१२ फागुन, काठमाडौं । माओवादी जनयुद्धकालमा ‘भाटे कारवाही’ निकै चर्चित थियो । मंगलबार त्यसैको झल्को दि नेगरी एमाओवादी समर्थित युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को ‘भाटे जुलुस’ निकालेको छ ।
भाटाधारी ‘सुरक्षा दस्ता’ले मंगलबार राजधानीमा मार्चपास गरेको छ । हातमा बाँसका भाटा बोकेका युवाहरुले स्वयंमसेवक लेखिएको रातो टोपी लगाएका थिए ।
मार्च पासका क्रममा वाइसिएलका युवाले बाटामा भेटिएका मोटरसाइकल चालकमाथि भाटा बर्साउन गर्नसमेत भ्याए ।
भृकुटीपण्डपबाट सुरु भएको मार्चपास सहिदगेट, सुन्धारा, जमल, पुतलीसडक हुँदै भृकुटीपण्डपमा पुगेर समापन भएको थियो । मार्चपास सुरु गर्नु पिटी खेलाउनुका साथै ‘रोल कल’ समेत गरिएको थियो ।
मार्च पासमा सहभागीले किन लाठी बोकेको भन्ने प्रश्नमा बाइसीएलका उपत्यका संयोजक दीपशिखाले अनलाइनखबरसँग भने-‘संविधानसभामा जबरजस्ती पेल्न खोजिएको छ तर, हामी हराएका हैनौं, सुस्ताएका मात्र हौं भन्ने सन्देश दिन लाठी बोकेका हौं ।’ माओवादीमा लाग्नेहरुलाई ‘बिचरा’ भन्न थालिएको भन्दै उनले माओवादीहरु बिचरा होइनौं भन्न पनि लाठी बोक्नु परेको बताए ।
मार्चपासका लागि बाइसीएलले ५ हजार टोपी र ६५ सय लाठी जम्मा पारेको थियो । वाइसीएलले १६ गते हुने जनप्रदर्शनका लागि ६ हजारको सुरक्षा दस्ता बनाएको छ । उनीहरुले नेताहरुको सुरक्षादेखि जुलुस सहभागीहरुलाई पानीलगायतको प्रवन्ध गर्न सहयोग गर्ने दीपशिखाले बताए ।
आन्दोलनमा अनिवार्य आउन उर्दी
वाइसीएलले १६ गतेको प्रदर्शनसहित आन्दोलनमा अनिवार्य सहभागी हुन उर्जी जारी गरेको छ । ‘आन्दोलनमा सबैलाई अनिवार्य गरिएको छ । नआए कमिटीबाट स्वत हट्छ भनिएको छ’ बाईसीएल नेताले भने ।
भिडियो हेर्नुस्
प्रतिक्रिया 4