Comments Add Comment

दिल्लीमा आम आदमी पार्टीको ‘चमत्कारिक’ जित

Arbind-kejariwal-wins-delhi

  • चुनाव जितेपछि केजरीवाल । तस्वीर : रोयटर्स

२७ माघ, नयाँदिल्ली । भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरवाल नेतृत्व आम आदमी पार्टीले कसैले नसोचेको ‘चमत्कारिक’ ढंगबाट जित हात पारेको छ ।

मंगलबार सार्वजनिक मत परिणामअनुुसार दिल्ली विधानसभाको ७० सिटमध्ये ६७ सीटमा मा ‘आप’का उम्मेदवार विजयी भएका छन् । कुनै पनि लोकतान्त्रिक निर्वाचनमा आम आदमी पार्टीले पाएको यो जित अभूतपूर्व हो ।

यो जितसँगै ‘आप’का अरविन्द केजरिवाल फेरि दिल्लीको मुख्यमन्त्री बन्ने भएका छन् । यसरी जित्नेमा केजरीवाल आफैंले पनि सोचेका थिएनन् ।

गतसाल भएको अघिल्लो विधानसभा चुनावमा २८ सिटका साथ दोस्रो पार्टी बनेको आपका संयोजक केजरीवाल ४९ दिन मुख्यमन्त्री बनेका थिए । तर, लोकपाल विलमा आपलाई बाहिरबाट समर्थन गरेको कांग्रेसले भाजपासँग मिलेर विरोध गरेपछि केजरीवाल राजीनामा दिएर सडकमा आएका थिए ।

अहिले उनकै नेतृवमा आम आदमी पार्टीले ‘चमत्कारिक’ जित हात पारेको छ । आपले चुनावमा खसेको कुल मतको ५४ प्रतिशत मत पाएको छ । यो परिणाम आफूले समेत नसोचेको केजरीवालले बताएका छन् । उनका अनुसार आपले ५४ सिटमात्रै जित्ने आंकलन गरेको थियो ।

चुनावमा केजरीवालको ‘झाडू’ले भारतीय जनता पार्टी र कांग्रेस बढारिएको छ । भारतको सत्तारुढ पार्टी भाजपाले ३ सिटमात्रै जितेको छ भने कांग्रेस दिल्लीबाट पूर्णरुपमा बढारिएको छ ।

कांग्रेस नेता एवं मुख्यमन्त्रीका उम्मेदवार अजय माकनले महासचिव पदबाट राजीनामा दिएका छन् । अघिल्लो चुनावमा भाजपा ३१ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो भने कांग्रेसले ८ सिट जितेको थियो ।

निर्वाचनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको मत भारतकै जनमत हुने बताएका थिए । तर, शर्मनाक हारपछि भाजपाका नेताहरु दिल्लीको परिणामलाई मोदी सरकारकै मत भन्न नमिल्ने बताउन थालेका छन् ।

मोदीले हार स्वीकार गरे

प्रारम्भिक मतगणनामा नै आम आदमी पार्टीले अग्रता लिएपछि भाजपाका नेताहरुले हार स्वीकार गरे ।

आपले ६४ सिटमा अग्रता लिएपछि भारतीय प्रधानमन्त्री मोदीले केजरीवाललाई फोन गरेर बधाइ दिएका थिए । केजरीवाललाई चियाका लागि निम्तो दिएका मोदीले दिल्लीको विकासका लागि मिलेर काम गर्ने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

किरण बेदी पनि हारिन्

दिल्ली विधानसभामा भारतीय जनता पार्टीका मुख्यमन्त्रीकी उम्मेदवार किरण बेदी कृष्णानगर निर्वाचन क्षेत्रबाट आपका उम्मेदवार एसके बग्गासँग पराजित भएकी छिन् ।

कृष्णानगरको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बेदीले भाजपाका कार्यकर्तासँग माफी मागेकी छिन् । हारले निराश नभएको भन्दै उनले केजरीवाल र उनको टीमलाई बधाइ दिएकी छन् ।

केजरीवालको पाँच वर्षको मेहनतको निरन्तर महेनतको फल पाएको उनले बताइन् । तर, अब आफूले गरेको बाचा पूरा  गर्न आग्रह गरेकी छिन् ।

विपक्षी बेञ्चमा भाजपा रहने

चुनावी परिणामअनुसार दिल्ली विधानसभामा अब विपक्षी दलको नेता समेत हुनेछैन । विपक्षी दलको नेता बन्न कम्तिमा १० प्रतिशत सिट जितेको हुनुपर्छ ।

तर, आम आदमी पार्टीका नेता कुमार विश्वासले भाजपालाई विपक्षीको स्थान दिने बताएका छन् । लोकतन्त्रमा विपक्षी आवश्यक रहने भन्दै उनले गरेको ट्वीटलाई केजरीवालले रिट्वीट गरेका छन् ।

को हुन् भाजपाका तीन विधायक ?

पछिल्लो लोकसभा चुनावमा दिल्लीको सबै सीट जितेको भाजपा विधानसभामा तीन सीटमा खुम्चिएको छ । विजेन्दर कुमार, ओमप्रकाश शर्मा र जगदीश प्रधानलाई दिल्लीका मतदाताले विपक्षीको जिम्मा दिएका छन् ।

रोहिणी सीटबाट विजेन्दर जिते । उनले आपका सीएल गुप्तालाई ५ हजार बढी मतले पराजित गरे । रोहिणीमा भाजपाको हार २०१३ मा मात्र भएको थियो । पछिल्लो पटक विजेन्दर शीला दिक्षित र अरविन्द केजरीवालसँग नयाँदिल्लीमा चुनाव लडेका थिए,जहाँ उनको नराम्रो हार भयो ।

अहिले भाजपाका तीन विधायकमा उनीसँग मात्र विधानसभाको अनुभव छ । ओमप्रकाश विश्वासनगरबाट र जगदीश मुस्तफबादबाट विजयी भएका हुन् । अन्य उम्मेदवारको जमानत जफत हुने अवस्था छ ।

यो पनिस पढ्नुस् :

दिल्लीको चुनावी नतिजा : किन हार्‍यो बीजेपी ?

भाजपाको हारका लागि बेदी जिम्मेवार ?

मोदीले यसरी उडाएका थिए केजरीवाललाई

 दिल्लीका केजरीवाल, नेपालका ल्हारक्याल !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment