+
+
Shares

अर्काको दुर्गतिमा प्रगति देख्ने कुसंस्कार

अहिले कुनै एक नेताको त्याग जरूरी छ । जो त्यागी बन्नसक्छ उसको नाम स्वणिर्म अक्षरले लेखिनेछ । गान्धीको त्यागले भारतले सुमार्ग पायो । नेल्सन मण्डेलाको त्यागले दक्षिण अफ्रिकामा शान्ति छायो । दुबै नेता त्यागले बनेका हुन्, न कि सत्ताको स्वादले ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते १४:०६

दीपेश केसी
एकजना मान्छेले वीच जङ्गलमा हिँडिरहँदा ईश्वरको तपस्यामा लीन छिमेकीलाई देखेछ । कौतुहल मेट्न गाउँ फर्किएपछि तपस्वीकी पत्नीलाई सोधेछ- केका लागि यत्रो तपस्या ? पत्नीले उत्तर दिइछन्-उहाँ समाजको भलाइका लागि ईश्वरसँग बरदान माग्न तपस्यामा जानुभएको हो ।

सुन्नेवित्तिकै इर्ष्याले जलेको छिमेकी त्यहीँ पुगेर नजिकै तपस्यामा बसेछ । दुबैजनाले लामो समय तपस्या गरेछन् । तपस्याबाट प्रशन्न भएर ईश्वर प्रकट भएछन् । दुबैलाई आँखा खोल्न लगाएर भनेछन्- तिमीहरूको तपस्याबाट म अति प्रशन्न भएँ, अब के माग्छौ ? माग ।

dipesh kc
दीपेश केसी

 

दुबैजना मुखामुख गरेछन् । ईश्वरले भनेछन्- पहिला कसले माग्ने ? पहिलो माग्नेले समाजमा जस पाउने देखेर इर्ष्यालु चाहिँले भनेछ- भगवान् म पहिले माग्छु । त्यसमा अर्कोले सहमति जनाएछ ।

ईश्वरले शर्त राखेछन्-पहिलो माग्नेले जे माग्छ, त्योभन्दा दोस्रो माग्नेले दोब्बर पाउनेछ । शुरूमा तपस्या शुरू गर्ने दंग परेछ । छिमेकीको खुशी देखेर बरदान माग्न ठिक्क परेकाको मनमा पाप पलाएछ । समाजको भलाइका लागि बरदान माग्न ठिक्क परेको उसले सोच बदलेछ र छिमेकीलाई बर्बाद बनाउने मनशायसहित भनेछ-भगवान् मेरो एउटा आँखा फुटोस् ।

एउटा आँखा फुटे फुटोस् दोब्बर पाउने भनेकाको दुईवटा आँखा फुटोस् भनेर उसले बरदान मागेको थियो ।

अहिले नेपाली राजनीतिमा यही अवस्था सिर्जना भएको छ । जस पाउला भनेर अरूलाई पीडा पुगेको छ । बरू आफू नास्सिएर भए पनि प्रतिस्पर्धी वा सहकर्मीको हानी नोक्शानी होस् भन्नेमा चिन्ता बढेको छ ।

तँछाड मछाड

अहिले देश र जनताको भलो गर्ने अवसर सामुन्ने आइपुगेको छ । अवसर सदुपयोग गर्ने स्वस्थ प्रतिस्पर्धा भन्दा एकले अर्कालाई कुनै हालतमा गर्न नदिने तँछाड मछाड भएको छ । संघीयतालाई सौदावाजीको हतियार बनाएर सत्ता ढाल्ने र बनाउने खेल भइसक्यो । एउटाले ६ प्रदेश भन्दा अर्को ११ प्रदेश भन्छ । एउटाले हिमाल, पहाड र तराई अलग राखेर संघ बनाउन हुँदैन भन्छ, अर्कोचाहिँ भूगोलको अलग पहिचानको मुद्दा चर्काउँछ ।

