
नेपाली चलचित्रमा चलेका कलाकारले भूमिका परिवर्तन नगरेको गुनासो सुनिदै आएको छ । कलाकार सबै चलचित्रमा एउटै भूमिकामा देखिदा दर्शक पनि वाक्क भएको भन्दै आलोचना गरिएको छ । तर, नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको गेटअप हेर्दा उनीहरुले चलचित्र ‘क्लासिक’मा लोभलाग्दो अभिनय गरेको प्रष्ट देखिन्छ ।
चलचित्रको गीत यहाँ प्रस्तुत गरिएको छः
माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा आर्यन र नम्रता दुबै आँखा देख्न नसक्ने यूवायूवतीको भूमिकामा देखिएका छन् । आर्यन सिग्देल इन्टरटेन्मेन्ट र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्र अहिले सर्वाधिक प्रतिक्षामा छ । चलचित्रका गीतसंगीतलाई लिएर पनि दर्शक तथा श्रोतामा उत्साह देखिएको छ । यसैले यसको निर्माणपक्षले चलचित्रका सम्पूर्ण गीतको अडियो सार्वजनिक गरेको छ । यसअघि ‘हारें हारें’ बोलको गीतको मात्र अडियो सार्वजनिक गरिएको थियो । 
युटुबबाट सार्वजनिक भएका चलचित्रका गीतसंगीत सुमधुर छन् । म्यूजिकल लभस्टोरी यो चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत छ । दिनेश राउतले निर्देशन गरेको चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् । चलचित्रमा समावेश ‘सुनौला’ बोलको गीतमा मेलिना राई र कोशिश क्षेत्रीको आवाज, दिनेश राउतको शब्द छ । यस्तै, ‘हारें हारें’ बोलको गीतमा यूवराज चौलागाइको स्वर, दिनेश राउतको शब्द छ । ‘यो के हो’ बोलको गीतमा कोशिश क्षेत्रीको स्वर, दयाराम पाण्डेको शब्द छ । ‘प्रकृतीको सुन्दर’ बेालको गीतमा मेलिना राइको आवाज र डाक्टर कृष्णहरी बरालको शब्द छ । यस्तै, सार्वजनिक जुक बक्समा ‘सुनौला’ बोलको गीतको अनप्लक्ड पनि समावेश छ । 
चलचित्रका गीतले गायिका मेलिना राइको पाश्र्व गायनको करिअरलाई निकै उचाइमा पुर्याउने देखिन्छ । उनले २ वटा गीतमा आवाज भरेकी छिन् । जुन गीतबाट उनले आफूलाई नेपाली चलचित्रको पाश्र्व गायनमा दरिलो रुपमा उपस्थित गराउने छनक देखाएकी छिन् ।
ताराप्रकाश लिम्बुले यस अगाडि यही ब्यानरको ‘नोभेम्बर रेन’ चलचित्रमा संगीत भरेर चर्चा पाएका थिए । क्लासिकका गीतसंगीतले यसको व्यापारमा पनि फाइदा दिलाउने विश्वास यसको निर्माणपक्षले लिएको छ ।
प्रतिक्रिया 4