टा लाइनमा बस्नुपर्ने स्थिति छ । त्यसैगरी, गाउँमा १० बजे मेलापात जानु छ भने बिहान ७ बजेदेखि खान पकाउन सुरु गर्नुपर्छ । गाउँले जनताको बिहान त शौचालय जाँदा र खाना पकाउँदै बित्छ । सबैमा हामी जान नसकौंला, तर हामी हाम्रा सदस्हरुमाझ प्रत्येक घरमा शौचालय अभियान चलाउन सक्छौं ।

पुराना दलले शिक्षकलाई हड्ताल गर्न उक्साउँथे । तर, यो नयाँ दलले तपाईहरुले हड्ताल गर्दा विद्यार्थीको पढाइ छुट्यो, खबरदार ! अब प्रत्येक विद्यालयमा निरन्तर अध्यापन हुनुपर्छ भन्ने अभियान सञ्चालन गर्छ ।

नयाँ शक्तिको संगठनात्मक विस्तार कसरी हुन्छ ?

यसको संगठनात्मक विस्तार माथिबाट नभई तलबाट हुन्छ । टीका लगाएर, माला लगाएर पार्टी प्रवेश गर्ने भन्ने यहाँ हुँदैन । सामाजिक सञ्जाल र टेलिफोनबाटै दूरदराजमा रहेका जनतालाई यो अभियानमा आवद्ध हुन आहृवान गरिनेछ ।

विभिन्न विचार समूहका व्यक्तिहरु आवद्ध भएको नयाँ शक्ति खिचडीजस्तै देखिन्छ । अस्तित्व जोगाउन ठूलै चुनौतिको सामना गर्नुपर्छ जस्तो लाग्दैन ?

नयाँ शक्तिको अस्तित्व होइन, अब पुराना दलहरुको अस्तित्वचाहिँ संकटमा पर्छ । अब वादवाला दलहरुले नाम परिवर्तन गरेनन् भने टिक्न निकै मुस्किल छ ।

नयाँ शक्तिको नेतृत्व गरिरहेका डा. बाबुराम भट्टराईकै अगुवाइमा सुरु भएको माओवादी सशस्त्र युद्धका कारण हजारौं मान्छेहरुको हत्या भएको थियो । त्यो हत्याको जवाफ अब तपाईले पनि दिनुपर्ने अवस्था आएको हो ? जनताले सोधेका प्रश्नको जवाफ कसरी दिनुहुन्छ ?

त्यसको जवाफ दिनुपर्ने भएको भए सायद डा. बाबुराम भट्टराई पनि नयाँ शक्ति गठन गर्नुहुँदैन थियो होला । कुनैपनि गलत गतिविधि गरेको समूहमा तपाई सरिक हुनुभयो भने त्यो समूहबाट तपाई सर्लक्कै निस्किनु सुरक्षाका हिसाबले पनि चुनौतिपूर्ण हुन्छ । उहाँ त्यो समूहबाट निस्कनु भनेको आफू हिजो भएका गलत काममा प्रत्यक्ष सहभागी नभएको पुष्टि पनि हो ।

Naya Shakti (7)

त्योबेलामा जसरी मान्छेहरुको हत्या भयो, त्यो दुःखद मात्रै छैन, जति भत्सर्ना गरे पनि कमै हुन्छ । तर, हिजो सही गरिएनछ भनेर सुधि्रने हक त सबै नागरिकलाई छ नि ।

अचेल संसारभर जेललाई जेल पनि भन्न छाडेर सुधारगृह भन्न थालिएको छ । एकचोटि गरेको अपराधमा सजायँ भोगिसकेपछि पनि अपराधी नै भइन्छ भन्ने हुँदैन । सजायँ त उहाँले कतिपय अवस्थामा मानसिकरुपमा पनि भोगिसक्नुभएको छ । यदि कसैले मैले गरेका गल्तीको प्रमाण देखाउँछ भने म सजायँ भोग्न तयार छु भनिरहनुभएकै छ ।

दश वर्षे जनयुद्धकालमा कतिजनाले परिवार तथा आफन्त गुमाउनुभयो, त्यसमा राज्य संयन्त्रको पनि दोष देखिन्छ । आधाभन्दा बढीलाई राज्यबाट गोली चलेको छ ।

कम्युनिष्टको चरित्र एक तहमा पुगेपछि फुट्ने हुन्छ । नेपालमा सबैभन्दा बढी पार्टी पनि कम्युनिष्टहरु नै रहेका छन् । तपाईलाई लाग्दैन, कुनै चरणमा प्रवेश पुगेपछि यो नयाँ पार्टी पनि फुट्ने छ ?

हाम्रो प्रयास त्यस्तो हुन नदिने नै हुन्छ । फेरि हामीले भोलि असफल भइएला भनेर अहिले कुनै कदम नै नचाल्ने पनि त गर्नुभएन । विगतमा यस्तो भएको थियो, यसरी पार्टी फुट्ने गरेको थियो भनेर त्यसबाट पाठ सिकी हामी अगाडि बढ्ने छौं ।

अहिले जसरी नयाँ शक्तिको अभियान चलेको छ, म उहाँहरुलाई समर्थन गर्न आएको हुँ । उहाँहरुले तपाईको सहयोग र समर्थन चाहिन्छ भन्नुभयो । तपाईको अनुभव चाहिन्छ भनेपछि उहाँहरुलाई सहयोग गर्न तयार भएको हुँ ।

नेपाली जनता तीव्र विकास भएको देख्न चाहन्छन् । ०७५ सालमा निर्वाचन हुनेछ । यदि नयाँ शक्ति पहिलो भयो भने ०८० सम्म नेपाल कस्तो होला ? नयाँ शक्तिले देखेको नेपाल कस्तो हो ?

हामी सबैभन्दा पहिला जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ लाग्ने छौं । जनताका आधारभूत आवश्यकता पूरा हुन थालेपछि विकास सुरु भइहाल्छ । तपाईले पाँच वर्ष भन्नुभयो, साढे तीन/चार वर्षभित्र नेपाल अहिलेजस्तो एउटै मुलुकसँग परनिर्भर हुनेछैन । हरेक व्यक्तिसँग भएको क्षमता र शीपलाई उपयोगमा ल्याउन सकियो भने विकासमा यो असम्भव होइन ।

मुलुकमा उद्यमशीलताको प्रवर्द्धनका लागि सबै किसिमका नीति परिमार्जन हुनेछन् । अहिले पाँच लाख रुपैयाँ नभई कम्पनी खोल्न पाइँदैन, हामी एक रुपैयाँ नभएको मानिसले पनि कम्पनी खोल्न पाउने व्यवस्था गर्नेछौं । देश विकास गर्ने सरकारले होइन, व्यक्तिले हो ।

वामपन्थीहरु निजी क्षेत्रभन्दा सहकारी ठीक भन्छन् । सहकारीले देश विकास भएको कहीँ देखिन्छ ? कुनै देश अल्प विकसितबाट विकसित भएको सय वर्षे इतिहास हेर्नुभयो भने सहकारीबाट विकास भएको पाइँदैन । यसो भन्दैमा सहकारीको योगदान नै छैन भन्न खोजेको पनि होइन ।

देशको विकास गर्ने भनेको व्यक्तिले हो । व्यक्तिलाई शीप सिकाएर उद्यमशील बनाउनुपर्छ । हिजोसम्म सय रुपैयाँको उत्पादन गर्ने प्रत्येक व्यक्तिले आजको दिनदेखि १० हजारको उत्पादन गर्न सक्यो भेन प्रतिव्यक्ति आम्दानी १० हजार पुगिहाल्छ ।

हामी स्पष्ट भनेका छौं, प्रत्येक व्यक्तिको उद्यमशिलता प्रवर्द्धन गर्ने आर्थिक नीति बनाइने छ । भारतमा अहिले भइरहेको वृद्धि सन् १९९२ देखि १९९७ सम्म पाँच वर्षको अवधिमा भएको उपलब्धी हो । उनीहरुले बनाएको नीतिले आर्थिकरुपमा भारतलाई विश्वकै शक्तिराष्ट्र बनाइदियो ।

भारतमा १७  डलर लिएर काम सुरु गर्ने नारायणमूर्तिले विलियन डलरको कम्पनी बनाए । भारत सरकारले कम्पनी दर्तामा सहजीकरण गरिदियो । नेपालमा कम्पनी खोल्न ५ लाख चाहिन्छ, हाम्रो नीति उद्यमशील व्यक्तिले शुन्य लागतमा कम्पनी खोल्न पाउनुपर्छ भन्ने हो । पाँच वर्षमा विकासका थुप्रै अवरोध हटाउन सकिन्छ ।

विकासका लागि नेपालमा पुँजीको अभाव छ, जनताको विकास हेर्ने सपना पूरा गर्न विदेशी लगानी आवश्यक हुन्छ । विदेशी लगानीका विषयमा नयाँ शक्तिको नीति के रहन्छ ?

