+
+
Shares

आश्चर्यजनक क्षमताका आदित्यको नालीबेली !

१० साउन, काठमाडौं । ‘हाँसो खुशीमा रमाउने मेरा यी अनन्त चाहनालाई अभिव्यक्त गर्न नसक्दा अचल शरीरभित्रका अदृष्य पीडाहरु अझै मौलाउँदै गएका छन् ।’

यी गहन शब्दहरु लेख्ने व्यक्ति कुनै प्रौढ स्रष्टा होइनन् । उनी हुन् भर्खर ५ वर्ष टेकेका बालक आदित्य, जो शारीरिकरुपमा अशक्त छन् र मानसिकरुपमा चाहिँ ‘चमत्कारिक’ जस्तै लाग्छन् । गत २९ जेठमा आफूभित्रको उकुस-मुकुस यसरी कागजमा पोखेका थिए आदित्यले ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १० गते १४:५५

चिरञ्जीवी पौडेल
१० साउन, काठमाडौं । ‘हाँसो खुशीमा रमाउने मेरा यी अनन्त चाहनालाई अभिव्यक्त गर्न नसक्दा अचल शरीरभित्रका अदृष्य पीडाहरु अझै मौलाउँदै गएका छन् ।’

यी गहन शब्दहरु लेख्ने व्यक्ति कुनै प्रौढ स्रष्टा होइनन् । उनी हुन् भर्खर ५ वर्ष टेकेका बालक आदित्य, जो शारीरिकरुपमा अशक्त छन् र मानसिकरुपमा चाहिँ ‘चमत्कारिक’ जस्तै लाग्छन् । गत २९ जेठमा आफूभित्रको उकुस-मुकुस यसरी कागजमा पोखेका थिए आदित्यले ।
Aditya Dahal (2)
शारीरिक रुपमा अशक्त आदित्यलाई यतिबेला उपचारका लागि अमेरिका पुर्‍याइएको छ, जहाँ उनको जीवन र भविश्यसित जोडिएको एक ‘फैसला’ हुनेछ ।

असामान्य वालक
देशमा आदित्यजस्ता अशक्त बालक कैयन होलान्, तर आदित्य अरुभन्दा असाधारण रुपले भिन्न छन् । त्यो भिन्नता हो, उनको अविश्वसनीय मानसिक क्षमता, जसलाई प्रत्यक्ष नदेखिकन पत्याउनै मुस्किल पर्छ ।

आदित्यले आजसम्म स्कुलको मुख पनि देखेका छैनन्, न कसैले उनलाई अक्षर चिनाउने प्रयास गरेको छ । तर, उनी कागजमा लेखेर संसारका अनेक जटिल प्रश्नहरुको उत्तर दिन्छन् । देश-देशावर घुमेको, अनेक शास्त्र घोकेको सिद्धहस्त महापुरुषले जसरी अर्ति उपदेश दिन्छन् ।
Aaditya-art
आदित्यले लेख्ने कतिपय शब्द र तीनका भाव सामान्य व्यक्तिलाई बुझ्न पनि कठिन हुन्छन् । उनले नेपाली र अंग्रेजी मात्र होइन, जापानी, चाइनिज रसियन लगायतका भाषामा समेत लेखेर सबैलाई चकित तुल्याएका छन् । दैवीशक्तिमा विश्वास नगर्नेहरुका लागि भीमकाय प्रश्नवाचक चिन्ह बनेर उभिएका छन् आदित्य ।

अनायाश अशक्त भए
झापाका शेषराज दाहाल करिब एक दशकअघि काठमाडौं झरेका थिए । नागरिक उड्ययन प्राधिकरणमा जागिर खान थालेपछि उनले ०६४ सालमा ईश्वरा गुरागाईंसित घरजम सुरु गरे । शेषराज र ईश्वराका पहिलो सन्तानका रुपमा ०६७ साल, साउन ७ गते आदित्य जन्मिए ।

आमा ईश्वराका अनुसार जन्मँदा साढे ३ किलो तौल भएका आदित्य पूर्ण स्वस्थ थिए । ३३ महिनाको हुँदा उनी त्यसैगरी हुर्किए, जसरी आम बालबालिका हुर्किन्छन् । अरु जस्तै हाँस्थे, बोल्थे, उछलकुद गर्थे । त्यसपछि अनायास गल्न थाले । हातखुट्टा लुला हुँदै गए । अरुको सहाराबिना बस्न पनि नसक्ने भए । पहिले पटर-पटर बोलिरहने उनी बिस्तारै बोल्न पनि छाडे । बाँकी रह्यो केवल मुस्कान ।

aditya  (1)

आदित्यको अशक्ततासँगै दाहाल दम्पत्तिको चिन्ता बढ्दै गयो । उनीहरु छोरो बोकेर अस्पताल चहार्न थाले । कहलिएका न्यूरो सर्जनदेखि बालरोग, मनोरोग विशेषज्ञहरुसम्म पुगे । तर, उपचार त के, उनको बिमारी नै पहिचान हुन सकेन ।

भारतको गंगाराम अस्पतालमा पुर्‍याउँदा पनि नतिजा उही । ‘स्वास्थ्य परीक्षणमा सबै कुरा नर्मल देखिन्छ’ बाबु शेषराज भन्छन्, ‘तर छोरो खुट्टा टेक्न सक्दैन ।’

शक्ति आएको दिन
छोराको अशक्तताले चिन्तामा रहेका दाहाल दम्पत्तिले आदित्यलाई पढाउने कुरा सोच्नसमेत भ्याएका थिएनन् । तर, अचानक यस्तो भइदियो :

त्यो ०७० साल, असार २५ गतेको दिन थियो । आदित्यका बाबु र आमा (अर्थ मन्त्रालयकी जागिरे हुन्) दुबै जना अफिस गएका थिए । सधैंजस्तो ईश्वराकी भदै सुष्मा (दाइकी छोरी) घरमा भाइ हेरेर बसेकी थिइन् ।

Aditya Dahal (1)सुष्माका अनुसार दिउँसो दुई बजेतिर आदित्य ओछ्यानमा पल्टिरहेका थिए, उनी पढिरहेकी थिइन् । आदित्यले एक्कासी ओछ्यानबाट उठेर कपी र कलम मागेको ईशारा गरे । सुस्मा भन्छिन्- ‘बाबुले केरकार गर्न मागेको होला भनेर अर्को पेज पल्टाएर दिएँ । तर उसले त अचम्म गर्‍यो ।’

आदित्यले देब्रे हातका चोरी र माझी औंलाबीच कलम च्यापे । अनि धमाधम अक्षरहरु लेख्न थाले । सुस्मा हेरेको हेर्‍यै भइन् । सुरुमा अ आ इ ई लेखेका आदित्यले त्यसपछि धमाधम काका, मामा, बाबा हुँदै सबैका नामहरु लेख्न थाले ।

‘मेरो त होसै उडेजस्तो भो,’ सुस्मा भन्छिन्, ‘तुरुन्तै दिदी-भिनाजुलाई फोन गरेरँ सुनाएँ । तर, उहाँहरुले हाँसेर उडाउनुभो । घर फर्केर आफ्नै आँखाले देखेपछि मात्र उहाँहरु चकित पर्नुभो ।’

त्यस दिन दाहाल परिवारमा ठूलै खल्बली उत्पन्न भयो । सबैजना स्तब्ध अचम्मित थिए । आदित्यका मामा शम्भु गुरागाईं भन्छन्, ‘भाञ्जाले जे भन्यो त्यही लेखेको देख्दा म आश्चार्यले धेरैबेर बोल्न समेत सकिँन । १५ मिनेटजति बेहोसजस्तै भएँ ।’

त्यसपछि आदित्यले जसले जे सोधे पनि जवाफ लेख्न थाले । उनको अद्भूत क्षमता एक कान दुई कान हुँदै फैलियो । पहिले आफन्त, त्यसपछि छिमेकी र अनि सञ्चारमाध्यमको लर्को लाग्यो ।

हरेक प्रश्नको जवाफ
सुरु-सुरुमा धेरैले आदित्यको ज्ञान परीक्षण गर्न सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । उनलाई यूक्रेनका राष्ट्रपतिको नामदेखि फाउन्टेन पेनका आविष्कारक को हुन् भन्नेसम्मका प्रश्न सोधिए, जसको उनले सही उत्तर दिँदै गए ।

आदित्यलाई वेद, उपनिषदका श्लोकहरु लेख्न लगाइयो, उनले लेखे । हुँदाहुँदा उनले चाइनिज, कोरियन र रसियनजस्ता विदेशी लिपिहरुमा पनि विभिन्न शब्द लेखेर सबैलाई आश्चार्यचकित तुल्याइदिए ।

उनलाई धेरैले अनेकखाले भविष्यवाणी गर्न लगाएका थिए । कतिपय प्रश्नको सटिक उत्तर दिएका छन् भने कति प्रश्नको कुटनीतिक र घुमाउरो जवाफ दिन्छन् ।
Aaditya-Providing-Message
नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन भनेर सोधिँदा उनले लेखेका थिए, ‘जनमत संग्रह गरौं ।’

नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनले जवाफ थियो, ‘नेताहरुको झगडा मिलेपछि ०७२ सालभित्र । यो प्रश्न ०७१, साउनमा सोधिएको थियो ।

त्यति नै बेला उनलाई सोधिएको थियो, सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला ? उनले जवाफ लेखेका थिए- ‘केपी ओली ।’

तिम्रो शक्तिको स्रोत के हो भनेर सोधिँदा उनले सरस्वती माता लेख्ने गरेका छन् । आदित्यले आफूलाई १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका छन् ।

पछिल्लो समय उनी दार्शनिक र सन्देशमूलक कुराहरु बढी लेख्छन् । उनको लेखाइ बेलाबखत साहित्यिक र क्लिष्ट समेत हुन थालेका छन् ।

उनले लेखेको एउटा सन्देश छ- ‘प्रेम यस्तो अमृत हो, जसले मृत्यूको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’

Aaditya-English-Letterआदित्यले असार २५ गतेको दिनलाई ‘आफू निद्राबाट ब्युँझेको दिन’ का रुपमा चित्रण गरेका छन् ।

गत असार २५ गते भने उनले अलि निराशाजन सन्देश लेखे- ‘म निद्राबाट ब्यूँझेको एक वर्ष बितेछ । समय र परिस्थितिले खासै साथ दिएन । त्यसैले निश्चित तोकेका उद्देश्य पूरा गर्न बाँकी रहेकोमा क्षमाप्रार्थी छु, मलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद ।’

भूकम्पपछि के-के लेखे ?
आदित्यलाई अनेक मान्छेहरुले अनेक प्रश्नहरु सोधे । तर, वैशाख १२ गतेभन्दा अगाडि भूकम्पको विषयमा कसैले नसोधेको आमा ईश्वरा बताउँछिन् । उनका अनुसार भूकम्प जानुभन्दा केही दिनअघि मुख्यसचिव लीलामणि पौडेलले ‘आदित्यलाई अब नेपालमा भूकम्प कहिले जान्छ ? भनेर सोध्नुपर्छ है’ भनेका थिए ।

‘उहाँले म आएर सोध्छु भन्नुभएको थियो, तर त्योभन्दा पहिले नै भूकम्प आयो,’ ईश्वरा भन्छिन् ।

वैशाख १२ मा ठूलो भूकम्पआएपछि दाहाल दम्पत्तिलाई परिचित र अपरिचित नम्बरहरुबाट तारन्तार फोन आउन थाले । सबैको एउटै प्रश्न हुन्थ्यो, ‘भूकम्पको विषयमा आदित्यले के भनेका छन् ? अब ठूलो भूकम्प जान्छ कि जाँदैन ?’

त्यतिबेला देशभर अफवाहको बजार गर्माएको पनि थियो । नासादेखि सीएनएनसम्मको हवाला दिँदै यति बजे यति रेक्टरको भूकम्प आउँछ भनेर मानिसहरु सडकमा बाजी ठोक्थे ।

‘ बैसाख १३ गते राति १० रेक्टरको भूकम्प जान्छ र सबै सखाप हुन्छ भन्ने खुब हल्ला थियो, हामी पनि अत्तालिएका थियौं,’ ईश्वरा भन्छिन्, ‘त्यसैले हामीले बाबुलाई भूकम्पको विषयमा सन्देश लेख्न आग्रह गर्‍यौं ।’

भोलिपल्ट १३ गते दिउँसो १०ः५० मा आदित्यले लेखे, ‘प्राकृतिक प्रकोप टरेर टर्दैन । यो…’

Aaditya-about-earthquakeआदित्यले सन्देश लेख्न नभ्याउँदै जमिन हल्लिन थाल्यो । आमाले उनलाई च्यापेर बाहिर निकालिन् । करिब एक घण्टा खुल्ला चौरमा बसेर सबैजना फेरि भित्र आए । आदित्यले अघिको कपी कलम मागे । र, अधुरो सन्देश पूरा गरे । ‘… प्रकृति अरिष्ट भई हामीलाई दिएको सजायँ हो । अझै धेरै विपत्ति आउने छन् । धैर्यता राखी रामलाई सम्झौं, प्रकृतिको यो लीला स्वीकारौं ।’

आदित्यको यस्तो सन्देशले अत्यास घट्नुको साटो झन् बढ्यो । ‘त्यसपछि हाम्रो त हातगोडा नै गलेजस्तो भयो । अब झन् ठूलो भूकम्प आउँछ भन्ने डरले केही खान सकेनौं, रातभरि जागा बस्यौं,’ उनी भन्छिन् ।

अनि, दाहाल दम्पत्ति र आफन्तले सल्लाह गरेर अर्को प्रश्न सोधे, ‘बाबु, नेपालमा ९ रेक्टरमाथिको भूकम्प जान्छ कि जाँदैन ?’

