मञ्चमा एक-एक आमा पात्रहरूको विभिन्न हाउभाऊ सहित प्रवेश हुन्छ । फरक भूगोलका यि प्रतिनिधी जननी हुन्छन् । आमाको हातमा शिशुहरु हुन्छन् । आमाहरू आफ्ना शिशुलाई बोकेर रमाउँदै खुसीयाली मनाउन थाल्छन् ।
भावभङ्िगमाकै क्रममा ति आमाहरुले आफ्ना शिशु सुन्न-बोल्न नसक्ने भएको थाहा पाउँछन्, अत्तालिन्छन्, बच्चालाई अझ माया गरी अँगालोमा च्याप्छन् । मौनता विच प्रार्थना गर्छन् । फेरि सबै आमाहरु मिलेर कोसिस गर्छन् तर ती शिशुहरुले कुनै प्रतिक्रिया जनाउँदैनन् । शिशुहरु न त रुन्छन् न त हाँस्छन् नै ।
सूत्रधार आएर संकेतमा बोल्न थाल्छ – आमा मायाकी सागर हुन् । स्नेहकी मुर्तीर् हुन् । भगवान सबै ठाउँमा पुग्न सक्तैनन् त्यसैले उनले आमाको सिर्जना गरेका हुन् ।
हरेक आमालाई आफ्नो बच्चाको आफ्नो ज्यानभन्दा बढी माया लाग्छ । यी आमाहरुको संघर्ष यहीबाट सुरु हुन्छ । उनीहरुले आफ्ना अबोध शिशुलाई सुन्दर संसार कसरी चिनाउँछन् ? हुर्कदै गरेका बालिबालिकाहरुको रुचीअनुसार उनीहरुलाई कसरी एक सफल साहित्यकार, समाजसेवी, बैज्ञानिक, इन्जिनियर बनाउन सफल हुन्छन् ? यो कुरा संकेत नाटक ‘हामी’को प्रस्तुती हेरेपछि थाहा लाग्छ । कान सुक्न नसक्ने कलाकारहरुले नाटकमा अभिनय गरेका छन् । यो नाटकको परिकल्पना, लेखन र निर्देशन कृष्ण शाह यात्रीले गरेका हुन् ।
संकेत नाटक ‘हामी’ सांकेतिक भाषामा प्रस्तुत गरिएको नयाँ नाटक हो । ललितपुरको स्टाफ कलेजको प्रेक्षालयमा देखाइएको नाटक हेर्न दर्शकहरूको निकै घुईचो लागेको थियो । नेपालमा ६ लाख कान सुन्न नसक्ने मानिसहरु छन् । उनीहरुको सञ्चारका लागि बनेका आधिकारिक शब्दहरु लिएर यो नाटक तयार पारिएको हो ।
यो नाटकलाई केही दिनपछि काठमाडौंमा मञ्चन गरिने निर्देशक यात्रीले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4