Comments Add Comment

जन्मकैदको माग गर्दै सीके राउतविरुद्ध राज्य विप्लवको मुद्दा दर्ता

२२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले रिहा गर्ने आश्वासन दिएको भोलिपल्ट डा. सीके राउतविरुद्ध बुधबार अपरान्ह विशेष अदालतमा राज्य विरुद्धको अपराध (राज्य विप्लव) को मुद्दा दर्ता भएको छ ।

विशेष अदालत परिसरमा राउत । फाइल फोटो
विशेष अदालत परिसरमा राउत । फाइल फोटो

मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बुधबार बबरमहलस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
राउतलाई राज्य विरुद्धको अपराध (कसुर तथा सजाय) ऐनको दफा ३ (१) बमोजिम जन्मकैदको सजाय मागदाबी गरिएको छ ।

राउतको बयान बिहीबारबाट सुरु हुने र त्यसपछि थुनछेक आदेश हुने रजिष्टार नातिबाबु लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

मोरङको सोराभाग-३, रंगेलीमा सर्वसाधारणलाई भेला गराई डर त्रास फैलाई आतंकित बनाई सामाजिक सद्भाव भड्काउने, शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गरिरहेको अवस्थामा राउत पक्राउ परेको अभियोग पत्रमा उल्लेख छ ।

Ck-raut-mudda

राउतले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र सोही व्यहोरोको लेख रचना तथा किताब छपाई मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खदल पुरी अव्यवस्था उत्पन्न गराएकेा अभियोग पत्रमा उल्लेख छ ।

मुद्दामा प्रहरीले राउतका साथबाट मधेस स्वराज, स्वतन्त्र मधेस गठवन्धनको घोषणा पत्रसहितका पुस्तक, डायरी, भिडियो क्यामरा लगायतलाई प्रमाणका रुपमा पेश गरेको छ ।

प्रधानमन्त्रीको आश्वासन जटिल भयो : झा

प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार मात्रै राउतको परिवार एवं केही नागरिक अगुवासँगको भेटमा उनलाई रिहाइ गर्नेबारे गृहमन्त्रीसँग सल्लाह गर्ने बताएका थिए ।

तर, अब अदालतमा औपचारिक रुपमै मुद्दा दायर भएपछि राउतको रिहाइ जटिल भएको कानूनविद अधिवक्ता दीपेन्द्र झाले अनलाइनखबरलाई बताए ।

मधेसलाई नेपालबाट अलग गर्नुगर्छ भन्ने अभियान चलाएको आरोपमा राउत भदौ २८ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा सार्वजनिक अपराधको अर्को मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment