Comments Add Comment

प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिस

Sushila Karki

२८ चैत, काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । परिषदको आइतबार साँझ बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

विरामी भएका कारण सभामुख ओनसरी घर्ती भने बैठकमा उपस्थित थिइनन् । उनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली आफैं सुमेरु अस्पताल पुगेका थिए । कार्कीको नाम सिफारिस गर्नेमा सभामुखको पनि सहमति रहेको स्रोतले बताएको छ ।

को हुन् सुशीला ? 

सुशीला कार्की २००९ साल जेठ २५ गते बिराटनगर-३ शंकरपुरमा जन्मिएकी हुन् । पारिवारिक हिसाबले उनी कांग्रेसका त्यागी नेता दूर्गा सुवेदीकी पत्नी हुन् । उनका प्रशान्त सुवेदी एक छोरा छन् । बिराटनगरमा सुशीलाको घर वडा नं ११ स्थित हाम्रो चोकमा छ । काठमाडौंमा उनी धापासीमा बसोबास गर्छिन् । उनको जीवनशैली सामान्य छ ।

सुशीलाले सन् १९७२ मा २० वर्षको उमेरमा महेन्द्र मोरङ कलेज बिराटनगरबाट बीए उत्तीर्ण गरिन् । त्यसको तीन वर्षपछि उनले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए उत्तीर्ण गरिन् । त्यसपछि बल्ल उनी कानूनको अध्ययनतिर लागिन् । र, २६ वर्षको उमेरमा सन् १९७८ मा उनले त्रिविबाट कानूनमा स्नातक (बीएल) गरिन् ।

बीएल उत्तीर्ण गरेको एक वर्षपछि अर्थात विसं. ०३५ साल चैत्र १६ गतेदेखि सुशीलाले अधिवक्ताका रुपमा आफ्नो करिअर सुरु गरिन् । ०४३ सालदेखि ०४६ सालसम्म उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।

कानून व्यवसायीका रुपमा कार्यरत रहँदा ०४५ सालदेखि ०४७६ सालसम्म सुशीलाले कोशी अञ्चल बारको अध्यक्षको जिम्मेवारी निभाएकी थिइन् । त्यस्तै ०५९ सालदेखि ०६१ सालसम्म बिराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।

सुशीला ०६१ साल पुस ५ गते बरिष्ठ अधिवक्ता बनिन् । र, त्यसको ४ वर्षपछि ०६५ साल माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । त्यसको दुई वर्षपछि ०६७ मंसिर २ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनिन् । अहिले उनी बरिष्ठ न्यायाधीश छिन् । र, अबको केही सातामा प्रधानन्यायाधीश बन्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment