Comments Add Comment

अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ९९ औं नम्बरमा

१५ जेठ, काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अस्ट्रेलियाका सबैभन्दा धनी १ सय व्यक्तिभित्र पर्न सफल भएका छन् ।
Shesh-Ghale-Hotel-Sheratan-Press-Meet
गत वर्ष १५० औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ९९ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अघिल्लो बर्ष १५१ औं नम्बरमा रहेकी उनकी पत्नी जमुना यो बर्ष १०० स्थानमा उक्लेकी छिन् ।

अस्ट्रेलियाका धनाढ्यहरुको सूचि प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले आज सार्वजनिक गरेको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित रुपमा ९९ औँ स्थानमा परेका हुन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै १५ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ३३ करोड ५० लाख डलर थियो । घलेकी पत्नी जमुना अष्ट्रेलियाली धनाढ्य महिलाहरुको सूचीमा आठौं धनी महिला हुन् ।

घलेले मेलवर्नमा बनाउन लागेको ८२ तले होटल र अपार्टमेन्टको स्केच
घलेले मेलवर्नमा बनाउन लागेको ८२ तले होटल र अपार्टमेन्टको स्केच

अस्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक समेत रहेका घलेको शिक्षा तथा रियल स्टेट लगायतका उद्योगमा लगानी रहेको छ ।

सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अस्ट्रेलिया पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरे । अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुन् भने गुरुङले बिजनेस र मार्केटिङ विभाग सम्हाल्दै आएकी छिन् ।

साथै उनीहरुले मेलवर्न सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा व्यवसायिक आवास विकाशमा समेत लगानी गरेका छन् । सन् २०१० मा डेढ करोड डलरमा आर्गस भवन खरीद गरी घले दम्पतिले ५ करोड डलर लगानी गरेर त्यसको स्तरोन्नती गरे ।
घले दम्पतिले फ्लागस्टाफ गार्डेन क्षेत्र नजिकै २ सय कोठाको ब्यांक्वेट होटल, ५ सय अपार्टमेन्ट तथा खुद्रा व्यापारिक क्षेत्रको निर्माण गर्ने योजना बनाएका बिआरडब्लुले जनाएको छ ।

घलेले काठमाडाैंमा बनाउन लागेको शेराटन होटलको स्केच
घलेले काठमाडाैंमा बनाउन लागेको शेराटन होटलको स्केच

यसैगरी घलेले काठमाण्डौमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल संचालन गर्दैछन् । ८ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको यो होटलको अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।

पछिल्ला बर्षहरुमा नेपाल र नेपाली समुदायको सेवामा सक्रिय रहेका घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका छन् । यो नै नेपालमा अहिलेसम्मको सवैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष हो । करिव ७० मुलुकमा संजाल भएको गैरआवासीय नेपाली संघको नेतृत्व गरिरहेका घलेले भूकम्पको महावितका बेला गाउँगाउँ पुगेर राहत वितरण गरी एनआरएनलाई परिचालन गरेका थिए ।

यसैबीच, अस्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिको रुपमा १४ अर्ब २० करोड डलर सम्पति सहित यो वर्ष पनि जिना रिनहार्ट एक नम्बरमा पर्न सफल भएकी छिन् । तथापि यो वर्ष उनको सम्पति भने झण्डै ६ अर्ब डलरले घटेको छ । धनाढ्यको सूचिमा दोश्रो स्थानमा रहेका एन्थोनी प्राट परिवारको सम्पति १० अर्ब ७६ करोड डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment