२३ माघ, काठमाडौं । राजधानीको अति व्यस्त मानिने बानेश्वर क्षेत्रमा अब अन्तर्राष्ट्रियस्तरको फ्लाइओभर बन्ने भएको छ ।
सडक बिस्तार आयोजनाले यसको अध्ययन गरिरहेको छ । मीनभवन छेउको बागमतीबाट एकैचोटि बबरमहल नजिकको धोबीखोला छेउमा पुग्न सकिने गरी फ्लाइओभर बन्ने भएको हो ।
आधा किलोमिटर लामो फ्लाइओभर बनेपछि तीनकुनेतिरबाट माइतीघर जानुपर्ने गाडीहरु बानेश्वरको मूल सडक छाडेर फ्लाइओभरमार्फत जानेछन् ।
सडक बिभागले यससम्बन्धी अध्ययन गरिसकेको छ । यो फ्लाइओभर बनेपछि बानेश्वर संविधानसभा भवन नजिकको सवारी चाप घट्नेछ ।
कहाँ कसरी बन्दैछन् राजधानीका सडक ?
राजधानीको अनुहार फेर्ने अभियान चलिरहेका बेला यस वर्ष १० किलोमिटर सडक बिस्तार तथा निर्माण हुने भएको छ । उपत्यका सडक बिस्तार आयोजनाले शुरु गरेको ४३ किलोमिटर सडक बिस्तार तथा निर्माण अभियानका क्रममा यस वर्ष ९ दशमलव ७७ किमी सडक सम्पन्न हुनेछ ।
कुल ४३ किलोमिटरमध्ये हालसम्म करीव १५ किलोमिटरको काम सम्पन्न भइसकेको आयोजना प्रमुख प्रभातकुमार झाले जानकारी दिए ।
करीव २९ किलोमिटर सडकको काम बाँकी रहेकोमा यस आर्थिक वर्षमा १० किलोमिटर तयार पार्ने लक्ष्य राखिएको उनले बताए ।
आयोजनाले हालैमात्र त्रिपुरेश्वरदेखि कलंकी हुँदै नागढुंगासम्मको १२ किलोमिटर सडक बिस्तारको योजना स्वीकृत गराइसकेको छ । यो सडक किनाराका घर भत्काउने काम यसै वर्ष शुरु हुनेछ ।
(त्रिपुरेश्वर-नागढुंगा सडक : अब यस्तो हुने छ)
त्यस्तै चाबहिलदेखि गोकर्ण रिसोर्ट नजिक बागमति पुलसम्मको साढे ३ किलोमिटर सडक बिस्तारको फाइल अहिले शहरी विकास मन्त्रालयमा छ ।
हालसम्म माइतीघर तीनकुने करीव ३ किलोमिटर सडक खण्डको सबै काम सम्पन्न भइसकेको छ । त्यस्तै कालिमाटी बल्खुको पौने २ किलोमिटर सडक बिस्तार पनि सम्पन्न भएको छ ।
आयोजनाका अनुसार बल्खुदेखि त्रिभुवन विश्वविद्यालय गेटसम्मको करीव एक किलोमटिर सडक बिस्तार तथा निर्माण पनि सम्पन्न भएको छ ।
सम्पन्न भएका सडक बिस्तार तथा निर्माणमध्ये कमलपोखरी ज्ञानेश्वर, काठमाडौं प्लाजा जयनेपाल सडक र गौशाला बानेश्वर शंखमुल साढे ३ किलोमिटर सडकको काम पनि सकिएको छ ।
हाल बिस्तार तथा निर्माणको काम भइरहेकामा चावहिला जोरपाटी बागमतीको साढे ३ किलोमिटर सडकको काम भइरहेको छ ।
त्यस्तै जडिबुटी पेप्सीकोला मनोहरा सडकको करीव ३ किलोमिटर खण्डमा काम भइरहेको छ । ज्ञानेश्वर मैतीदेवी सडक तथा सिनामंगल पूरानो बानेश्वर मैतीदेवी सडकको काम पनि भइरहेको छ ।
त्यस्तै डिल्लीबजार पुतलीसडक तथा पुतली सडक डिल्लीबजार सडक, मैतिदेवी डिल्लीबजार सडक र धुम्बाराही मण्डिखाटार गल्फुटार सडकको काम पनि यसै आर्थिक वर्षमा सकिने भएको छ ।
आयोजनाको सबैभन्दा लामो दूरीको लैनचौर-महाराजगन्ज-गल्फुटार बूढानीलकण्ठ साढे ८ किलोमिटर सडकको काम यसै वर्ष सक्ने लक्ष्य राखिएको छ ।
यो पनि पढ्नुहोस् : माइतीघर-तीनकुने सडकमा मेलम्चीलाई ‘नो इन्ट्री’
प्रतिक्रिया 4