+
+

जनता गतिला भए पो नेता गतिला हुन्छन्

मान्छे भगवान बन्न सक्छ कि सक्दैन ? यो छुट्टै चर्चा र अध्ययनको विषय बन्ला । तर, पनि छिमेकमा मोदीको मूर्ति पूजा भइरहेको छ । केजरीवाललाई पनि भगवान मान्नेको कमी छैन । छिमेकमा जस्तै नेपालमा पनि एकाथरि मान्छे छन्, जसले केवल मान्छे भएर बाँच्ने अधिकार गुमाइरहेका छन् । ती ‘अभागी’ हुन् राजनीतिक दलका नेता ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७१ फागुन १४ गते १९:४३

मान्छे भगवान बन्न सक्छ कि सक्दैन ? यो छुट्टै चर्चा र अध्ययनको विषय बन्ला । तर, पनि छिमेकमा मोदीको मूर्ति पूजा भइरहेको छ । केजरीवाललाई पनि भगवान मान्नेको कमी छैन । छिमेकमा जस्तै नेपालमा पनि एकाथरि मान्छे छन्, जसले केवल मान्छे भएर बाँच्ने अधिकार गुमाइरहेका छन् । ती ‘अभागी’ हुन् राजनीतिक दलका नेता ।

सुदर्शन खतिवडा
सुदर्शन खतिवडा

वैदेशिक रोजगारीमा रहेका मेरा एकजना आफन्तले नेपाल फर्कनासाथ देशको गाली गर्न थाले । फलानु देशमा यस्तो सिस्टम छ, सरकार उस्तो छ, तर हाम्रो देशमा भने यस्तो उस्तो … आदि ।

एक महिना बित्न नपाउँदै उनले मलाई फोन गरे र भने, ‘बाबु लाइसेन्स बनाउनुथियो, कोही मान्छे चिनेका छौं र ?’

दुई मिनेट लाइनमा बस्न नसक्ने, छतबाट सडकमा फोहोर फाल्ने र सडकमा पिच्च पिच्च थुक्दै हिँड्ने अधिकांश नेपालीलाई नेताहरुको गाली नगरी खाएको पनि पच्दैन । जब सुर्ती भरेको कलमले रामायण लेख्नेहरु ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर भद्दा श्लोक गुन्गुनाउँछ, त्यो भन्दा उदेकलाग्दो दुस्साहस के होला ?

अहिले पनि हामी नेतालाई गाली गरिरहेका छौं । ‘देश बिगारे, आफू मात्र बने ।’ हो, नेताहरुले ठीक गरिरहेका छैनन् । तर हामीले यो भुल्नु हुँदैन कि ती नेता बनाउने हामी हौं ।

लौहपुरुष गणेशमान सिंहले त्यतिकै जनतालाई भेंडा भनेका होइनन् । अहिलेकै सन्दर्भ हेरौं, केही नेताहरुको स-साना स्वार्थमा सहमतिको वातावरण भाँडिएको छ । कोही आन्दोलनकारीलाई आतंककारी घोषणा गरेर ठोक्ने कुरा गर्दैछन्, कोही टाउको फुटाएर शुद्धीकरण हुने कुरा गर्दैछन् । तलका नेता कार्यकर्ताहरु आँखा चिम्लिएर विरोध र समर्थन गर्दैछन् ।

ओलीको बोली सच्याउने ‘ज्यूँदा’ नेता कार्यकर्ता एमालेमा छैनन् भने प्रचण्डको ‘टाउको फुटाएर पवित्र बन्ने’ भ्रम निवारण गर्ने नेता कार्यकर्ता एमाओवादीमा छैनन् ।

आफ्नै नेताले देशमा फैलाएको भ्रष्टाचारको डडेलोमा आगो ताप्ने कार्यकर्ताहरु ओलीले सहिद बेपत्ता परिवारले लिएको रकममा जथाभावी टिप्पणी गर्दा गर्वले ताली नै बजाउँछन् र जयजयकार गर्छन् ।

आउनुहोस् माइन्ड सेट भत्काउँ । बन्धक विवेकलाई मुक्त गरौं । आदेशपालक भन्दा अनुशासित बनौं । आफू मुक्त होऔं र देशलाई मुक्त बनाऔं

वर्गउत्थान नरोकेर सर्वहारा वर्गको राजनीति गर्न टाउको फुटाउने उदघोष गर्दा पनि ‘रगत’लाई आदर्शीकरण गरिरहेका हुन्छन् माओवादी कार्यकर्ता । यहाँ कसको छ विवेक ? संसार बुझेको भन्ने दलका नेता कार्यकर्ताहरु दलगत र गुटगत स्वार्थसँग जब विवेक साट्छन्, यतिबेला जनता कता निदाइरहेका छन् ?

