१९ चैत, सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विहीबार प्रधानमन्त्री सुशील कोईरालाले शिलान्यास गरेका छन् । भेरीगंगा नगरपालिका-८ हात्तिखाल बबईमा प्रधानमन्त्री कोईरालाले वैधिक मन्त्रद्वारा पूजापाठसहित आयोजनाको शिलान्यास गरेका हुन् ।
५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने र ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाबाट राखिएको छ । सो आयोजनाबाट बर्दिया र बाँकेका जग्गामा सिँचाइ सुविधा पुग्ने छ । भेरी नदीको पानी बबई नदीमा खसाल्न १२ किलोमिटर सुरुङ निर्माण हुनेछ ।
आयोजना निर्माणका लागि सिँचाइ विभाग र चाइना ओभरसिजबीच गत माघ १६ गते ठेक्का सम्झौता भएको थियो । उक्त काम गर्न करिब १० अर्ब ५७ करोड रुपैयाँ लाग्ने अनुमान छ । इन्टेक र पावरहाउसको लागत जोड्दा बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न हालको मूल्यमा १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । तर, इन्टेक र पावरहाउसको ठेक्का दुई वर्षपछि मात्र हुने भएकाले बजार मूल्यसँगै लागत केही बढ्ने अनुमान आयोजनाको छ ।
चालु आर्थिक वर्षको लागि भने सरकारले दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो बजेटबाट मेसिन खरिद, बाटो निर्माण, टिबिएम प्लेट र्फम निर्माणलगायत पूर्वाधारका काम हुनेछन् ।
शिलान्यास कार्यक्रममा गृहमन्त्री वामदेव गौतम र सिंचाई मन्त्री एन.पी. सावदको समेत उपस्थित थिए । चैत १६ गते उदघाटन गर्ने भनिएको आयोजनाको शिलान्यास वर्षातका कारण रोकिएको थियो । त्यसको भोलीपल्ट कार्यक्रम तय गरेपनि प्रधानमन्त्री आउन नसकेपछि विहीबार मात्रै कार्यक्रम तय गरिएको थियो ।
– सुशील खड्काबाट
प्रतिक्रिया 4