हामी खुला दिलले विदेशी लगानी भित्र्याउन चाहान्छौं । त्यसका लागि आवश्यक वातावरणसमेत तयार गरिदिनुपर्छ भन्ने हाम्रो नीति छ । अहिले मन्त्री, नेताहरु र कार्यकर्तामा विकासका लागि आवश्यक ज्ञानको अभावले नीति निर्माणमा कठिनाइ भइरहेको छ । हामी त्यो अभाव मेट्ने पर्यत्नमा छौं ।

पार्टीका सदस्यलाई कानुन, अर्थशास्त्र, राजनीति शास्त्र र व्यवस्थापनको तालिम दिने योजना छ । बाबुरामजीले मसँग खोजेको पनि व्यवस्थापन नै हो । अहिलेको जमानामा आवश्यक भनेकै कुशल व्यवस्थापन हो ।

अहिलेसम्म कुनै पार्टीले यस्तो तालिम दिएका छैनन् । मैले भनेको छु, हाम्रा सदस्यहरुलाई तालिम दिनका लागि दुई वर्षको कोर्ष नै बनाउँ । दुई वर्ष तालिम लिएको व्यक्तिमात्रै संसदमा लड्न योग्य होस् ।

कुनै सदस्यले दुई वर्षको कोर्ष गर्छ, आफ्नो निर्वाचन क्षेत्रमा जान्छ, उसलाई त्यहीँका सदस्यहरुले चुनेर माथि पठाउँछन् । त्यसो भएपछि उसलाई पार्टीले माथिबाट टिकट पनि दिनुपरेन । उसले आफ्नो कार्यकुशलता देखाएर माथिल्लो लेभलमा आउन सक्ने भयो । हामीले पाठ्यक्रम बनाउँदै छौं । यसको विषयवस्तु तयार पार्ने जिम्मेवारी मलाई आएको छ । म नेपाली कांग्रेसमा पनि यही तालिम दिन भनेर गएको थिएँ, तर गर्न पाइँन ।

तपाई नयाँ शक्तिमा प्रवेश गरेपछि सामाजिक सञ्जालमा बढी नकारात्मक टिप्पणी भएको देखिन्छ, यसलाई कसरी दिनुभएको छ ?

कसैबाट प्रतिकृया आउने भनेको विगत र वर्तमानलाई हेरेर हो । भविष्यलाई हेरेर प्रतिकृया आउँदैनन् । अहिले मैले सुन्ने मात्र हो । यसलाई राम्रो पनि मानेको छैन, नराम्रो पनि मानेको छैन । धेरै जनाले गाली गर्नुभएको छ, चित्त दुखाउनुभएको छ भन्ने सुनेको छु ।

तपाईमा अलि अस्थिरता देखिएको आरोप लाग्ने गरेको छ । तपाईका पछिल्ला गतिविधिले पनि त्यस्तै देखाउँछ हैन ?

यो प्रश्न यस्तो भयो, तपाई बिहान उठ्नुभयो, ट्वाइलेट जानुभयो, त्यसपछि भान्छामा जानुभयो, फर्किएर बैठक कोठामा जानुभयो, अनि बेडरुममा जानुभयो, कपडा लगाउनुभयो, अफिस जानुभयो, अफिसमा मिटिङ गर्नुभयो, घर फर्किनुभयो, तपाई त कस्तो अस्थिर मान्छे हुनुहुँदो रहेछ । शौचालयमा मात्र बसिरहेको भए हुन्थ्यो, अथवा बेडरुममा मात्र बसेको भएमात्र हुन्थ्यो !

मैले अर्थ मन्त्रालयमा एउटा आर्थिक अपराधको सहयोगी भएर बसिरहेको भए म स्थिर हुने ? त्यो अपराधलाई रोक्न चाल्नुपर्ने कदममध्ये सबैभन्दा उपयुक्त कदम बर्हिगमन हुँदा म अस्थिर हुने  भन्ने व्याख्या नै गलत हो ।

राष्ट्रको प्रधानमन्त्रीले मलाई तपाईकै सल्लाह चाहियो भनेपछि म बाबुरामजीको सल्लाहकार भएको हुँ । मैले तपाईलाई प्रधानमन्त्री मान्दिँन, मैले सहयोग गर्दिन भन्न मिल्दैन ।

मुलुकमा सर्भिस डेलिभरीमुखी संरचना बनाउने, सर्भिस डेलिभरीमुखी काम गर्न सक्ने खालका कार्यकर्ता उत्पादन गर्ने, विद्यार्थीलाई पढेपछि मात्र राजनीतिमा लाग्ने हो भनेर परिवर्तन गर्नका लागि सबैभन्दा राम्रो पार्टी कांग्रेस हुन सक्छ भनेर त्यहाँ गएको हुँ ।

त्यहाँ डेलिभरी गर्न खोज्दा यसले भाग नै खान्छ कि भन्ने एकथरीको धारणा देखियो । अहिलेसम्म कांग्रेसबाट राजनीतिमा जिम्मेवारी दिएको छैन, निस्केको भनुँ कि त्यहीँ छु भनुँ ? यहीबेलामा मुलुकमा केही परिवर्तन गर्छु भनेर अगाडि बढिरहेको शक्तिलाई समर्थन गर्नुलाई अस्थिरता भन्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment