२७ असार, काठमाडौं । नेपाल भित्रिने अधिकांश पर्यटकहरु मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि आउने गरेका छन् । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०६९ पुसदेखि २०७० पुससम्मको अवधिमा नेपाल आएका कुल पर्यटकमध्ये ५४.९ प्रतिशत पर्यटकको उद्देश्य मनोरञ्जन तथा भ्रमण गर्नु रहेको छ ।
यस अवधिमा ७ लाख ९७ हजार ७ सय ५९ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये पदयात्रा तथा पर्वतारोहणका लागि १२.२ प्रतिशत, तीर्थयात्राका लागि ५.१ प्रतिशत, प्रशासकीयतर्फ ५ प्रतिशत, व्यापारको शिलशिलामा ३.८ प्रतिशत, सभा तथा सम्मेलनका लागि २ प्रतिशत, साहासिक जलयात्राका लागि ०.२ प्रतिशत र १४.८ प्रतिशत अन्य उद्देश्यले नेपाल भित्रिएका छन् ।
सबैभन्दा बढी भारतीय
नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेका छन् । समिक्षा अवधिमा नेपाल भित्रिएका कुल पर्यटकमध्ये भारतबाट २३ प्रतिशत, चीनबाट ११.२ प्रतिशत, श्रीलंकाबाट ७.५ प्रतिशत, अमेरिकाबाट ७.३ प्रतिशत, यूकेबाट ४.७ प्रतिशत रहेका छन् । विगत १० वर्षदेखिको तथ्यांक हेर्दा पर्यटकीय भ्रमणका दृष्टिले यी ५ देशहरु प्रमुख रहँदै आएका छन् ।
आर्थिक वर्ष २०६९/०७० मा ३४ अर्ब २१ करोड १० लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत अर्थात ३ अर्ब ५० करोड ७० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्षको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट ३० अर्ब ४३ करोड रुपैयाँ रहेको छ । विदेशी मुद्राको आर्जन यहि रफ्तारमा भए चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४५ अर्ब ४६ करोड रुपैयाँ पुग्ने सरकारी प्रक्षेपण छ ।
प्रतिदिन ३४ हजार पर्यटकलाई सेवा
पर्यटन उद्योगमा २०७० पुस मसान्तसम्म दर्ता भएका पर्यटकस्तरीय होटलको संख्या १ हजार २६ पुगेका छन् । जुन होटलले एक दिनमा ३४ हजार ५ सय २३ पर्यटकलाई सेवा पुर्याउन सक्छन् ।
यस अवधिसम्म पर्यटन उद्योगमा १ सय १७ वटा तारे स्तरकार होटलहरु दर्ता भएका छन् । जहाँ ९ हजार ५ सय ५ पर्यटकलाई सेवा दिन सकिन्छ । तारे बाहेकका पर्यटक स्तरीय होटलको संख्या पुस मसान्तसम्म ९ सय ९ पुगेका छन् ।
नेपाल भ्रमणमा आउने पर्यटको औषत बसाई अवधि विगत १० वर्षदेखि १२ दिनको हाराहारीमा रहेको छ । २०६९ पुससम्म पर्यटकको औषत बसाई अवधि १२.८७ दिन रहेकोमा २०७० पुसमा झन घटेर १२.५७ दिनमा झरेको छ । पर्यटनबाट प्राप्त आम्दानी पनि अघिल्लो पुसको तुलनामा गत पुसमा घटेको देखिन्छ ।
२०६९ पुससम्म पर्यटनबाट ३० अर्ब ७० करोड रुपैयाँ आम्दानी भएकोमा यस पुससम्म ३० अर्ब ४३ करोड रुपैयाँमात्र आम्दानी भएको छ । प्रति पर्यटक आम्दानी अघिल्लो पुसमा ३८ हजार २ सय ३० रुपैयाँ रहेकोमा यस पुससम्म घटेर ३८ हजार १ सय ४४ रुपैयाँ भएको छ ।
जीडीपीमा योगदान घट्यो
एउटा पर्यटकले नेपालमा दैनिक ३ हजार ३६ रुपैयाँ खर्च गर्ने गरेको आर्थिक सर्भेक्षणले देखाएको छ । प्रतिपर्यटक प्रतिदिन खर्च ३४.४९ डलर र कुल ग्राहस्थ्य उत्पादन १ लाख ७५ हजार २ सय ७४ डलर रहेको छ । पुससम्मको तथ्यांक हेर्दा जीडीपीमा पर्यटन क्षेत्रको योगदान घटेको छ ।
अघिल्लो पुुसमा पर्यटन क्षेत्रको जीडीपीमा २ प्रतिशत रहेकोमा यस पुसमा १.७ प्रतिशतमा झरेको छ । नेपाल भित्रिएका पर्यटकबाट १ लाख ७८ हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
सर्भेक्षणका अन्य समचारहरू
रोजगारीका लागि दैनिक १५ सय नेपाली बिदेशतिर, ७४ प्रतिशत अदक्ष
सरकारले भन्यो -मूल्यवृद्धिमाथि नियन्त्रण गर्न सकिएन
एक नेपालीको वार्षिक आम्दानी ७१ हजार !
आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च
धान मकैको उत्पादन बढ्ने, दलहन घट्ने प्रक्षेपण
२३ प्रतिशत नेपाली गरिवीको रेखामुनि
उन्नार्इस संस्थानले नाफा कमाउने थाले, १६ वटा अझै घाटामा
साढे २५ हजार किलोमिटर सडकमा १७ लाख गाडी
एक जना नेपालीको भागमा डेढवटा कुखुरा
प्रतिक्रिया 4