यसर्थ, देश जबसम्म आदेशपालक कार्यकर्ताहरुको भीडबाट चलिरहेको हुन्छ, तबसम्म समृद्धि नारामै सीमित हुन्छ । आदेशपालकबाट अनुशासित, सिपाहीबाट सिर्जनशील कार्यकर्ता सहितको पार्टी बन्नुपर्छ ।

‘नयाँ शक्ति’को बहस ‘सिजनल रोमान्स’ र कसैको आवश्यकताको ‘प्वाल टाल्ने टालो’ भइरहेका बेला यसलाई सही ट्रयाकमा ल्याउने काम यहीँबाट गर्न सकिन्छ कि ?

दिल्ली विधानसभाको चुनावअघि राज्य कोषको दुरुपयोग गर्दै तामझामपूर्ण रुपमा गरिएको चुनावी प्रचार सभामा बोल्दै मोदीले भनेका थिए, ‘आन्दोलन गर्नेहरु जंगल गए हुन्छ ।’ उनले आन्दोलनकारीलाई जंगली र नक्सलिस्ट भन्दै घृणा गरे ।

त्यतिबेला आपले भद्ररुपमा भनेको थियो, ‘मोदी महोदय, भारतको मुटु मानिने राजधानी दिल्लीमा दिनदहाडै दामिनीहरु बलात्कृत हुन्छन् । त्यतिबेला जनता मैनबत्ती बोकेर सडकमा आउन नपाउने ?’
आपले जनताको एजेन्डा छाडेन र एजेन्डासँगै सडक पनि छाडेन । र, विजय चुम्यो ।

खासमा जंगल खराब हुँदैन । दशरथ पुत्र राम जब शर्त स्वीकारेर नैतिकता देखाउँदै जंगल पसे, उनी ‘मर्यादा पुरुषोत्तम श्रीराम’ बनेर फर्किए । राजकाज छाडेर जंगल छिरेका सिद्धार्थ गौतम ‘बुद्ध’ बनेर घर फर्किए ।

यहाँ ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने जंगल जानेहरु कसरी जान्छन् र सडकमा जानेहरु कसरी जान्छन् ? नेपालको काठमान्डुमा जब स्कूले किशोरीमाथि दिननहाडै एसिड फ्याँकिन्छ, सरकार एउटा वक्तव्यमा पनि आउँदैन । दुई चारजना कालाबजारीले महिनौंसम्म बजारमा ग्याँसको कृत्रिम अभाव पैदा गर्छन् । ‘बहुमत’को सरकारलाई थाहा नै हुँदैन ।

प्रधानमन्त्री भन्छन्, ‘यो आन्दोलन गर्ने बेला होइन ।’ शक्तिशाली ओलीहरु उखान टुक्कामा जनताको पिरमर्का सुनाउँदैनन् । उनी भन्छन्, ‘आन्दोलनकारीलाई समातेर जेलमा कोच्नुपर्छ । आन्दोलन गर्ने आतंककारी हुन् ।’

विपक्षी दललाई आफू विपक्षी भन्ने थाहा नै छैन । विपक्षीको भूमिका नै थाहा छैन । व्यवस्थापिका शान्त हुन्छन् अनि संविधानसभामा अशान्त । यहाँ सबका सब उल्टो दौडमा दौडिरहेका छन् । सडकको गीत कसले गाउने ? गरिबको पीडा कसले गुनगुनाउने ?

घरमा बच्चा छाडेर ग्यास लिन घन्टौं लाइनमा बसेकी एक गृहिणी भन्दै थिइन्, ‘हाम्रा नेताहरुको चुलोमा पक्कै ग्यास अभाव छैन । अनि उनीहरुले कसरी थाहा पाउन् जनताको पीडा ?’

हो, यहाँ जनतालाई छुने सामान्य काम गर्ने मान्छे चाहिएको छ । उनीहरुको पीडाको गीत गुनगुनाउने शक्ति चाहिएको छ । भयो छाडिदिउँ सिद्धान्तका ठूला ठूला बहस । यहाँ मानिसहरु सिद्धान्तको जेलमा कैद भइसके । जब उनीहरु आफैं जेलमा छन्, कसरी गर्न सक्छन् जनताको मुक्ति ?

सपनाको वर्षात् रोकिएर मरुभूमिकरण हुन लागेको जनताको मनमा ठूला सपना कसैले बाँढ्नु पर्दैन । केवल एक घुड्को पानीले रसाउन सक्छन् सुकेका आँतहरु । के यो अहिलेकै विद्यमान पार्टी, संस्थागत जीवन र कार्यकर्ताको पंक्तिबाट सम्भव छ ? छ, यहीँभित्रैबाट सुरु गरौं । सकिँदैन भने नयाँ केही सोचौं ।

फगत नेताको ‘क्रिया’माथि टिप्पणी गरेर बाँचिरहने ‘प्रतिक्रियावादी’ पुस्ताले पार्टी बाहिरै गए पनि केही गर्न सक्ने छैनन् । यहाँ त आफैं केही गर्न सक्ने नामकाजी भन्दा कामकाजी मानिसहरु चाहिएको छ । जसले अहिलेका गडबडी गर्ने नेताहरुलाई चिया पसल र चौतारीमा थन्काउँदै आफू शासन गर्ने कुर्सीमा उक्लने आँट गरोस् र उनीहरुलाई फुर्सदमा गुन्गुगाउने ‘प्रतिक्रियावादी’ बनाउन सकोस् ।

हाम्रो देशमा मध्यमवर्गको तप्का पनि विकास भइरहेको छ । यो तप्का मासु खान चाहने तर रगत देख्ने नसक्ने प्रवृत्तिको हुन्छ । सामान्य जीवन चलेकै छ, राष्ट्रका लागि जोखिम किन उठाउनु ?

अवश्य हो, यो वर्गलाई पनि परिवर्तन चाहिएको छ । देशमा भएको भद्रगोलता र अशान्तिबाट उनीहरु पनि प्रभावित छन् । तर, अरुले परिवर्तन गरिदिए हुन्थ्यो भन्ने उनीहरुको मनोभावना हुन्छ ।

जस्तो कि, यो वर्गको प्रतिनिधित्व गर्ने कुनै पात्र पशुपतिको मन्दिरमा दर्शन गर्न गयो भने अनौठो वरदान माग्छ । उसले ढोकामा आफ्नो जुत्ता फुकालेको हुन्छ र मन्दिर पस्दानपस्दै उसलाई जुत्ता हराउने चिन्ताले सताउन थाल्छ । उसले मन्दिरभित्र वरदान माग्छ, ‘प्रभु मेरो जुत्ता नहराओस् ।’ के यसरी देश यसरी बन्छ ?

नाफाका लागि जोखिम नमोल्ने व्यापारी र देशका लागि जोखिम मोल्न नसक्ने नागरिक नाम मात्रका हुन्छन् । फगत ज्यूँदो लासजस्ता ।

यही पृष्ठभूमिमा कस्तो पार्टी ? कस्तो नेता ? सामान्य उत्तर छ, जस्ता जनता, जस्ता कार्यकर्ता ! आउनुहोस् माइन्ड सेट भत्काउँ । बन्दक विवेकलाई मुक्त गरौं । आदेशपालक भन्दा अनुशासित बनौं । आफू मुक्त होऔं र देशलाई मुक्त बनाऔं । तब मात्र समृद्धिलाई हामीले होइन, हामीलाई समृद्धिले पछ्याउनेछ ।

देवत्वकरण र राक्षसीकरण

भारतजस्तै नेपालमा पनि कुनै पार्टी वा गुटको नेता भएको आधारमा उनका पिछलग्गुहरुले उनीहरुलाई भगवान बनाइहाल्छन् ।

अन्ततः मानिस मानिस नै हो । कुनै अमूक पात्रलाई आदर्शीकरण गर्दै रातारात भगवान बनाउने र पुनः दानवीकरण गरिहाल्ने कार्यकर्ता र जनताको कमसल शैलीले हाम्रो समाजलाई नै पछाडि धकेलिरहेको छ ।

केहीसमय अघि एमाओवादीनिकट एक भातृ संगठनकोे बैठकमा उक्त पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति यस्तो छ कि मुख्य नेताले एक महिना अघि खोलामाथितिर बग्छ भन्दा पनि आँखा चिम्लिएर ताली पिटिदिन्छन्, एकमहिना पछि खोलो तलतिर पो बग्दो रहेछ भन्दा पनि परर्र ताली पिटिदिन्छन् ।’ यहाँ उनले केन्द्रीय समितिका सदस्यहरुले समेत विवेकको प्रयोग गर्न जान्दैनन् वा गर्न सक्दैनन् भन्ने सन्दर्भलाई जोड्दै थिए ।

त्यसो त, यो समस्या एमाओवादीमा मात्र होइन, देशका प्रायः सबै पार्टीमा कुनै न कुनै स्तरमा देखिन्छ । ‘सिमेन्टेड माइन्ड सेट’ भएका नेता कार्यकर्ता भएकै कारण कुनै पार्टीको नेता बन्नु लगभग ‘भगवान’ बन्नुजस्तै हुन्छ । यस्तो अवस्थामा ‘लोकतन्त्र’ वा ‘जनवाद’ केवल चाडपर्व विशेषमा लगाइने विशेष पहिरन जस्तै बन्न पुग्छन् ।

एमाले र कांग्रेसमा पनि उस्तै

यस्तो कुरा वंश परम्पराअनुसार नेतृत्व हस्तान्तरण हुने नेपाली कांग्रेसमा मात्र होइन, सापेक्षित बेसी जनवादको अभ्यास गरेको देखिने एमालेमा पनि हावी छ ।

यसअघि नेपथ्यमा रहेको यो प्रवृत्तिको ओलीको आगमनसँगै प्रभावशाली पुनरुत्थान भएको अनुभव गर्न सकिन्छ । यसरी हेर्दा यहाँ विवेकको प्रयोग गर्ने मानिसभन्दा धेरै अन्धभक्तहरुकै भीड छ ।

यो अनौठो र पिछडिएको असहिष्णुताको भयाक्रान्त दलदलमा हामी बिस्तारै फसिरहेका छौं । पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा जब केपी ओलीले सहमतिलाई नै प्रभावित गर्ने गरी तथानाम बोल्न थाल्छन्, कुनै पनि नेता तथा कार्यकर्ता चुइँक्कसम्म बोल्दैनन, ‘उनले त्यस्तो बोल्नु हुँदैनथ्यो ।’

कुनै दलको समर्थन वा विरोधमा गरिएको टिप्पणी र प्रतिक्रियाको स्तर हेर्दा लाग्छ, ‘हामी कहाँ छौं ? हाम्रो स्तर कहाँ हो ?’ के गाली गरेर मात्र देश बन्छ ? हामी आफूचाहिँ कति ठीक छौं ?

सिद्धान्तको जेलमा कोचिएको जनवाद र इतिहासको ब्याज खाने लोकतन्त्रद्वारा बलात्कृत व्यवहारले निश्चय पनि आदेशपालक कार्यकर्ता र समर्थकको भीड जन्माउँछ । जुन निर्जीव प्रायः हुन्छ ।

कालोलाई कालो र सेतोलाई सेतो भन्न नसक्ने आदेशपालकहरुको भीड नै अहिलेको नेपालको सबभन्दा भयंकर दुर्भाग्य हो ।  धमिलो पानीमा माछा मार्न र संक्रमणकालमा राजनीति गर्न भीडको हुटिङ्ग र तालीको सहयोगले सकिएला तर पानी संग्लिएपछि माछा मार्न र सहज अवस्थामा राजनीति गर्न ज्ञान, सीप, क्षमता र अनुशासन चाहिन्छ । यस्तो क्षमता राख्ने नेताहरुको अभाव नै हाम्रो देशको मुख्य समस्या हो ।

असंयोजनीय भद्रगोल राजनीतिक यात्रामा रिंगटा लाग्ने गोलचक्कर काटिरहेको देशमा सहमतिको कमजोर सम्भावनाको त्यान्द्रोमा केही अतिवादी नेताहरुले मच्चिई मच्चिई पिङ खेलिरहेका छन् । शक्ति केन्द्रहरुले बन्द कोठामा फरक-फरक कासन गरिरहेका छन् ।

यहाँ डोरी छिन्दा अमूक नेता मात्र पछारिन्नन् । सिंगो देश पछारिने अवस्था छ । यिनीहरुलाई जनताको कासन भन्दा शक्ति केन्द्रको कासन प्रिय लागिरहेको छ । सत्ता पक्षलाई कोठाभित्र प्रक्रियामा जाउ भन्ने र विपक्षीलाई सहमति नछोड भन्दै ‘गोरु’ जुधाइरहेका ‘मालिक’हरुद्वारा मञ्चित उही पुरानै नाटकमा सबैभन्दा बढी मूर्ख त दर्शक बनिरहेका छन् ।

यस परिदृश्यबाट निर्देशित भएर हाम्रा नेताहरु जे बोल्छन्, हामी ‘जिन्दावाद’ घन्काइहाल्छौं । हामीलाई मतलव छैन, ‘के बोलिएको छ ?’ हामीलाई मात्रै मतलव छ, ‘कसले बोलिरहेको छ ?’ विवेक बन्दक राख्ने अन्धसमर्थकहरुको भीड बढ्नु अन्धकारतिरको यात्रा हो । मुलुकको उज्यालो भविष्य चाहनेहरुलाई लागि यो कदापि शुभ संकेत होइन । तर, यहाँ हामी पनि जानी नजानी विवेक बन्दक राखेर अकारण कसै न कसैको जयजयकार गरिरहेका छौं ।

अरुलाई गाली गर्न सजिलो छ । तर आफैंलाई गालो गर्नु असाध्यै मुस्किल छ । दुई अतिवादको भक्तिगानमा हामी जसरी रमाइरहेका छौं, सुदूर भविष्यप्रति सचेत नागरिकले सजिलै बुझ्नुपर्छ, हामी दुई अतिवादको जन्ती मात्रै त बन्दैछैनौं, सँगसँगै राष्ट्रकै अधोगतिको मलामी पनि बनिरहेका छौं ।

आ-आफ्ना ‘राम’को भक्तिगानमा मस्त हामी ‘हनुमानहरु’ त्यतिबेला मात्र ब्युँझनेछौं जतिबेला लंकाकै अस्तित्व  नामेट हुन्छ । बाँसै नरहेपछि केको बाँसुरी बजाउनु ? अन्धभक्तहरुले कसरी अस्तित्व जोगाउनु ? जब भक्तिगान गर्ने भगवान नै बाँकी रहेनन् भने ?

गाली र आलोचनाले भरिएको हाम्रो मष्तिष्क ‘खत्तम नेता’को भन्दा कम खत्तम छैन । अझ सामाजिक सञ्जालमा कुनै दलको समर्थन वा विरोधमा गरिएको टिप्पणी र प्रतिक्रियाको स्तर हेर्दा लाग्छ, ‘हामी कहाँ छौं ? हाम्रो स्तर कहाँ हो ?’ के गाली गरेर मात्र देश बन्छ ? हामी आफूचाहिँ कति ठीक छौं ?

जनता र कुनै पार्टीका कार्यकर्ताबीच के फरक छ ? कहिलेकाँही कार्यकर्ताहरु रोबोटजस्तो लाग्छन् भने जनता शालिकजस्ता । जनताको चेतनाको प्रतिनिधित्व कार्यकर्ताले गर्दछन् र कार्यकर्ताको औसत चेतनाको प्रतिनिधित्व नेताले । नेता अन्तरीक्षबाट खस्दैनन् ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?