४ मंसिर, काठमाडौं । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै ४ खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ र अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएको छ । समान अंक जोडेको नेदरल्याण्ड रन रेटमा अघि रहँदै समूह बीको शीर्ष स्थानमा छ ।
पपुवा न्युगिनीले प्रस्तुत गरेको नेपालसामू १ सय ४१ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा विनोद भण्डारीले अर्धशतक बनाए । आक्रामक व्याटिङ गरेका भण्डारीले २३ बलमा ६ छक्का र एक चौकासहित विजित ५१ रन बनाए । ओपनर सुवास खकुरेलले ३७ बलको सामना गर्दै ४ चौका र एक छक्काको मदतले ३८ रन बनाए ।
कप्तान पारस खड्काले १९ बलमा एक चौका र एक छक्कासहित २६ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनले समान १०-१० रन बनाए ।
यसअघि युएईको सारजहाँ क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । उसका लागि जोन्सले ५५ रन बनाए ।
नेपालका लागि पारस खड्काले ३, अमृत भट्टराईले २ र जितेन्द्र मुखियाले १ विकेट लिए । नेपालले अब बुधबार नेदरल्याण्डसँग खेल्नेछ ।
प्रतिक्रिया 4