६ भदौ काठमाडौं । । अर्थमन्त्री डा. रामशरण महतसँग बिहीबार अर्थमन्त्रालयमा भएको भेटघाटम क्यानेडियन लगानीकर्ताहरुले नेपालमा लगानी गर्ने इच्छा देखाएका छन् । क्यानेडियन लगानीकर्ताहरु लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएका हुन् ।
भेटघाटका अवसरमा अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई कर छुट दिएर प्रोत्साहन गरिएको जानकारी दिए । एक अर्ब रुपैयाँभन्दा बढी पुँजी लगानीमा स्थापना हुने उत्पादनमूलक उद्योग र २ अर्ब रुपैयाँभन्दा बढी पुँजी लगानीमा स्थापना हुने पर्यटनसँग सम्वन्धित उद्योगलाई कारोबार शुरु गरेको मितिले ५ बर्षसम्म पूर्णरुपमा र त्यसपछिको ३ बर्षसम्म ५० प्रतिशत आयकर छुट दिएर उद्योगहरुलाई प्रोत्साहन गरिएको बताए ।
कृषि उर्जा, पर्यटन तथा सडक निर्माणलाई प्रोत्साहन दिइएको चर्चा गर्दै उनले यी क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने जानकारी दिए ।
नेपालमा लगानी गर्दा दक्षिण एसिया मात्र होइन अमेरिका र युरोपको ठूलो बजार पनि प्राप्त गर्न सकिने उल्लेख गर्दै मन्त्री महतले नेपालमा उत्पादन हुने बस्तुलाई यी क्षेत्रमा भन्सार छुटको व्यवस्था भएकोले उत्पादित बस्तु प्रतिस्पर्धी हुने बताए ।
उनले केही हप्ताभित्रै काठमाडौं निजगढ द्रुतमार्गको बोलपत्र हुने जानकारी दिँदै त्यसमा सहभागी हुन पनि क्यानाडाका लगानीकर्ताहरुलाई आग्रह गरे ।
क्यानाडाका लगानीकर्ताहरुले आफूहरु बैंक, उर्जा, पर्यटन, फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्रमा आकषिर्त भएको बताएका थिए । उनीहरुले नेपालमा २५ वर्षमुनिका काम गर्ने जनशक्ति पर्याप्त भएको र लगानीको वातावरण बन्न थालेकोले लगानीका लागि आकषिर्त भएको जानकारी दिएका थिए ।
प्रतिक्रिया 4