६ कात्तिक, काठमाडौं । मुख्य पर्यटकीय सिजन दसैंमा ग्यासको अभावका कारण रेष्टुरेन्टहरुले आफ्नो मेनुमा ५० प्रतिशत कटौती गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि रेष्टुरेन्टमा खाएर दसैं मनाउनेहरुको यस वर्षको दसैं खल्लो हुने भएको छ ।
महिना दिनदेखि ग्यासको आपूर्ति ठप्प भएपछि कतिपय रेष्टुरेन्ट बन्द भइसकेका छन् भने कतिपय रेष्टुरेन्टले मेनुमा व्यापक कटौती गरेका छन् । मेनुमा कटौती नगर्ने रेष्टुरेन्टहरुले मूल्य बढाएका छन् । यो क्रम बढ्दो अवस्थामा रहेको रेष्टुरेन्ट एन्ड बार एशोसियसन अफ नेपाल (रेवान)का अध्यक्ष प्रमोद जैसवाल बताउँछन् ।
ग्यासको अभावले होटल तथा रेष्टुरेन्ट मात्र होइन, सर्वसाधरणको भान्छासमेत निभिसकेको छ । अहिले राजधानीका धेरै परिवारले हिटरमा खाना पकाउन सुरु गरिसकेका छन् । ग्यास सकिएर दैनिक सयौं परिवारको चुल्हो निभ्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रमलाल महर्जनको भनाइ छ ।
केही होटल तथा रेष्टुरेन्टहरुले ग्यासको विकल्पमा दाउरा प्रयोग गरिरहे पनि त्यो दीर्घकालिन हुने देखिदैन । राजधानीमा सामान्य उपभोक्ताले खाजा खाने ६० प्रतिशतभन्दा बढी खाजाघर बन्द भइसकेका छन् । दसैंमा उसै पनि धेरै पसल र रेष्टुरेन्टहरु खुल्दैनन् ।
सञ्चालनमा रहेका अधिकांश रेष्टुरेन्टले विहानको ब्रेकफाष्ट खुवाउन छाडिसकेका छन् । बेलुका पनि सबेरै रेष्टुरेन्ट बन्द गरेर व्यवसायीहरु घरतिर लाग्न थालेका छन् । रेष्टुरेन्टले खानका भेराइटी पनि धेरै घटाइसकेका छन् ।
‘अहिले रेष्टुरेन्टमा पुगेका ग्राहकले आफुले चाहेको खान पाउने अवस्था छैन’ ठमेलका एक रेष्टुरेन्ट व्यवसायीले भने- ‘अहिले हामीले मेनु ग्राहकको रोजाई अनुसार होइन, आफ्नो अनुकुल पस्किरहेका छौं ।’
राजधानीको पर्यटकीय गन्तव्य ठमेलमा सञ्चालित नाम चलेका रेष्टुरेन्टहरु समेत बन्द भइसकेको रेवान अध्यक्ष जैसवाल बताउँछन् । सञ्चालनमा रहेको केही होटल पनि ग्यासको अभाव यथावत रहिरहेमा चाँडै नै बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ ।
रेवान अध्यक्ष जैसवालले आफ्नो मेला रेष्टुरेन्ट पनि ग्यासको अभावले बन्द हुने अवस्थामा पुगिसकेको गुनासो गरे । मेनुमा कटौती गरी दसैंसम्म जसोतसो रेष्टुरेन्ट चलाउने उनको योजना रहेको छ ।
राति अबेरसम्म खुल्ने रेष्टुरेन्टहरु पनि ग्यासको अभावले चाँडै बन्द हुन थालेका छन् । यसले नेपाल भ्रमणमा आएका पर्यटकलाई समस्या परेको रेवान अध्यक्ष जैसवालले बताए । त्यसो त रेष्टुरेन्टमा खाना खाने नेपालीहरु समेत मारमा परेका छन् ।
साना खाजा घरदेखि ठूला रेष्टुरेन्टसम्मले चिया तथा कफी पकाउन छाडिसकेका छन् । चियाको सट्टा कोल्ड ड्रिंक्स पिउन रेष्टुरेन्ट सञ्चालक सिफारिस गर्न थालेका छन् । कतिपय रेष्टुरेन्टले चिया कफी पकाए पनि ग्राहकको मागअनुसार धेरै भैराइटी पकाउन नसकिने बताउँछन् ।
प्रतिक्रिया 4