आदित्यले लेखे, ‘जाँदैन ।’ अंग्रेजीमा यो पनि थपे, ‘आइ विल ट्राइ टु सेभ अस ।’

‘९ रेक्टर तलको भूकम्प आए त मरिँदैन भनेर सबैले लामो सास फेर्‍यौं,’ ईश्वराले सम्झिइन् ।

भूकम्पको भविष्यवाणी गर्न लगाउनुपर्‍यो भनेर थुप्रै आग्रहहरु आए । तर, त्यतिबेला भविष्यवाणी गर्नेहरुलाई प्रहरीले कडाइ गर्न थालेकाले आफूहरुले रोकेको आदित्यका पिता शेषराज बताउँछन् ।

भूकम्पपीडितलाई सहयोग गर्नुपर्ने सन्देशहरु भने आदित्यले थुप्रै लेखेका छन् । विशेषगरी उनले भूकम्पपीडितलाई आएको सहायता सदुपयोग होस भनेर सचेत गराएका छन् ।

प्रधानमन्त्रीलाई लेखे : तपाईं र म उस्तै

प्रधानमन्त्री सुशील कोइरालाले आदित्यलाई दुई पटक बालुवाटारमा भेटेका छन् । पहिलोपटक भूकम्पपीडितका लागि आदित्य संरक्षण प्रतिष्ठानले संकलन गरेको दुई करोड सहयोग रकम हस्तान्तरण गर्ने क्रममा भेट भएको थियो ।
Aaditya-with-PM-Koirala
पहिलो भेटमा आदित्यले प्रधानमन्त्रीलाई नआत्तिन आग्रह गरेका थिए । जेठ ३ गते भएको सो भेटमा उनले लेखेका थिए, ‘नआत्तिनु, यो अरिष्ट केही समयमा टर्नेछ र देशले काँचुली फेर्नेछ । हजुरका इच्छा पूरा हुनेछन् पिएम ज्यू ।’

पहिलोपटक भेटेर प्रभावित भएपछि कोइरालाले फेरि भेट्ने इच्छा व्यक्त गरेर बालुवाटारमा बोलाएका थिए । दोस्रोपटकको भेटघाट भने अनौचारिक र पारिवारिक माहोलमा भएको थियो ।

गत असार २३ गते भएको भेटमा आदित्यले प्रधानमन्त्रीलाई अंग्रेजीमा यस्तो लेखेका थिएः ‘तपाईं यो देश परिवर्तन गर्न चाहनु हुन्छ, म पनि यस्तै चाहन्छु । तर, हामी दुबैजनाको स्वास्थ्य राम्रो छैन । म स्वस्थ हुन चाहन्छु । प्लिज मलाई सहयोग गर्नुस् । म पनि तपाईंलाई सहयोग गर्नेछु ।’

त्यही भेटमा उनले अर्को सन्देश पनि लेखेका थिए, जुन राजनीतिक थियो । उनले लेखेका थिए, ‘मस्यौदाको खाका आएको छ । राम्रो कामको सुरुवात हो । चिन्ता नलिनुस् । संविधान बन्छ र बनाउनै पर्छ ।’

सुशीलदेखि नारायणकाजीसम्मले भेटे
आदित्यको विषयमा समाचारहरु आउन थालेपछि उनलाई भेट्न भीआइपीदेखि सर्वसाधारणसम्मको लर्को लाग्ने गरेको छ । आफूलाई भेट्न आउनेहरुलाई आदित्यले पहिल्यै चिनिसकेका हुन्छन् । मुख्यसचिव लीलामणि पौडेल पहिलोपटक भेट्न जाँदा उनले लेखेका थिए, ‘बागमतीमा सफाइ होइन, फोहर फाल्न बन्द गरौं ।’
Aaditya-with-Lilamani-Poudel
आदित्यको चमत्कारिक क्षमताबाट प्रभावित भएर मुख्यसचिव पौडेलले नै उनको स्वास्थोपचारका लागि सरकारी पहल अघि बढाएका हुन् ।

भेट्न आउने उच्च ओहदाका व्यक्तिहरुसित आदित्यले आफ्नो उपचारका लागि सहयोग गर्न आग्रहसमेत गर्न थालेका थिए ।

कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजूसहित गत २४ असारमा आदित्यको घरमा पुगेका थिए । उनीहरुलाई आदित्यले अंग्रेजीमा लेखे, ‘म स्वस्थ हुन चाहन्छु, कृपया तपाईंहरुको तर्फबाट सहयोग गर्नुहोला ।’

एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल भेट्न जाँदा त्यहाँ उपस्थित पत्रकारले खनालकी आमाको नाम लेख्न लगाए । आदित्यले सही नाम लेखिदिए- ‘मधुमाता ।’
Aaditya-with-JN-Khanal
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुग्दा आदित्यले उनको तारिफ गरेका थिए । पूर्वमुख्यसचिव माधव घिमिरेले अब मैले के गर्दा राम्रो हुन्छ भनेर सोध्दा आदित्यले जवाफ दिएका थिए, ‘ध्यान गर्नुस, बाटो आफैं भेट्नुहुन्छ ।’

यस्तो छ स्वभाव
आदित्यको स्वभाव उनको उमेरका आम बालबालिकाभन्दा भिन्न छैन । उनलाई नयाँ लुगा लगाउन र बाहिर घुम्न मन पर्छ । घरबाट बाहिर निस्कदा सधैं दंग पर्छन् । कुनै कुरा चित्त बुझेन भने बेस्सरी चिच्याएर रोइदिन्छन् ।

लेखेर आफ्नो भावना अभिव्यक्त गर्ने आदित्य लेख्ने क्रममा भने निकै सकसमा देखिन्छन् । अर्को व्यक्तिले सहारा दिएर मात्र लेख्न सक्ने उनी लेखिसकेपछि भने फुरुङ्ग बन्छन् ।

आदित्यको व्यक्तित्वको सबैभन्दा बेजोड पक्ष उनको हाँसो हो । आफूलाई कुनै कुरा घत पर्दा अरुलाई मन्त्रमुग्ध पार्नेगरी जीवन्त हाँसो हाँस्छन् ।

aditya  (2)

आदित्य माछामासु खाँदैनन् । दूधका परिकार मन पराउँछन् । साह्रो चिज खान सक्दैनन् । आमा ईश्वराका अनुसार उनको खानपिन र सुताइ अनियमित छ । कहिलेकाँही थुप्रै दिनसम्म बिहान खाना खाँदैनन् । कयौं रात नसुती पनि बस्छन् । राति नसुत्दा पनि उनी फ्रेस नै हुने आमा ईश्वराको भनाइ छ ।

ईश्वर र धर्मप्रति आदित्यको आस्था प्रवल देखिन्छ । उनकै आग्रहमा हरेक शुक्रबार बेलुकी घरमा सत्संग गर्ने गरिएको छ । करिब एक घण्टा चल्ने सत्संगका क्रममा उनी एक योगी जसरी प्रस्तुत हुन्छन् । त्यतिबेला बालसुलभ चञ्चलता केही पनि देखिँदैनन् । चिनेको मान्छे देख्दा हाँसिदिन्छन् । नत्र शान्त बस्छन् ।

गेट वेल सुन !
नेपाल र भारतमा उपचार हुन नसकेपछि बिहीबार आदित्यलाई अमेरिका लगिएको छ । आदित्य आफैंले अमेरिकाको स्टान्डफोर्ड अस्पतालमा उपचार गराउने इच्छा राखेका थिए । यद्यपि आफू बिषेक हुने कुरामा उनी विश्वस्त देखिँदैनन् ।
Aditya Dahal (4)
अमेरिका जाने अघिल्लो दिन उनलाई अनलाइनखबरकर्मीले निको हुनेमा कति विश्वास भनी सोध्दा उनले जवाफ दिए, ‘पूरा विश्वास छैन । मेरो शारिरीक समस्याको मात्र अनुसन्धान गर, मस्तिस्कको होइन । त्यसो भयो भने म ठीक हुन सक्छु ।’

उपचार गराउँदा आफ्नो मानसिक क्षमता गुम्ने वा ह्रास आउने त्रास आदित्यमा पहिलेदेखि नै रहेको छ ।

अमेरिका जाने सन्दर्भमै उनले आफू फर्केर आउँदा नेपालमा आमूल परिवर्तन आउने अपेक्षा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘केही समयका लागि तपाईंहरु सबैसँग टाढा हुँदैछु । फर्केर आउँदा नेपालमा क्रान्तिकारी आमूल परिवर्तन हुने अपेक्षा गर्दछु ।’
Aaditya-USA
आशा गरौं आदित्य अब अमेरिकाबाट स्वस्थ शरीर र उस्तै तीक्ष्ण दिमाग लिएर स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?