राजधानीको धुँवा, धुलो र कोलाहलयुक्त निसास्सिँदो वातावरणबाट बाहिर निस्केर एकदिने यात्रामा लम्कने हो भने एउटा उपयुक्त गन्तव्य हुन सक्छ – मध्यललितपुरको दलचोकी । दलचोकीडाँडा चिरपरिचित फूलचोकी डाँडो भन्दा कम छैन ।

दलचोकी पुग्न राजधानीको सातदोबाटोबाट अघि बढ्नुस्, चापागाँउ बजार पार गर्दै लेले टीकाभैरवबाट कान्ति लोकपथतर्फ लाग्नुस् । मल्ल होटल, बिर्केधारा, सानो भैंसेको कच्ची बाटो छिचोल्दै पुगिन्छ, दलचोकीको अग्लो शिखर । अनि देखिन्छ सुन्दर हिमाली काखको-काठमाडौं शहर ।
अहिले दलचोकी राजधानीबासीहरुको मन बहलाउने उत्तम गन्तव्य मात्रै होइन, मायाँ साट्ने मायालु जोडीहरुको डेटिङ्ग स्पटको रुपमा विकसित छ ।
हिउँदे सिजनका हरेक शनिबार पाखाभरि पिकनिकमा रमाउने असंख्य जमात भेटिन्छन् भने लोकल भाले र लोकल ठर्रा खोज्दै राजधानीका कयाैं युवाहरु दलचोकीका डाँडापाखा चाहार्छन् ।
अग्लो चुचुरोको टुप्पोमा छ, दलचोकी । दलचोकीका होमस्टेको आँगनमा रातविरात होहल्ला चल्छन् । अधेरी रातमा चिसो सिरेटोसँगै क्याम्प फायर चल्छ, यहाँ । धेरै राजधानीबासी मादलुको तालमा नाच्छन्,गाउँछन् ।

उत्तरी हिमालका चुचुरा हेर्न मात्र होइन, राजधानीको रात्रीकालीन दृश्यावलोकनका लागि दलचोकी उपयुक्त छ ।
भोटडाँडा, महभिर र सिलिङ्गेका खेतबारीमा फुलेका तोरी फापरले गाउँ नै रंगीन हुन्छ । साथै मध्यहिउँदको सिजनमा बनैभरि फुलेका लालीगुराँस हुन्छन् । फूलले ढपक्कै ढाकेका डाँडापाखा हेरिरहुँ लाग्छ ।
दलचोकीलाई भिडभाडयुक्त गन्तव्य बनाउन नवनिर्मित मनकामना मन्दिरमार्फत धार्मिक पर्यटनले पनि सहयोगी भूमिका खेलेको छ ।
पर्यटकीय गन्तव्यका लागि भ्यु टावर, पिकनिक स्थल र पार्क निर्माण गर्ने महत्वकाक्षी योजनाका साथ स्थानीय गाँउले अघि बढ्दै छन् ।
दलचोकी पुग्न हाइकिङ्ग रुटको पनि साहरा लिन सकिन्छ । लेले टीकाभैरवबाट मल्लहोटल सानोभैसे हुँदै दलचोकीको तीनघण्टे छोटो हाइकिङ्ग रुट समय नहुने यात्रीका लागि पनि उपयुक्त हुन सक्छ ।

लेलेबजारबाट नल्लु, भारदेउ, चौघरेको डाँडैडाँडा दलचोकी पुग्न अर्को लामो यात्राको चाँजो मिलाउन सकिन्छ । टीकाभैरवबाट कोटडाँडा र भट्टेडाँडाको सीमाना तीनपाने भञ्ज्याङ्ग, खुर्सानीबारी हुँदै अर्को मध्यम बाटो रोज्न पनि रमाइलो यात्राको उत्तम विकल्प होला ।
दलचोकी पुग्न आफ्नै प्राइभेट सवारी प्रयोग गर्नु बुद्धिमानी हुन्छ । चापाँगाउबाट शंखु जाने सार्वजनिक बस त पाइन्छ । तर, भर नपर्दा बेस होला । बाटो कच्ची छ, तर डराउनुपर्दैन ग्राभेल गरिएको सुविधाजनक यात्राको अनुभव हुनेछ ।











प्रतिक्रिया 4