कसैलाई जातीय राज्य चाहिएको छ त कसैलाई गैरजातीय । समाजशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्र, इतिहास, भूगोलको सैद्धान्तिक दृष्टिकोणलाई आधार मान्नुको साटो विश्वका तीतामीठा अनुभवबाट विज्ञानसम्मत् निष्कर्षमा पुग्नेतर्फ ध्यान छैन । आग्रह पूर्वाग्रहले ग्रस्त भएर व्यक्तिगत रहर पूरा गर्ने वा कसैको गलत मनसायलाई पूरा गरिदिनेहरूको जमात तँछाड मछाडमा उत्रिएको छ ।

चिन्तन मनन र बहसमार्फत् गतिलो निष्कर्ष निकाल्ने गरी मन्थनमा लाग्नेभन्दा हाँसोठट्टा, खिसीनिन्दा र गालीगलौजको संस्कार विकास हुँदैछ । पीडाले अधिकांश समय निराश हुनुपर्ने जनता नेताका उखान टुक्काबाट क्षणिक हाँसोमा रमाउने शिवाय केही पाउँदैनन् ।

सत्ताको खेल

देशभक्ति त सुनाउने र देखाउने कुरामात्र भएका छन् । देशको अलिकति मात्र माया भएको भए त्याग तपस्या देखाउन सक्थे । अहिले प्रमुख दलमा शीर्ष भनिएका तीनजना नेताहरूमध्ये कुनै एकले मात्र त्याग देखाउन सके सुन्दर भविष्य निर्माण हुनसक्थ्यो ।

सत्ताको अस्वस्थ चलखेलले माघ ८ लाई पछि धकेल्ने वा देशलाई कालो युगतर्फ धकेल्ने अशुभ दिन बनाउँदैछ । कसैलाई राष्ट्रपति हुने चिन्ता छ त कसैलाई राष्ट्रपति पद जाला भन्ने चिन्ता ।

सादगी भनिएका प्रधानमन्त्री सुशील कोइरालालाई भन्दा उनका मन्त्रीहरूलाई लाभको पदबाट बिदा हुनुपर्ला भन्ने पीडा । त्यसैले माघ ८ को म्यादलाई लम्ब्याउनुपर्ने अभिव्यक्ति काँग्रेसकै मन्त्री डा. रामशरण महतबाट आउनुमा स्वार्थ देखिन्छ ।
देशमा त्यागको भावना भएका नेताको कमी र स्वार्थको दलदलमा भासिएकाहरूका कारण समस्या गहिरिँदैछ । राष्ट्रपतिको लालसा पालेको आरोप लागेका कोइरालाले आफूमा पदको स्वार्थ नरहेको प्रष्ट पार्न सकेका छैनन् ।

शारीरिक रूपमा अस्वस्थ केपी ओली ओठ बढी चलाएर फूर्ति प्रदर्शन गर्न खोज्छन् । उनका पार्टीका हस्ती नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालको आँखा पनि राष्ट्रपतिको कुर्सीमा गइसक्यो । वामदेव गौतम मौकाको पर्खाइमा छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति बन्ने सपना देख्न छाडेका छैनन् । उनी सेरेमोनियल राष्ट्रपति नबन्ने रे, प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्न त्यसअनुरूपको संवैधानिक व्यवस्था र माहौल बनाउनेतर्फ केन्दि्रत छन् । बाबुराम भट्टराईलाई प्रचण्डलाई पन्छाएर नेता बन्ने दाउ छ । नारायणकाजी श्रेष्ठ बाबुरामले ठाउँ लेलान् भनेर चिन्तामा छन् ।

मधेसवादी दलका नेताहरू देश र मधेसको अधिकारलाई बिर्सेर सत्ताको प्याकेजमा सहमति गरौं भन्दै हिँडेका छन् । महन्थ ठाकुरलाई कमजोर बनाउँदै सत्ताका स्वार्थीहरूको साँठगाँठ बलियो हुँदैछ ।

खोई दधिची ?

देवताहरूलाई दुःख दिएका असुर भि्रत्राको अन्त्यका लागि दधिची ऋषिको मेरूदण्डले बनेको हतियारबाट मात्र सम्भव थियो । आफू समाप्त भएर कसैले शरीरको अङ्ग दिनु सामान्य विषय थिएन । तैपनि संसारको रक्षाका लागि देवताहरूका राजा इन्द्रले ऋषि दधिचीसँग मेरूदण्ड दिन अनुरोध गरे । दधिचीले खुशीसाथ भने-संसारको भलो हुन्छ भने म यो क्षणिक शरीर त्याग्न तयार छु । उनले आफ्नो शरीरको मेरूदण्ड लिएर जान भन्दै शीरछेदन गरे । दधिचीको शरीरको मासु जङ्गली जनावरले खाए । इन्द्रले मेरूदण्ड लिएर गई कठीन युद्ध लडेर असुर भ्रित्राको अन्त गरिदिए ।

मिथक नै किन नहोस्, दधिची त्यागका प्रतिमूर्ति हुन् । कसै न कसैको त्यागविना समाजको कल्याण असम्भव छ ।

सुकरातको त्यागले पश्चिमा समाजमा नैतिकता प्रधान भयो । स्वार्थले लिप्तहरूको भीडले शासनसत्ता भरिएपछि कल्याण त परै जाओस्, बर्बादीको खतरा बढ्दैछ ।

सिक्नुपर्ने पाठ

वि.सं.०४७ सालको संविधान निर्माण नेताहरूको त्यागी भावना नै कारण बन्यो । गणेशमान सिंहले प्रधानमन्त्रीको लालसा पालेको भए अवस्था अर्कै हुन सक्थ्यो । राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न भन्दा उनले कृष्णप्रसाद भट्टराईलाई देखाए । नेपालको इतिहासमा यतिको त्याग सायदै कुनै होला । भलै किशुनजीको प्रधानमन्त्री कार्यकालमा संविधान बन्यो होला । तर, राजनीतिक जीवनलाई बलिदानी दिँदै दधिची जस्तै बनेका गणेशमान सिंहको त्याग भरिएको छ ।

संविधानलाई समयानुकूल विकसित र परिवर्तन गर्न नसक्नुको कमजोरी ढाकछोप गर्न आलोचकहरू उक्त संविधानलाई असफल भन्छन् । बुट ठटाउँदै राजाको अधिकार खै ? भन्दै जर्नेलहरू लिएर आउने प्रधानसेनापति सच्चितशमशेर जबरा जस्ता अन्धराजावादीलाई समेत ठट्टैठट्टाले नीलोकालो बनाएर फर्काइदिएको इतिहास साक्षी छ ।

अन्त्यमा, अहिले कुनै एक नेताको त्याग जरूरी छ । जो त्यागी बन्नसक्छ उसको नाम स्वणिर्म अक्षरले लेखिनेछ । गान्धीको त्यागले भारतले सुमार्ग पायो । नेल्सन मण्डेलाको त्यागले दक्षिण अपि|mकामा शान्ति छायो । दुबै नेता त्यागले बनेका हुन्, न कि सत्ताको स्वादले । अटलविहारी बाजपेयीले कवितामार्फत् भनेका छन्ः

सानो मनले कोही ठूलो हुँदैन, टुटेको मनले कोही उभिन सक्दैन ।

मन हारेर मैदान जितिँदैन, न मैदान जितेर मन जित्न सकिन्छ ।

जनताको मन जित्न मैदान होइन, त्याग चाहिन्छ । छ कोही त्याग गर्नसक्ने ? त्याग गर्न सकिँदैन भने अर्काको दुर्गतिमा आफ्नो प्रगति देख्न छाडे मात्रै पनि हुन्छ । आफ्नो एउटा आँखा फुट्दा अर्काको दुईवटा आँखा फुट्ने ठानेर आफ्नै आँखा फुटेकोमा रमाउने सोच र शैलीबाट मुक्त नभएसम्म न त देशको विकास हुन्छ, न त समाजमा सकारात्मक परिवर्तन हुन्छ ।
(लेखक जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधी गर्दैछन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?